निष्ठाका प्रतिक,जनताका प्रिय गुमानसिंहको गरिमा

अञ्जनकुमार हिमाली

उम्मेदवार छनौटमा तलवितल भएको भए सायद आज पछुताउनु सिवाय केनै हुन्थ्यो होला र ? अन्तिम घडीसम्म पनि माथामच्चीनै थियो । मेयरको उम्मेदवार को हुने ? भन्ने बिषयमा । उम्मेद्धार बन्न लालयितहरु युवादेखि पाकाहरु त्यत्तिकै थिए । उसो त काँग्रेसले कत्तिको हुती भएको उम्मेदवार छनौट गर्छ त्यसको आधारमा आफ्नो उम्मेदवार तय गर्ने पूर्व एमालेले निधो गरेको थियो ।
काँग्रेसले जिल्ला सभापति धनमन दुबै भएका भेष बहादुर पौडेललाई उठाउने भयो । लमजुङमा बैक नभएका बेला भेषबहादुर पौडेलका बुबा तिलक बहादुर पौडेल बैक थिए । चर्काे ब्याजनै सही अप्ठ्यारोमा परेको समयमा धेरैको गर्जाे टारेका थिए । लामो समय बेसीशहरका रैथाने तिलक बहादुरहरुको विषयमा कथन थियो तिले, लिले, डिले मिले लमजुङ निले । यस्ताका छोरा भेषबहादुर निकै असल थिए, नरम थिए, मिलनसार उस्तै । उनको काउण्टरमा एमालेले, हारको कुनै अनुभूति नगरेका जिल्ला उपाध्यक्ष तथा वरिष्ट अधिवक्ता गुमानसिंह अर्यालको विकल्प देखेन ।
जनप्रतिनिधिहरुलाई भ्रष्टचारको कलंक लागिरहेको बेला लमजुङ सदरमुकाम बेसीशहरका नगर प्रमुख गुमानसिंह अर्याललाई कसैले खोट लगाउन सक्ने ठाउँ छैन । जनतासँग उनको कमेन्टमेन्ट नै भ्रष्टचारमुक्त र सुशासनयुक्त नगरपालिका थियो । यो मन्त्र अर्यालले डग्न दिएका छैनन् । कार्यकालको मध्यविन्दूमा आईपुग्दा सुको अनिमियताको दसी भेटिने कुरो भएन । दुईचार सय खाजा बिल समेत नगरपालिकाको खाताबाट बुझ्ने मेयर, अध्यक्षको कमी छैन स्थानीय तहहरुमा । घरमा खाना खाएर होटलको विल पेश गर्ने घरमै बसेर डेराको भाडा लिने, कार्यालयबाट पाँचसय मिटरको दूरी पनि टाढा नभएको घर कार्यालय आउजाउको इन्धन खर्च लाखौंसम्म कुम्ल्याउने योजना बुन्ने जनप्रतिनिधिहरु बीच एक नमूना मेयर हुन् गुमानसिंह अर्याल । इन्धन सुविधा छ, टेलिफोन सुविधा छ, टिएडिएको व्यावस्था पनि नभएको होइन तर मेयर अर्यालले आजका दिनसम्म ती कुनै सुविधा लिएका छैनन् । चुनाव त एमालेको नाममै जितेका हुन् जब मेयरको कुर्चीमा विराजमान भए कुनैदिन यो उ भनी पक्षपात गरेनन् ।

