कोरोना कसैले बनाएर छाडेको भाइरस हो? यसाे भन्छ अनुसन्धान

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा पर्ने उहान सहरबाट सुरु भएको ‘कोरोना भाइरस डिजिज-२०१९’ अर्थात् कोभिड-१९ महामारीबाट हालसम्म नेपालसमेत विश्वका १९९ राष्ट्रका ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

त्यस्तै विश्वभरिमा १ लाख ३३ हजारभन्दा बढी यसका बिरामी निको भएका छन्। हाल संक्रमित ४ लाख ४० हजारभन्दा बढी व्यक्तिमध्ये झन्डै ५ प्रतिशतमा गम्भीर स्वास्थ्य समस्या देखिएको छ भने ९५ प्रतिशत मानिस मध्यम खालको संक्रमणमा छन् ।

त्यसमा पनि पछिल्लो समय संयुक्त राज्य अमेरिका, इटली, स्पेन, फ्रान्सलगायत विकसित मुलुकमा दिनप्रतिदिन अत्यासलाग्दो तरिकाले बढिरहेको कोभिड-१९ महामारी र यसबाट भएको मानव क्षतिले आम नेपालीमा मनोवैज्ञानिक त्रास बढ्नु अस्वाभाविक होइन।

बोलीचालीको भाषामा ‘२०१९ नोवल कोरोना भाइरस’ भनिने तर आधिकारिक रूपमा ‘सार्स-कोरोना भाइरस-२’ नामक भाइरसले गराउने यो कोभिड-१९ रोगको प्रकोप चीनको उहान सहरस्थित सामुद्रिक खाद्य वस्तु तथा जंगली जनवारको मासु बेच्ने बजारबाट सुरु भएको विश्वास गरिए पनि त्यो भाइरस कसरी, कहिले र कुन जनवारबाट मानिसमा सर्‍याे भन्ने विषयमा चाहिँ अनुसन्धान जारी नै छ ।

यसबीच उक्त भाइरस कुनै वैज्ञानिकले बनाएर छाडेको अथवा वैज्ञानिक प्रयोगशालाबाट बाहिरिएको भन्नेजस्ता धेरै तथ्यहीन समाचारको ओइरो पनि लागे। तर भर्खरै प्रसिद्ध जर्नल ‘नेचर मेडिसिन’मा प्रकाशित अध्ययनअनुसार ‘सार्स-कोरोना भाइरस-२’ कुनै पनि वैज्ञानिक प्रयोगशालामा बनाइएको नभई प्राकृतिक विकासक्रम (नेचरल इभोलुसन) का कारण उत्पन्न भएको हो। यसबारे जारी अनुसन्धानले थप कुरा बाहिर ल्याउला।

मुख्य रूपमा खोक्दा वा हाछ्युँ गर्दा मानिसबाट मानिसमा सर्ने यो भाइरसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्छ। कोभिड-१९ संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा बन्ने ‘रेस्पिरेटरी ड्रपलेट’मा यो भाइरस रहने हुनाले नजिकै रहेको व्यक्तिको मुख वा नाकमा परेर फोक्सोसम्म पुग्न सक्छ।

त्यसैले सँगै बस्दा वा हिँडडुल गर्दा मानिस-मानिसबीच कम्तीमा ६ फिटको दूरी राख्नुपर्ने सुझाव अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले दिएको छ। सीडीसीका अनुसार कुनै ठाउँ वा वस्तु (जस्तै: टेबल, कुर्सी) मा रहेको ‘ड्रेस्पिरेटरी ड्रपलेट’मा कोभिड-१९ गराउने भाइरस छ र कसैले त्यो छोएर आफ्नोे मुख, नाक, वा आँखा छोएमा यो भाइरस सर्छ।

त्यसैले त फोहोर हातले आफ्नो मुख, नाक, कान नछुने र कुनै वस्तु छोएपछि हरेक पटक कम्तीमा २० सेकेन्डसम्म साबुन-पानीले हात धुने वा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने सुझाव विज्ञले दिएका छन्। हालै विश्व-प्रसिद्ध जर्नल ‘न्यु इन्गल्यान्ड जर्नल अफ मेडिसिन’मा प्राकाशित, अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ साइन्सेसका वैज्ञानिकले गरेको अनुसन्धानअनुसार यो भाइरस हावामा कम्तीमा ३ घन्टासम्म बाँच्छ र संक्रमण गर्न सक्षम रहन्छ।

