विकासमा निजामती प्रशासनको भूमिका

……………….मोहनकुमार घिमिरे

निजामती प्रशासनलाई निजामती सेवा वा कर्मचारीतन्त्र नामले चिनिन्छ । यसको चरित्र भनेकै योग्यताका आधारमा छनौट भई आएका योग्यतम बौद्धिक समूह हो । त्यसैले निजामती सेवालाई Selected officials of the Government पनि भन्ने गरिन्छ । निजामती प्रशासन सरकारको स्थायी संयन्त्र हो, जसले दैनिक प्रशासन संचालन गर्दछ । सैनिक, प्रहरी र शिक्षकबाहेकका कर्मचारीहरू जो नीति तर्जुमाको अतिरिक्त स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कार्यकारी अंगको स्थायी संयन्त्रका रूपमा क्रियाशील रहन्छन् । निर्वाचित जनप्रतिनिधि जस्तो यसको स्वरूप परिवर्तन भइनरहने भएकाले यसलाई राज्यको स्थायी सरकारको रूपमा पनि लिने गरिन्छ किनकि यसबाट प्राप्त हुने सेवा सुविधाहरू निर्वाधरूपले अविच्छिन्न सञ्चालित हुन्छन् र सरकार परिवर्तनसँगै यसको सेवा प्रवाहमा परिवर्तन हुँदैन । त्यसैले यसलाई निष्पक्षरूपमा छनौट गरिएका, जनताप्रति प्रशासनिक रूपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, जनताको सेवामा समर्पित सरकारी संयन्त्रको रूपमा लिने गरिन्छ ।

निजामती सेवाका विशेषता

योग्यता प्रणालीमा आधारित

व्यवसायी गुण

राजनीतिक रूपमा तटस्थ

पदसोपानको व्यवस्था

तलबलगायत सुविधा प्राप्त गर्ने समूह

कानुनद्वारा व्यवस्थित सेवा

सामूहिक भावना र कार्यसम्पादन

निश्चित वृत्ति

स्थायी संयन्त्र

गैरसैनिक संरचना

जस्ता विशेषतायुक्त सेवा बुझ्न सकिन्छ ।

 

विकास

विकासलाई उन्नति, प्रगति, उपलब्धि तथा सकारात्मक परिवर्तनका हिसाबले बुझ्ने गरिन्छ । हालको अवस्थाबाट समुन्नत अवस्थामा पुग्ने प्रक्रियाको रूपमा लिन सकिन्छ । यो निरन्तर प्रक्रिया हो, आधुनिक समयमा विकासलाई सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक एवम् वातावरणीय क्षेत्रमा आएको सकारात्मक परिवर्तनका रूपमा लिने गरिन्छ । त्यसैले विकास बहुआयामिक हुने गर्दछ ।

विकासलाई परिभाषित गर्ने काम जटिल छ । समाजशास्त्रीहरू सामाजिक परिवर्तनलाई विकास भन्दछन् भने अर्थशास्त्रीहरू आर्थिक वृद्धिलाई महत्व दिँदै विकासको परिभाषा दिन्छन् साथै वातावरणविद् वातावरणमा आएको सकारात्मक बढोत्तरी त्यसैले विकासका क्षेत्रहरू अनन्त छन् ।

विकास प्रशासन

राष्ट्रको विकास प्रयासलाई गति र दिशानिर्देश दिन अग्रसर, प्रतिबद्ध एवम् समर्पित प्रशासन नै विकास प्रशासन हो । सामान्य प्रशासन सञ्चालनभन्दा प्राविधिक ज्ञान क्षमतायुक्त विशेष प्रकृतिको प्रशासन जसले आधुनिकीकरण, राष्ट्र निर्माण र सामाजिक आर्थिक परिवर्तनको दिशामा गरिने योजनाबद्ध विकासलाई नवीन प्रयोग मानी लक्ष्यउन्मुख प्रशासन सञ्चालन गर्दछ ।

विकास प्रशासनलाई निम्नानुसार बुझ्न सकिन्छ ।

योजनाबद्ध विकास प्रक्रियासँग सम्बन्धित ।

विकासका योजना, नीति, कार्यक्रम र योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने कार्य ।

यी कार्य गर्नका लागि उपयुक्त प्रशासनिक व्यवस्था गरी त्यसको क्षमता अभिवृद्धि गर्ने कार्य ।

जनतालाई केन्द्रबिन्दुमा राखी आर्थिक, सामाजिक र पूर्वाधार विकासको प्रयत्न गर्ने कार्य ।

 

