कैसाङको चिन्ता : “गोसाईकुण्डलाई कसरी अब्बल गाउँपालिका बनाउने “

सुवा जिल्लाको प्रशिद्ध धार्मिक र पर्यटकीय गन्तव्य हो,गोसाइकुण्ड । सोही स्थलको नाममा नामकरण गरिएको हो गोसाइकुण्ड गाउँपालिकाको । जिल्लाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिकाले अन्य गाउँपालिकाभन्दा क्षेत्रफलको हिसाबले ठूलो छ । यसले ९ सय ७८ दशमलव ७७ बर्गकिमी क्षेत्रफल ओगटेको छ । गाउँपालिकामा ७ हजार १ सय ४३ बसोबास गर्दछन् । यो गाउँपालिकाभित्रै पर्दछन् लाङटाङ राष्ट्रिय निकुञ्ज,प्रशिद्ध धार्मिक तिर्थस्थल गोसाईकुण्ड । यही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङसँग स्थानीय तहमा भएका विकास निर्माणका कार्यका विषयमा गरिएका कुराकानीका अंश :

० स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष व्यतित भइसक्यो । यो अवधिमा देखिने गरी भएका बिकासका कामहरु के के हुन् ?

हामीले यो गाउँपालिकाको विकास र समृद्धिका लागि योजनाहरु बनाइरहेका छौँ । हामीसँग एउटा ड्रिम प्रोजेक्ट छ, त्यो पर्यटनको विकास नै हो । पहिलोदेखि चौथो गाउँसभासम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने दौरानमा गोसाईकुण्डको पहिलो र प्रमुख पेशा तथा व्यवसाय पर्यटन नै हो भन्ने निष्कर्ष निकाल्यौँ । यहाँको पर्यटनलाई हामीले ‘एडभरटाईज्ड’ गर्न सकेका छैनौँ । प्राकृतिक रुपमा जस्तो छ, त्यत्तिमै सिमित छ । यसलाई व्यवस्थित गर्दै वाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउन गाउँपालिकाको योजना छ । पर्यटनलाई कसरी प्रवद्र्धन गर्ने भेर विभिन्न कार्यक्रम गरिरहेका छौँ । विशेष गरी भौतिक पुर्वधारका क्षेत्रमा उल्लेख्य काम भएका छन् । बाटोघाटो निमार्ण गर्ने कामहरु भएका छन् । यसका अलवा शिक्षा, स्वास्थका क्षेत्रमा उल्लेख्य सुधारका कामहरु भएका छन् । यो गाउँपालिकाभित्र अधिकांश तमाङ समुदायको बाहुल्यता छ । जहाँ ७० प्रतिशतभन्दा बढी तमाङ समुदाय बस्दै आएका छन् । त्यही कारण अलि बढी गुम्बा निमार्णको काम भएको छ । तमाङ समुदायको सांष्कृतिक र धार्मिक परम्परा र पर्वहरु जस्तै,घेवा, छेवर गर्नका लागि गुम्बा आवश्यक पर्ने भएको हुँदा हरेक वडामा गुम्बा निमार्ण गरिएको छ । यो गाउँपालिका धार्मिक हिसावले अन्य पालिकाको तुलनामा विशेष छ । विशेष यस अर्थमा कि पर्यटकीय स्थलहरु गोसाइकुण्डदेखि देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिने लाङटाङ, क्यान्जिङभ्याली यही अवस्थित छ । यहाँ नयाँ नयाँ पदमार्ग निर्माणका कामहरु भइरहेको छ । विश्वकै दुर्लभ रेड पान्डा यही लाङटाङ राट्रिय निकुन्जमा मात्र पाइन्छ । अहिले रेडपाण्डा संरक्षणका लागि तामाङ कल्चरल रेड पाण्डा पार्क निमार्ण गरिरहेका छौं । ३ वटा वडामा वडा भवन बनिरहेको छ । मैलुङ-स्याप्रुको सडक निर्माणले गति लिइरहेको छ ।
० तपाईहरुले प्राथमिकतामा राखेर गरिरहनुभएका काम के के हुन ?
हामीले विशेष प्रथामिकतामा राखेका आवद्यिक योजना र पर्यटन विकास गुरु योजना हुन् । यस्तै रेड पाण्डा पार्क निर्माण गर्ने, गाउँपालिकाको भवन निर्माणको काम लगायत भौतिक पूर्वाधार अन्तरगत विकास निर्माणको काम नै विशेष प्राथमिकताको कामहरु हुन् ।
० स्थानीयबासीहरुको गुनासो छ,स्थानीय तहमा करको दर धेरै भयो । करको दर र दायरा घटाउने योजना केही छन् ?
करको दायरा घटाउने भन्दा पनि बढाउनु पर्दछ । हाम्रो पालिकाले करको दर नेपाल सरकारले तोकेको भन्दा बढी कहँि र केहीमा पनि लिएका छैनौं । सरकारले तोकेभन्दा बढी कर उठाउन मिल्दैन पनि । यो पालिकाभित्र ठूल्ठूला उद्योगधन्दा छैनन् । व्यवसायीहरु पनि छैनन् । हामीले राम्रो कर उठाउन सक्ने भनेकै पर्यटनबाट मात्र हो । त्यो पनि राष्ट्रिय निकुञ्जले नै उठाँउछ ।