त्यस्तै प्लास्टिक र स्टिलमा ३ दिनसम्म बाँच्ने यो भाइरस तामाबाट बनेका वस्तुमा भने ४ घण्टाभन्दा बढी बाँच्न सक्दैन। अर्को कुरा यो भाइरस ‘कम्युनिटी स्प्रिड’ (कुनै क्षेत्रमा मानिस संक्रमित हुने तर कसरी र कहाँबाट संक्रमित भए भन्ने थाहा नहुने) पनि हुन सक्ने तथ्य देखिसकिएको छ। स्मरणीय कुरा के छ भने यो भाइरस बिलकुलै नयाँ भएकाले यसको सर्ने तरिकाबारे भविष्यमा अझ धेरै कुरा प्रस्ट हुँदै जाला।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कोभिड-१९ को ‘इन्क्युबेसन पिरियड’ अर्थात् भाइरस संक्रमण र रोगको लक्षण देखापर्ने बीचको समय सामान्यतः १-१४ दिनसम्म रहेको पाइएको छ, जसमध्ये धेरैजसोमा ५ दिन आसपासमा लक्षण देखापर्छन्। केही व्यक्तिमा भने २८ दिनसम्म पनि भाइरस पाइएको तर कुनै लक्षण भने नदेखिएको अवस्था छ। सीडीसीका अनुसार कोभिड-१९ का लक्षणमा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने गर्छ।

धेरै मानिसमा मध्यम खालको संक्रमण देखिए पनि केहीमा संक्रमण जटिल भएर मृत्यु पनि हुन सक्छ। तर भर्खरै प्रकाशित रिपोर्टहरूका अनुसार अमेरिका, बेल्जियम तथा नेदरल्याण्डमा झन्डै ५० प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिईकन कोभिड-१९ पोजिटिभ भेटिएको तथ्य उजागर भइसकेको छ। यसबाट के प्रस्ट हुन्छ भने कुनै मानिसले बिनालक्षण पनि यो भाइरस सार्न सक्ने सम्भावना हुन्छ। त्यसैले देशव्यापी रूपमा ‘मास स्क्रिनिङ’ गरी सम्भावित संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न अत्यन्तै जरुरी छ।

विश्व स्वास्थ्य संगठनको भनाइअनुसार सबै उमेर समूहका मानिसमा कोभिड-१९ लाग्ने सम्भावना उत्तिकै रहन्छ। यस भाइरसले कुनै जाति, वर्ग र लिंग भन्दैन। तर वृद्धवृद्धा र मुटु, फोक्सोका समस्या भएका (कुनै पनि उमेर समूहका) मानिसमा भने कोभिड-१९ को जोखिम उच्च छ। उत्तिकै जोखिम कुनै पनि उमेरका मधुमेह भएका मानिसलाई पनि छ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस, जस्तै:  क्यान्सरका बिरामी पनि यसको गम्भीर जोखिममा देखिन्छ। सामान्यतः ७० वर्षभन्दा बढी उमेर भएका र गम्भीर स्वास्थ्य समस्या भएका मानिसमा कोभिड-१९ को मृत्युदर बढी देखिएको छ। हालसम्मको तथ्यांक हेर्दा एक/दुई अपवादबाहेक स्वस्थ बालबालिकामा भने कोभिड-१९ बाट हुने मृत्युदर शून्य छ।

नेपालमा कोभिड-१९ नियन्त्रणका चुनौती, प्रयास र उपाय
२०२० जनवरी २४ मा पहिलोपटक कोभिड–१९ संक्रमित भेटिएको नेपालमा मार्च २८ (शनिबार) सम्ममा संक्रमितको आधिकारिक संख्या ५ पुगिसकेको छ। जसमध्ये पहिलो संक्रमित रोगमुक्त भइसकेका छन् भने बाँकी ४ जनाको उपचार जारी छ। पछिल्लो समय, नेपाल सरकारले कोभिड-१९ नियन्त्रणका लागि निकै सराहनीय एवं कडा कदम चालेको छ। राष्ट्रव्यापी लकडाउनदेखि सम्पूर्ण सीमा–नाका बन्द एवं अन्तर्राष्ट्रिय उडान स्थगनसम्म गरिएका छन्।

अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, स्कुल/कलेज बन्द गरिएका छन। त्यस्तै देशभर क्वारेन्टिन केन्द्र तथा केही ठाउँमा अस्थायी अस्पतालसमेत व्यवस्था गरिएका छन्। काठमाडौंको टेकुस्थित देशको एक मात्र सरुवा रोग अस्पतात ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’ लाई विशेषतः कोभिड–१९ का बिरामी हेर्ने गरी व्यवस्था मिलाइएको छ। यति काम हुँदाहुँदै पनि नेपाल सरकार र मातहतका निकाय कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा पछि परेको गुनासो आम नागरिकको छ। जुन कुरा नेपालको समग्र स्वास्थ्य अवस्था हेर्दा धेरै हदसम्म सान्दर्भिक देखिन जान्छ।

तसर्थ यस महामारीबाट सिर्जित तात्कालिक चुनौती एवं प्रभाव न्यूनीकरण गर्न मूल रूपमा निम्न कुरामा सम्बन्धित सबैको ध्यान जान जरुरी छः

१. वर्तमान अवस्थामा सरकारले घोषणा गरेको लकडाउन सबैले अनुशासित ढंगले पालना गर्नु नै नेपालमा कोभिड-१९ महामारी नियन्त्रण एवं क्षति न्यूनीकरण गर्ने सबैभन्दा उपयुक्त विकल्प देखिन्छ। यसका लागि मित्र राष्ट्र चीनले अवलम्बन गरेको कडा लकडाउनको नीति र विकसित पश्चिमा देशले अपनाएका उपाय र तिनबाट प्राप्त परिणाम तुलना गरे प्रस्ट हुन्छ।

२. कोभिड-१९ भाइरसको टेस्टिङलाई अत्यन्तै प्राथमिकतामा राखेर देशव्यापी रूपमा ‘मास स्क्रिनिङ’ गर्ने प्रबन्ध तत्काल मिलाउनुपर्ने देखिन्छ। हामी सबैलाई जानकारी छ- ‘टेस्ट किट’ पर्याप्त मात्रामा पाउन मुस्किल छ, विश्वका शक्तिशाली एवं अति विकसित मुलुकमा समेत यसको हाहाकार छ। यस्तो अवस्थामा नेपालमा सबै नागरिकको कोभिड-१९ टेस्ट गर्न सम्भव नहोला, तर विश्व स्वास्थ्य संगठन, मित्र राष्ट्र चीनलगायत असल दौत्य-सम्बन्ध भएका मुलुक, जस्तै: दक्षिण कोरियासँग कूटनीतिक समन्वय गरेर ‘टेस्ट किट’ नेपाल झिकाउन सकिने अवस्था भने विद्यमान छ।

३. कोभिड-१९ को टेस्टिङलाई नेपाल सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को घेराभित्र मात्र सीमित गरिनु हुन्न । कम्तीमा देशका सबै प्रदेशमा कोभिड-१९ टेस्ट गर्ने वातावरण सरकारले तत्काल मिलाउन सक्नुपर्छ। त्यसका लागि आवश्यक पर्ने उपकरण पनि तत्काल खरिद गरी आवश्यक जनशक्तिको प्रबन्ध गर्नुपर्छ। हालका लागि त्रिभुवन विश्वविद्यालय माताहतमा रहेका माइक्रोबायोलोजी तथा बायोटेक्नोलोजी केन्द्रीय विभागसँग समन्वय गरी त्यहाँ रहेका उपकरण एवं विद्यमान दक्ष जनशक्तिको सदुपयोग गर्न राज्य चुक्नु हुँदैन।