Image result for गुमानसिंह अर्याल
फल्यासव्याक
सामान्य परिवारमा ०१४ सालमा पिता इमानसिंह अर्याल र माता अम्विकादेविको दोस्रो सन्तानको रुपमा जन्मिएका अर्यालको जीवनको पूर्वाध निकै कष्टपुर्ण थियो । सामान्य कृषकका छोरा दुःखका पहाडको त कुनै गिन्तिनै थिएन । दुःखदुःखमै ०३० सालमा लमजुङकै अमर मावि खुदीबाट एसएलसी पास गरे । उच्च शिक्षाका लागि शहर जानु पर्ने । खर्चको जोहो गर्न निकै सकस । कुनैदिन खाएर त कतिदिन भोकभोकैपनि टुप्पी कसेर पढेका अर्यालले ०३६ मा आइएल, ०३९ मा विएल र ०४३ सालमा त्रिविबाट राजनीतिक शास्त्रमा स्नाकोत्तर गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, महेन्द्रलाल श्रेष्ठहरु लमजुङमा कम्युनिष्टका नेता थिए ।
संगत
उनीहरुकै संगतले सर्वहारा वर्गको मुक्ति, समाजमा देखिएका अनेकै विभेदको खिलाफ उनी कम्युनिष्ट भए । सोही समय प्रधानपञ्चको चुनाव हुने भो । राष्ट्रिय पंचायतमा पृथ्वीसुव्वा गुरुङ र प्रधानपञ्चमा अर्याललाई जनपक्षिय उम्मेदवार उठाउने पार्टीले तय ग¥यो । जुनबेला पार्टी भूमिगत थियो । प्रधानपञ्चमा रणबहादुर अधिकारी, कमलबहादुर पौडेल, कुशबहादुर थापा, केन्द्रबहादुर सिलवाल सहित ८ जना भिड्दै थिए । अधिवक्ता समेत रहेका काँग्रेस समर्थित रणवहादुर अधिकारी अर्याललाई केटौले मान्दै आफ्नो जित सुनिश्चित ठान्थे । बिडम्वना नजिता उल्टो अर्यालले ७५८ मत ल्याएर प्रधानपञ्च जिते । बाँकी ७ जना सबैको मत जोड्दापनि ७ सय कटेन । उसै बेला पंचायत विरुद्धको आन्दोलन चरम उत्कर्षमा पुग्दै थियो । उनी मालेको तर्फबाट संघर्ष समितिको सदस्य थिए । जनआन्दोलन ०४६ ले पंचायतको अन्त्य भयो । ०४७ मा अर्याल नेकपा मालेको जिल्ला समिति सदस्यमा चयन भए । ०४८ सालको आम निर्वाचनमा काँग्रेसमय बन्यो लमजुङ । दुबै निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । बेसीशहर गाविसमा उनैलाई उठाउनु पर्ने आवाज विपरित बालकृष्ण बराललाई उठाइयो । ०४३ सालमै प्रधानञ्च भएका अर्याललाई पार्टीले वडा नं. ८ को वडा अध्यक्षमा उठायो । पार्टीको निर्णयलाई शिरोधार्य गरी उम्मेदवारी दिएका अर्याल विजयी बनेपनि गाविस अध्यक्षमा बराल पराजित भए ।भने , ०४३ मा अर्यालसँग पराजित रणवहादुर अधिकारी अध्यक्षमा विजयी भएका थिए ।