विकास प्रशासनका विशेषता

विकास प्रशासन यथास्थितिवादबाट परिवर्तन खोज्दछ । विकास प्रशासनले प्रक्रियामा होइन नतिजामा जोड दिन्छ । विकासका लागि राजनीतिक र प्रशासनिक प्रतिबद्धता आवश्यक पर्दछ । सम्पूर्ण कार्यहरू Button up approach का आधारमा तयार गरी जनताका आवश्यकतामा ध्यान दिने एवम् छिटो, छरितो र गुणस्तरीय सेवामार्फत नागरिक सन्तुष्टिमा जोड दिन्छ ।

निश्चितरूपमा सम्पन्न हुनेगरी विकास प्रक्रिया अगाडि बढाउने लचिलो र ग्रहणयोग्य विकेन्द्रीकरण र जवाफदेहितालाई पनि विकास प्रशासनको विशेषताका रूपमा लिइन्छ । विकास प्रशासनमा प्रक्रिया भन्दा पनि उद्देश्यलाई बढि महत्व दिइन्छ ।

विकास प्रशासनका कार्यहरू

१. विकासको प्रशासन

विकासका आयोजनाहरू सञ्चालन गरी सामाजिक आर्थिक लक्ष्य हासिल गर्ने, विकासका समयानुकूल परिवर्तन, नवीनता, गतिशिलता र नयाँ प्रविधिको प्रयोग गर्ने, विकास आयोजनाको प्रभावकारी तर्जुमा र कार्यान्वयन गर्न उद्देश्य, कार्यक्रम र रणनीतिबीच सामञ्जस्यता कायम गर्ने, विकासमा जनसहभागिता जुटाउने ।

२. प्रशासनको विकास

प्रशासनको कमि कमजोरी पहिल्याँउदै सुधार गर्ने, विकेन्द्रिकरण र अधिकारको निक्षेपण गर्दै मानव संसाधन विकास गर्ने, प्रशासनिक संरचना सुधार गर्दै जनमुखी बनाउने, कर्मचारीलाई कार्यविभाजन गर्र्दै जिम्मेवारी र उत्तरदायित्व किटान गर्ने साथै सकारात्मक धारणा र कार्यशैलीको विकास गर्ने ।

 

३. योजनाबद्ध विकास

क्षेत्रगत आधारमा विकासलाई अगाडि बढाउने, खास अवधिका लागि योजना तर्जुमा गरी राष्ट्रिय उद्देश्य र लक्ष्य निर्धारण गर्ने साथै ती लक्ष्य प्राप्तिका लागि क्षेत्रगत नीति, कार्यक्रम प्राथमिकताका आधारमा छनौट गर्ने र त्यसको समयमा नै कार्य सम्पन्न गर्ने ।

विकास प्रक्रियामा निजामती प्रशासनको भूमिका

माथिका सिद्धान्तहरू र विशेषताका आधारमा नै विकास प्रक्रियामा निजामती प्रशासनको भूमिकालाई निक्र्यौल गरेको पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा सबै स्थान र भूगोलमा पर्याप्त शिक्षित जनशक्तिको अभाव छ, जसको परिणामस्वरूप Button up approach लाई अवलम्बन गर्न पनि स्थानीय आवश्यकताको पहिचान त्यसको विश्लेषण, लाभ लागत विश्लेषण तथा स्रोत पहिचान, व्यवस्थापन र परिचालनमा पर्याप्तता हुन सक्दैन । जनसहभागिताका नाममा सबै जिम्मेवारी  निकायमा छाडिदिँदा समस्या पहिचान र स्रोत परिचालनमा सहजकर्ताको रूपमा निजामती प्रशासनले अग्रणी भूमिका निभाउनुपर्ने हुन्छ । त्यसका साथै स्रोत पहिचान, परिचालन र व्यवस्थापनका लागि आवश्यक प्राविधिक ज्ञान, सीप र क्षमताको सहयोगसमेत गर्नुपर्ने हुन्छ । निश्चित नीति, नियम र परिधिभित्र रही उद्देश्यमूलक कार्यसञ्चालनमा नियामकको रूपमा कार्य गर्नुपर्ने हुन्छ । यसरी हेर्दा निजामती प्रशासनको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