अझ भन्नुपर्दा त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजी तथा बायोटेक्नोलोजी केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई आवश्यक प्रक्रिया पुर्‍याएर काम गर्ने वातावरण तत्काल मिलाइनुपर्छ। त्यति जनशक्तिले पनि नपुगे जैविक विज्ञान विषय, जस्तै: माइक्रोबायोलोजी, बायोटेक्नोलोजी अध्ययन गरिरहेका र मोलेक्युलर बायोलोजीमा अनुभव प्राप्त गरेका विद्यार्थीलाई समेत यस महामारी नियन्त्रणमा उपयोग गर्नुपर्छ। साथै देशमा रहेका प्राइभेट ल्याबसँग समन्वय गरी त्यहाँ रहेका उपकरण एवं दक्ष जनशक्तिको यथाशक्य उपयोग गर्न राज्य पछि पर्नु हुँदैन।

हालसालै एफडीएबाट स्वीकृति पाएका द्रुर्त गतिमा टेस्ट गर्न सकिने मोलेक्युलर टेस्टिङ किट सकेसम्म चाँडो व्यवस्था गरिनुपर्छ। उदाहरणका लागि भर्खरै मात्र एफडीएबाट अनुमति प्राप्त एवोटको ‘मोलेक्युलर प्वाइन्ट-अफकेयर टेस्ट’ लिन सकिन्छ, जसले कोभिड-१९ को पोजेटिभ रिजल्ट ५ मिनेटमा र नेगेटिभ रिजल्ट १३ मिनेटमा दिन सक्ने कुरा उक्त कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

४. एकातिर सरकार हालको स्वास्थ्य प्रणालीभित्र रहेका मानिसलाई कोभिड–१९ नियन्त्रणमा काम गरेमा स्वास्थ्य बिमा तथा अतिरिक्त भत्ता दिने कुरो गर्छ (जुन कुरो एकदमै सराहनीय छ) भने अर्कातिर यही सरकारको जिम्मेवार निकाय एनपीएचएल सूचना जारी गरेर स्वयंसेवक माग गर्छ। हो, राष्ट्रिय संकटको यस घडीमा देशको स्वयंसेवा गर्न पाउनु एकदमै गौरवको कुरो हो, तर यो अति संक्रमित भाइरस चलाउन सायदै कोही तयार होलान्। स्मरण रहोस्, हालसम्म प्रकाशित तथ्यांकअनुसार कोभिड–१९ बिरामीको उपचार तथा नमुना परीक्षणमा संलग्न ८ देखि १५ प्रतिशतसम्म स्वास्थ्यकर्मी (डाक्टर, नर्स, ल्याब टेक्निसियन) संक्रमित भएर केहीको ज्यानसमेत गइसकेको छ। तसर्थ न्यूनतम आवश्यकीय सुविधाको व्यवस्था तथा हाल देशमा रहेको दक्ष जनशक्ति सदुपयोग गरी महामारी चाँडो नियन्त्रण गर्न सरकार चुक्नु हुँदैन।

५. स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई अर्थात् पर्सनल प्रोटेक्टिभ इकुइपमेन्ट) को प्रभावकारी व्यवस्थापन गर्नुपर्छ। पीपीईको बढ्दो माग तथा घट्दो आपूर्तिसँगै स्थानीय स्रोत/साधन उपयोग गरी त्यस्ता सामाग्री बनाउने काम सराहनीय भए तापनि उत्पादित ती वस्तुको गुणस्तर विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र पर्नु अत्यावशयक छ।

६. लेखकको जानकारीमा आएसम्म कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले २०७६/११/१८ गते गठन गरेको ‘नोवेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिति’ मा एक जना पनि सम्बन्धित विषयको विशेषज्ञ छैन। यो एकदमै दुःखद कुरो हो। कम्तीमा देशको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका विज्ञ समितिमा राखिनुपर्ने। त्यस समितिलाई एक ‘राजनीतिक समिति’ भन्दा कुनै फरक पर्दैन। समितिले विज्ञसँग पक्कै पनि परामर्श गरिरहेको होला, तर यो कुरा आम जनतासामु पारदर्शी हुनुप¥यो। किनकि विदेशबाट टेस्ट किट तथा उपकरण ल्याउँदा कुन ल्याउने, कहाँबाट ल्याउने, कस्तो पीपीई खरिद गर्ने भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ। नत्र हालै स्पेनमा पहिला प्रयोग गरेर पछि प्रतिबन्ध गरिएको चिनियाँ टेस्ट किटजस्तो नहोला भन्न सकिन्न।

