यसरी फेर्दैछ मुहार बैतडीको शिगास गाँउपालिकाले

रघुनाथ अबस्थी प्रमुख प्रशासकीय अधिकृत शिगास गाउँपालिका,बैतडी

मुलुक संघीयतामा गएको दुई बर्ष व्यतित भइसक्यो । जनतालाई दैलोमा सिंहदरबारको प्रत्याभुत गर्ने गरी स्थानीय सरकार त बन्यो तर कतिपय स्थानीय तहमा सो अनुरुप काम हुन नसकेको जन गुनासो व्याप्त छ । स्थानीय सरकार बनेको यो अवधिमा के कस्ता काम भए ? विकास निर्माणको काम गर्नका लागि के कस्ता गाँठाहरु छन् ? अनि कर्मचारी र जनप्रतिनिधिबीच के कस्ता तित्तता छन् भन्ने बिषयमा केन्द्रीत रहेर हाम्रा सहकर्मी टेकसिंह धामीले बैतडी जिल्लाको शिगास गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अबस्थीसँग केही जिज्ञासा राखेका छन् :-


० स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ बर्ष व्यतित भइसक्यो यो अवधिमा देखिने गरी भएका विकास निर्माणका कामहरु के के हुन् ?
बैतडी जिल्लाका दश स्थानीय तहमध्ये दुर्गम गाउँपालिका हो शिगास । साबिकका ६ वटा वडाहरु मिलेर यो गाउँपालिका बनेको हो । जहाँ ९ वटा वडा अवस्थित छन् । सदरमुकाम बैतडीबाट ३३ किमी दुरीमा पर्ने यो ठाउँ पहिला गाजरीसम्म मात्र ९ किमी कच्ची सडकमार्ग रहेको थियो । यसका अलवा अन्य साविकका गाविसहरु समेत सडक सञ्जाल र विद्युतको पहुँचबाट बाहिर थिए । ६ वटा सडकखण्ड निर्माण कार्य तिब्रतर गतिमा भइरहेको छ । यस्तै विद्युतको हकमा पोल ,तारद्वारा बिद्युत बिस्तारको कामले गति लिइरहेको छ । गाँउपालिकाको १ देखि ४ नम्बरसम्मका वडाहरुमा विद्युत लाइन विस्तारको क्रम चल्दैछ । खानेपानी र सिंचाईका योजनाहरु अघि बढ्दैछ । अहिले पालिकाको आफ्नै भवन बनेको छ ।


विशेष गरी प्राथमिकतामा राखिएका काम चाहिँ के के हुन् ?
यो अवधिमा हामीले सबैभन्दा बढी प्राथमिकतामा राख्यौ भौतिक संरचनाको निर्माण । विशेष गरी सडकखण्डका निर्माणका काम प्रमुख प्राथमिकतामा परे । यसका अलवा विद्युत खानेपानीलाई नै जोड दियौं । शिक्षा अर्काे महत्वपूर्ण पाटो रह्यो । गा पा भित्र ५८ वटा सामुदायिक बिद्यालय छन् । र यस्तो अवस्था छ कि कुनै विद्यालयमा एउटा पनि स्थायी शिक्षकको दरवन्दी छैन् । सोही कारण  स्थानीय सरकारले नै त्यसको व्यवस्थापन गरिरहेको छ । जस्तो वडा नं ६ को थालाकाडामा अवस्थित भुमिराज मा बि । जहाँ १ जनामात्र प्रा बिस्तरको स्थायी शिक्षकको दरबन्दी । जहाँ १ देखि १० कक्षासम्मको पठनपाठन हुन्छ । स्वयमसेवक शिक्षकका लागि अनुदान स्वरुप २ करोड २० लाख बराबरको रकम बिनियोजन भएको छ । सोही रकमले सामुदायिक बिद्यालय धानिरहेको अबस्था छ । स्वास्थ्यको हालत पनि उस्तै हो । अहिलले प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु रहेका छन् । यसका अलवा आधारभुत स्वास्थ्यचौकी निर्माण भएका छन् । र केही निर्माणाधिन अवस्थामा छन । शिक्षामा जस्तै स्वास्थ्यसंस्थामा समेत कर्मचारीको व्यवस्थापन राम्रोसँग भइरहेको छ ।
भावि योजना तथा लक्ष्यहरू के के छन् ?
सामाजिक सुरक्षा, सिपमुलक तालिम, जनचेतनामुलक कार्यक्रम र समाजिक कु संस्कार बिकृती एंव कुरितिको न्युनीकरणका लागि बिभिन्न संघ संस्थाहरु मार्फत जनचेतनामुलक कार्यक्रम, घरदैलो अभियान सञ्चालन गर्दैछौं । बालबिवाह न्युनीकरण, सरसफाई, पोषण सम्बन्धीका कार्यक्रमलाई जोड दिएर अघि बढ्नेछौं ।
अन्य स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीबीच एकले अर्कालाई नटेर्ने परिपाटी छ । यहाँको अबस्था पनि त्यस्तै हो ?
कर्मचारी र जनप्रतिनिधि भनेको एक रथका दुई पाङ्ग्रा हुन् । केही कुरामा सामान्य मतभेद होला । यद्यपि हामी संवादबाटै त्यस्ता समस्या हल गर्दै अघि बढिरहेका छौं । दुबै पक्षबीच समन्वय र सहकार्य गरेरै अघि बढिरहेका छौं । सिगासलाइ नमुना गाँउपालिका बनाउने ढंगले हामी काम गर्दैछौं ।
भन्नलाई गाउँ गाउँमा सिंहदरबार भनिदैछ,तर जनताले यसको प्रत्याभूत गर्न पाएनन् भन्ने गुनासो पनि संगै उठ्दैछ। यसबारे के भन्नुहुन्छ?
अधिकारका हिसाबले सिंहदरबार भनिएपनि पूर्वाधार विकास नहुदा यसको प्रत्याभूत हुन नसकेको हो । यद्यपि अहिले अधिकतम कामहरु जनताको प्रत्यक्ष सम्पर्क वा घरदैलामै हुँदै आएको छ । हिजोको जस्तो सानो काम लिएर पनि जिल्ला सदरमुकाम वा केन्द्र धाउनुपर्ने बाध्यता करिब करिब अन्त्य भएको अबस्था छ । शिगास अत्यन्त दूर्गम गाँउपालिका भएका कारण विकास निर्माणको क्रममा अलिकति कठिनाइ भएता पनि यहाँको स्थानीय स्रोत साधनको प्रयोग, कर्मचारी र जनप्रतिनिधिले बिकासका लागि सक्दो प्रयत्न गरिरहेका छन् । हामी यस क्षेत्रका जनताको जनस्तरमा सुधार हुनेमा विश्वस्त छौं ।

LEAVE A REPLY