भूमिका

पथप्रर्दशकका रूपमा ।

योजनाविद्का रूपमा ।

प्राविधि परामर्शदाताका रूपमा ।

नेतृत्वकर्ताका रूपमा ।

नियमनकारी भूमिकाका रूपमा ।

सहजकर्ता तथा समन्वयकारीका रूपमा ।

अनुगमन तथा मूल्यांकनकर्ताका रूपमा ।

नजिकको सरकारी प्रतिनिधि तथा सरकारको उपस्थितिको रूपमा ।

स्रोत व्यक्तिका रूपमा ।

उत्प्रेरकका रूपमा ।

सहभागीका रूपमा ।

नेपालको वर्तमान अवस्था

सिद्धान्तको रूपमा निजामती प्रशासनलाई विकास निमार्णकार्यको एक अभिन्न अगंका रूपमा स्वीकार गरिएको छ । त्यसैले प्रत्येक विकास निर्माणमा विकास प्रशासनलाई महत्वसाथ लिएको पाइन्छ तर सिद्धान्तअनुसार व्यवहारमा अनुशरण गर्न भने सकेको पाइँदैन । विकास प्रशासनमा कमी–कमजोरीहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

विकास प्रशासन सञ्चालनमा भएका चुनौती

क) राजनीतिक हस्तक्षेप

प्रत्येक विकास निर्माण क्रियाकलापहरू सञ्चालन गर्ने निकाय तथा कार्यालयहरूमा राजनीतिक हस्तक्षेप हुने गरेको पाइन्छ । यसमा हुने राजनीतिक हस्तक्षेपलाई निम्नानुसार उल्लेख गर्दै विश्लेषण गर्न   सकिन्छ ।

योजना निर्माणमा (योजना छनौट, सञ्चालन र त्यसको लाभ लिन) हुने स्वार्थपूर्ण राजनीतिक हस्तक्षेप ।

योजना सञ्चालन क्रियाकलापमा आफ्ना कार्यकर्ता तथा आफन्तलाई काम र मुनाफा दिलाउने मनसाय ।

योजना सञ्चालनमा कार्यकर्ता भर्ना गर्ने स्वार्थ ।

ट्रेड युनियनहरूले आफ्नो संगठन निर्माणका लागि विभिन्न आकर्षक मागहरू पेस गर्ने प्रवृत्ति ।

आफ्नो राजनीतिअनुकूल योजना सञ्चालनका लागि दबाब दिनु ।

प्रशासनिक हस्तक्षेप

विकास निर्माणले गति लिनका लागि त्यहाँको व्यवस्थापक पनि कुशल र सक्षम हुनु आवश्यक छ तर त्यस कार्यका लागि राजनीतिक र प्रशासनिक स्वार्थबाट प्रशासनिक हस्तक्षेप हुनेगर्छ, जसलाई निम्नानुसार लिन सकिन्छ ।

स्वार्थअनुसार कर्मचारी सरुवा, काज र जिम्मेवारी दिने प्रचलन ।

कर्मचारी व्यवस्थापम नभई राजनीतिक कार्यकर्ताको रूपमा रहनु ।

आफैँ निर्णय नगरी परनिर्भरता विकास गर्नु ।

सामाजिक हस्तक्षेप

हाम्रो जस्तो विकासशील देशमा जनताका असीमित आवश्यकता, इच्छा र चाहना हुनेगछन् । प्रत्येक पाइलामा अभाव महसुस हुनेगर्दछ । जसका कारण विकास प्रक्रियामा सामाजिक हस्तक्षेपहरूको सामना गर्नुपर्ने हुन्छ । सामाजिक हस्तक्षेपलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

असीमित आवश्यकताहरू ।

स्वार्थपूर्ण दबाब समूह ।

विकास निर्माणमा प्रभावित समूहको नाममा चलखेल ।

दबाबबिना मागहरूको सुनुवाइ नगर्ने गलत प्रचलन ।

राजनीतिक संक्रमणको गलत प्रयोग ।

छिट्टै धनी हुने अभिलासा ।

 

विकास प्रशासन सञ्चालनमा सुधारको विकल्प

विकास निर्माण प्रक्रियामा निजामती प्रशासनको भूमिकालाई बुझेर नै सन् १९६० को दशकमा विकसित देशहरूले विकासशील र अल्पविकसित देशहरूमा विकाश प्रशासनको अबधारणा ल्याएको देखिन्छ । यसको आलोचनाको रूपमा विकास प्रशासनलाई कम्युनिस्ट प्रभाव विश्वमा कम गराउन अमेरिकाबाट ल्याइएको प्रशासनको रूपमा पनि लिने गरिन्छ । जे होस् नेपालमा निजामती प्रशासनको विकास प्रक्रियामा अतुलनीय योगदानको नजरअन्दाज गर्न मिल्दैन । विकास प्रक्रियामा निजामती प्रशासनलाई सफलतापूर्वक संचालन गर्न निम्नानुसार गर्न उपयुक्त देखिन्छ ।