७. कोभिड–१९ महामारीले विश्व अर्थतन्त्र नै ध्वस्त पारेको यस घडीमा मितव्ययी ढंगबाट दैनिक जनजीवन सञ्चालन गरी जिम्मेवार नागरिकको परिचय दिनु हामी सबैको कर्तव्य हुन जान्छ। यो कुरा विशेष महत्वपूर्ण छ। किनकि कति समय देश लकडाउन गर्नुपर्ने हो, कहिले आम नागरिकले आफ्नो काम, व्यापार/व्यवसाय गर्न पाउने हो, कुनै ठेगान छैन। त्यसैले हामी सबै नागरिक जिम्मेवार बनौं, जसले गर्दा हामीलाई स्वास्थ्य संकटसँगै उब्जिने आर्थिक समस्याले नगाँजोस्।

सरकारले कम्तीमा लकडाउन अवधिभर सर्वसाधारणका लागि बिजुली, पानीको महसुलमा विशेष छुट गरेर अति विपन्न तथा अशक्त व्यक्तिलाई खाद्यान्नलगायत आवश्यक सामाग्री व्यवस्था गर्नुपर्छ।

समग्रमा नेपालमा धेरै क्षति हुन नदिन सम्पूर्ण नेपालीको सामूहिक हातेमालोको खाँचो छ। स्मरण रहोस्, संसारभरिका वैज्ञानिक रातदिन यस विषयमा अनुसन्धान गरिरहेका छन्, तर अहिलेसम्म कोभिड–१९ रोक्ने खोप बनाउन सकेका छैनन्। अमेरिकी फेडेरल ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले यस रोगविरुद्ध कुनै पनि औषधि सिफारिस गरिसकेको छैन। तसर्थ यस अवस्थामा आफू बच्ने र अरूलाई पनि बचाउने एक मात्र उपाय भनेको घरमै बसेर सरकारले घोषणा गरेको लकडाउनलाई साथ दिनु हो। सामाजिक दूरीमा बस्ने, भेटघाट बन्द गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, जस्तै: कुनै वस्तु छोएपछि हरेकपटक कम्तीमा २० सेकेन्डसम्म साबुन–पानीले मिचिमिची हात धुने वा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, फोहोर हातले आँखा, नाक, मुख नछुने, खोक्दा र हाछ्युँ गर्दा रुमाल, टिस्यु पेपर वा कुहिनाले छोप्ने, आफूले प्रयोग गर्ने मोबाइललाई अल्कोहल भएको वाइप वा डिस्इन्फेक्टेन्टले सफा गर्ने।

लकडाउनका बेला घरमा कसैलाई ज्वरो आयो, सास फेर्न गाह्रो भयो, खोकी लाग्यो भने तत्काल उसलाई अस्पताल पु¥याउनेजस्ता नियम पालना गरेका खण्डमा कोभिड–१९ महामारी न्यूनीकरण गर्न सकिन्छ। सरकारले पनि लकडाउन सँगसँगै कोभिड–१९ भाइरस पत्ता लगाउन सम्भव भएसम्म मास स्क्रिनिङ गरी संक्रमित व्यक्ति पाइए उसलाई आइसोलेसनमा राखेर उपचार गर्ने कामलाई प्राथमिकतामा राख्न ढिला गर्नु हुन्न।

कोभिड–१९ विरुद्ध लड्न समुदायमा आधारित मास स्क्रिनिङको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा अमेरिका तथा युरोपियन देशमा ५० प्रतिशतसम्म संक्रमणका लक्षण नदेखिएका मानिसमा कोभिड–१९ भेटिएको तथ्यबाट प्रस्ट हुन्छ। सफल उदाहरणका रूपमा सिंगापुर, दक्षिण कोरियाजस्ता देशले गरेको मास स्क्रिनिङलाई लिन सकिन्छ।