कैसाङ नुर्पु तामाङ
अध्यक्ष, गोसाईकुण्ड गाउँपालिका, रसुवा

० गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच एकले अर्कालाई नटेर्ने परिपाटी चलिरहेको सुनिन्छ । त्यहाँचाहिँ तपाइहरुबीच कस्तो सम्बन्ध छ ?
हामीबीच त्यस्तो कुनै मनमुटाव छैन् । एकले अर्काेलाई सहयोग गरिरहेका छौं । पहिलो कुरा यहाँ प्रर्याप्त कर्मचारी छैनन् । धेरै ठाउँमा राजनीतिकर्मी र कर्मचारीबीच मतभेद भएको सुनिन्छ । तर यस्तो हुनु राम्रो होइन् । सम्बन्ध सुमधुर हुन नसक्दा विकास निर्माणका कामहरु ठप्प भएका छन् । विशेषगरी, राजनीतिक आस्था र पार्टी फरक फरक हुँदा यस प्रकारको समस्या निम्तन्छ । सँगै एउटै सिरानी गरेर सुतेपछि खुट्टा त लाग्छ नै । सानातिना मनमुटाबलाई बसेर सल्लाह गरेरै टुंग्याउनु पर्दछ । जनप्रतिनिधिमा मैं हुँ भन्ने अहंमता र कर्मचारीमा पनि म जतिको अध्येता कोही छैन् भन्न अहंमताकै कारण मनमुटाव हुन्छ । हाम्रो सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । ठीक उस्तै छ ।
० भन्नलाई त भनियो गाउँ गाउँमा सिंहदरबार तर जनताले यसको प्रत्याभुत गर्न पाएनन् भन्ने गुनासो पनि सँगै उठ्दैछ । के देख्नुहुन्छ ?
दैलोमै सिंहदरबार भन्नुको अर्थ हो सेवा सुविधा सबै दैलोमै पाइन्छ । जनताले सेवा सुविधा खोज्नका लागि एक दिनै माया मारेर टाढा जान नपरोस । यस्ता सेवाहरु वडा कार्यालयबाटै सहज ढंगबाट पाउन सकियोस र प्रत्याभुत होस कि दैलोमै सिंहदरबारको । यद्यपि जनतामा ठूलो महत्वकाक्षा छ । हामी प्र्रविधिका कारण् पनि विश्वका अन्य मुलुकका तुलनामा धेरै पछि छौं । हिजो सेवा लिन केन्द्र धाउनु पर्ने थियो । आज त्यो स्थिती छैन् । दैलोमै एउटै कार्यालयबाट सबै सेवा पाइरहेका छन् । यद्यपि हामीले नापी र मालपोतका सेवा दिन सकेका छैनौं । यी सेवाबाट गाउँपालिकाबाटै उपलव्ध भएको खण्डमा जनतालाई कतै जानै पर्दैन् ।
० समायोजन भएर स्थानीय तहमा खटाइएका कर्मचारी कतै हाजिर गर्न नदिइएको त कतै कर्मचारी नपुगेको गुनासो सुनिन्छ । यहाँको अवस्था के हो ?
यो पालिको भूभागको हिसावले अन्य पालिकाको तुलनामा ठूलो पालिको हो । उस्तै विकट पनि । सदरमुकामबाट लाङटाङसम्म पुग्नै दुई दिन लाग्छ । यही कारण यहाँ कर्मचारीहरु आउनै खोज्दैनन् । आए पनि टिक्दैनन् । साथै पर्यटकीय स्थल पनि भएकाकारण अन्यतिर भन्दा सबै कुरा महँगो छ । स्थानीय भत्ता पनि उपलव्ध छैन । यस्तै कारण यहाँ कर्मचारी आउन खोज्दैनन् । कर्मचारी आएको खण्डमा हामी सम्मानका साथ उहाँहरुलाई काम लगाउँछौं ।

LEAVE A REPLY