कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितका अनुसार दमक १ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो।
झापामा ३४१ क्वारेन्टाइन तयार
सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए। भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
मेची नगरपालिकामा ७० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई राखिएको छ । मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् ।
जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
यता बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा १०र१० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।