दीर्घकालीन रणनीति
हालको महामारीबाट पाठ सिकेर भविष्यमा हुन सक्ने यी र यस्तै खालका महामारीविरुद्ध जुध्न बेलैमा सजगता अपनाउन सकेनौं भने हामीले कुनै दिन धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। तसर्थ सरकारीस्तरबाट निम्न काम बेलैमा गर्न सके धेरै हदसम्म हामी जोखिम न्यूनीकरण गर्न सक्छौं।
१. राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गरी सबै प्रदेशदेखि जिल्लासम्म प्रयोगशाला विस्तार गर्न सकेको खण्डमा अहिलेको जस्तो काठमाडौं धाउनुपर्ने बाध्यता हटी आम नागरिकले सहज रूपमा स्थानीयस्तरमै सेवा पाउन सक्नेछन्।

२. नेपालमा विद्यमान पुरानो स्वास्थ्य प्रणाली सुधार गरी माइक्रोबाइलोजी विषय पढी भाइरस, ब्याक्टेरिया, फन्जाई, प्यारासाइटबारे वर्षौं अध्ययन तथा अनुसन्धान गरेका आफ्नै देशमा उत्पादित जनशक्तिलाई राज्यको स्वास्थ्य क्षेत्रको मूलधारमा समावेश गरी देश विकासमा योगदान पु¥याउन प्रेरित गर्न जरुरी छ। यसका लागि हाल सञ्चालनमा रहेका वा भविष्यमा सञ्चालन हुने शिक्षण अस्पताल, स्वास्थ्य अनुसन्धान केन्द्र, डाइग्नस्टिक सेन्टर तथा अस्पतालमा अनिवार्य रूपमा माइक्रोबायोलोजिस्ट राख्ने व्यवस्था गरेका खण्डमा कोभिड–१९ र यस्तै महामारीका बेला तिनले रोगको पहिचान, उपचार तथा रोकथाममा उचित योगदान दिन सक्ने थिए। यसो गर्न सके नेपाली माइक्रोबाइलोजिस्टले गरेका योगदान हेर्न विश्वका उत्कृष्ट अनुसन्धान केन्द्र, विश्वविद्यालय, फार्मास्युटिकल कम्पनी, भ्याक्सिन उत्पादन केन्द्र धाइरहनु पर्थेन।

३.  बायोटेक्नोलोजी विषयमा अध्ययन/अनुसन्धान गरेका जनशक्तिलाई पनि स्वास्थ्य क्षेत्रको मूलधारमा समावेश गरी देश विकासमा योगदान पु¥याउन प्रेरित गर्न उत्तिकै जरुरी छ। यसका लागि हाल सञ्चालनमा रहेका वा भविष्यमा सञ्चालन हुने शिक्षण अस्पताल, स्वास्थ्य अनुसन्धान केन्द्रमा अनिवार्य रूपमा मोलेक्युलर बायोटेक्नोलोजिस्ट राख्ने व्यवस्था गरेका खण्डमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–एनपीएचएलले भर्खरै सूचना गरेर पीसीआर ‘मास्टर मिक्स’ बनाउन जान्ने ‘विज्ञ’ स्वयंसेवक मागेजस्तो दूर्भाग्यपुर्ण अवस्था भविष्यमा अवश्य आउने थिएन।

४. केन्द्रीयस्तरको ‘नेप्लिज सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ तत्काल स्थापना गरी ‘वान हेल्थ एप्रोच’ का आधारमा विभिन्न रोगको अध्ययन/अनुसन्धान गर्ने व्यवस्था मिलाइएको खण्डमा भविष्यमा फैलिन सक्ने महामारीविरुद्ध एकीकृत ढंगबाट काम गर्न सहज हुन सक्छ। नेपाल खबर बाट

(डा. सन्तोष थापा अमेरिकाको टेक्सासस्थित बेलर कलेज अफ मेडिसिनका माइक्रोबायोलोजी अनुसन्धानकर्ता हुन्। उनी भाइरस नामकरणसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय समिति इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरससँग पनि आबद्ध छन्।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here