टेक सिंह- सुदुरपश्चिम बैतडी जिल्लाका स्थानीय तहहरुले पोषणमैत्री तह बनाउने घोषणा थालेका छन् । हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणको स्थितीमा सुधार ल्याउनका लागि पालिकाहरुले प्रतिबद्धता पत्र पारित गरेर योजना बनाउन थालेका हुन् ।
स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितताका लागि आयोजना गोष्ठी आयोजना गर्दै पालिकाहरुले ती गोष्ठीबाट प्रतिबद्धता पत्र पारित गरेका हुन् । सुआहाराको प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहको आयोजनामा पोषणमैत्री स्थानीय तह बनाउनका लागि छलफल सञ्चालन गर्ने गरिएको सुआहाराका जिल्ला कार्यालय ले जनाएको छ।
स्थानीय तहहरुले प्रतिबद्धता पत्र पारित गर्दै आगामी एक बर्ष भित्र पोषणमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता जनाएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकाले पोषणमैत्री पालिकाका लागि प्रतिबद्धता पत्र पारित गरिसकेका छन्। हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सिगास गाउँपालिकाले स्वस्थ परिवार सुपोषित बालबालिका, पोषणमैत्री हाम्रो गाउँपालिका भन्ने नारा सहित प्रतिबद्धता पत्र पारित गरेको चौखाम स्वास्थ्यचौकी ९ ले जनाएको छ।