राजनीति र प्रशासनको स्पष्ट सीमारेखा निर्धारण गर्दै कडाइका साथ पालनागर्ने ः राजनीतिले नीति निर्माण गर्ने र प्रशासनले नीति निर्माणमा सहयोगी तथा कार्यान्वयनमा कार्यकारी भूमिका निभाउने । प्रशासन संचालनमा राजनीति सहयोगीका रूपमा सल्लाहाकारी, अनुगमनकारी र वाच डगका रूपमा कार्य गर्ने । प्रशासन संचालनमा राजनीतिक कुण्ठा त्यागी स्वतन्त्र, निष्पक्ष र निर्भिक रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार पार्ने ।

निजामती प्रशासनले आफनो निर्णय प्रक्रियामा परनिर्भरताको अन्त्य गर्ने र राजनीतिक हस्तक्षेपको अपेक्षाको अन्त्य गर्ने । नीति, नियम र कानुनको अधिनमा निर्भिकरूपमा सेवा प्रवाह संचालन गर्ने । विकास प्रशासनमा खटिएका कर्मचारीको कार्यसम्पादन करार गर्ने तथा निश्चित समयसम्मका लागि जिम्मेवार पदाधिकारीको सरुवा नगर्ने । बारम्बार हुने सरुवाको कारण पनि विकास प्रशासन संचालनमा समस्या सृजना हुने गरेको देखिन्छ । राजनीतिक आस्था तथा विचारका आधारमा सरुवा, बढुवा नगरी कार्यसम्पादनका आधारमा Right Man Righr Place को सिद्धान्तलाई अनुशरण गर्ने ।

कर्मचारीको आचरण र अनुशासनमा सुधार गर्न कडाइका साथ दण्ड र पुरस्कारको व्यवस्था गर्दै जीवनयापनयोग्य तलबभत्ता र अन्य सामाजिक सुरक्षा र सुविधाको व्यवस्था गर्ने । कर्मचरीहरूलाई कार्य गर्ने उपयुक्त वातावरणको व्यवस्था गर्दै उच्चमनोवलका साथ काम गर्न प्रेरित गर्ने ।

आधिकारिक टे«ड युनियनको चुनाव गरी ट्रेड युनियनको उचित व्यवस्थापन गर्ने र अधिकारिक ट्रेड युनियनसँग मात्र सामूहिक सौदाबाजीको अभ्यास थालनी गर्ने । यसले ट्रेड युनियनको गलत हल्लाको न्यूनीकरण गर्दै जिम्मेवारीबाट पन्छने प्रवृत्तिको अन्त्य गर्नेछ  ।

स्रोत पहिचान, योजना निर्माण, कार्यान्वयन, अनुगमन मूल्यांकन र त्यसको उपभोगमा राजनीतिक हस्तक्षेपको अन्त्त गर्र्दै वास्तविक आवश्यकताको आधारमा योजनाको व्यवस्थापन गर्ने । जनसहभागिता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वलाई पहिलो सर्तका रूपमा अनुकरण गर्ने ।

कर्मचारीलाई समयसापेक्ष अध्ययन, तालिममार्फत व्यावसायिकताको विकास गर्ने । Top Down र Button up approach लाई तालमेल मिलाउने । विकासका नवीन अवधारणाहरूलाई अनुशरण गर्दै ब्यवहारमा उतार्ने ।

पर्याप्त स्रोतसाधको व्यवस्था गर्दै परिचालनमा सहज हुने ऐन, नियम र नीतिमा समयसापेक्ष सुधार गर्दै विकास व्यवस्थापन गर्ने । विकास निर्माण कार्यमा संलग्न निकायहरूको समन्वय गर्दै कार्यमा एकरूपता कायम गर्ने तथा एकीकृत योजना तयार गर्ने ।

निजामती प्रशासन राज्य नियन्त्रित स्थायी संयन्त्र तथा विकल्प रहित प्रशासन हो । विकास प्रशासन पनि निजामती प्रशासनको एक पाटो हो । विकास प्रशासनको सुधार गर्न समग्र निजामती प्रशासनको सुधार आवश्यक हुन्छ । राजनीति र प्रशासनको सीमा निर्धारणसँगै त्यसलाई लक्ष्मण रेखाको रूपमा ग्रहण गर्दै अक्षरशः पालना गर्नुपर्ने हुन्छ । समयसापेक्ष विकासका नवीन अवधारणाहरूको अनुशरण गर्दै विकास प्रशासनलाई व्यावसायिकताका रूपमा विकास गर्न सकेमा र माथि उल्लिखित सुझावलाई आत्मसात् गर्दै व्यवहारमा उतार्न सकेमा देश विकासमा निजामती प्रशासनबाट अतुलनीय योगदान लिन सकिने विषयमा दुईमत हुन सकिन्न । तथापि कथनी र करणीमा सामिप्यता राख्न भने आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here