सदैव विजयी

०४८ मा काँग्रेसको बहुमतको सरकार हुँदाहुँदै आन्तरिक कलहका कारण संसद विघटन गरी ०५१ मा मध्यावधि निर्वाचनको घोषणा भयो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेले सरकार बनायो । सरकारद्धारा अर्याललाई दाङ–रोल्पा घटनाको छानविन समितिका सदस्यमा मनोनित ग¥यो । वडा अध्यक्षको बावजुद मस्र्याङ्दी बहुमुखी कलेजमा प्राध्यापन गर्न शुरु गरे । बिहान कलेज दिउँसो वकालत र वडामा काम । ०५४ को निर्वाचनमा गुमान सिंहलाईनै उठाउने निर्णय ग¥यो गाविस अध्यक्षमा एमालेले । उता काँग्रेसले घगडान उम्मेदवार तिलकबहादुर पौडेललाई खडा गरेको थियो । पार्टी त्यत्ति विश्वस्त थिएन अर्याल विजयी हुने कुरामा । कतिले त अर्याललाई यही निर्वाचनमै सहिद बनाईदिएर अगाडिको उनको बाटो बन्द गराईदिने दाउपेचमा पनि थिए रे, तर कसैको केही चलेन अर्याललेनै फराकिलो मत अन्तरले चुनाव जिते । ०५२ सालदेखि माओवादीका नाममा जनयुद्ध शुरु भयो । ०५४ मा एमाले पार्टी बिभाजन भयो । बामदेव गौतमको नेतृत्वमा माले बन्यो । राजनीतिक कोर्सले बाटो बदल्यो । अर्याल माले जिल्ला उपसचिव बने । राज्यले माओवादीका आरोपमा थुप्रै निर्दाेष मान्छेलाई दुःख दिन थाल्यो । अर्यालले कयौं निर्दाेषहरुको पक्षमा निःशुल्कै बहसपैरवी गरे । जमानी बसेर राज्यद्धारा नियन्त्रितहरुको उद्धार गरे । फलस्वरुप अर्याल लोकप्रिय बन्दै गए । यसै दौरानमा पार्टी एकीकरण भयो । अर्याल दुईदुई पटक एमालेको जिल्ला उपाध्यक्ष, बार इकाई लमजुङका दुई कार्यकाल अध्यक्ष बने ।
हो, २० वर्ष पछि पनि अर्यालको विकल्प देखेन पार्टीले । चाकडी, चाप्लुसी र माथिल्लो निकायमा अनार्गल कान भर्ने काम पनि भयोे । तर पनि निर्णय उनैको पक्षमा भयो चुनावी टिकटको । अर्यालले चुनावी खर्च कसैसँग एक पैसा मागेनन् । कसैको चित्तपनि दुखाएनन् । दिल सानो पनि पारेनन् । झण्डै दुईसय जति मत उनका विरुद्ध भएपनि लमजुङकै धनीका छोरा, शालिन व्यक्तित्व भेषबहादुरलाई गल्र्यामगुर्लुम पारे । यसो त अर्याल बाहेक अरु कोही हुन्थ्यो भने पौडेलले चिह्याउन दिने थिएनन् । ०५४ मा जसलाई उनले पराजित गरेका थिए उनैका पुत्र भेषबहादुरलाई पराजित गरेर बाउ छोरानै हराउने उम्मेदवारमा उनी दर्ज भए ।

निष्ठाका प्रतिक

त्यसैले त एमालेका तत्कालीन अध्यक्ष तथा हाल गण्डकी प्रदे्श सदस्य धनञ्जय दवाडी अर्याललाई निष्ठाका प्रतिक, निर्वाचनका सतिसाल, इमान्दार र जनताका प्रिय नेता भएको ठान्छन् । हाल जिल्ला अदालत काठमाडौमा रहेका न्यायधिस कोमलप्रसाद आर्चाय, अर्याल साँच्चैका बौद्धिक इमान्दार जनतामा प्रिय भएकै कारण कुनैपनि निर्वाचनमा पराजित नभएको तर्क गर्छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री अर्यालप्रति विश्वास र भरोसा भएको ठान्दै उनको कामप्रति खोट लगाउनु पर्ने ठाउँ नरहेको बताउँछन् । नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी मेयरसावले नगरपालिकामा शून्य सहनशीलता कायम भएको बताउँछन् । परापर्शदाता दुधप्रसाद घले भ्रष्टचारीहरुको लागि मेयरसाव आँखाको कसिंगर बनेपनि जनताको लागि आँखाको नानी बनेका ठान्छन् । काँग्रेसका सचिव तथा मर्स्याङ्दी बहुमुखी क्याम्पसका अध्यक्ष हरि बराल अर्याललाई समान व्यावहार गर्ने नेताको रुपमा चित्रण गर्छन ।

Image result for गुमानसिंह अर्याल

गुमानसिंहको गरिमा

हुन पनि अर्याललाई दुईपैसा लोभ गर्नु पर्ने कुनै कारण छैन । जेठा छोरा ग्रीसबाट कानूनमा पिएचडी गरेर काठमाडौमै चल्तीका अधिवक्ता छन् । कान्छा छोरा विनायक अमेरिकामा मेडिकल डाक्टर । परिवार सबैको राम्रो व्यावस्थापन । हिजो केही नहुँदापनि कालो धनको लोभ गरेनन् । भ्रष्टचार विरुद्ध उनी दृढ छन् । कर्मचारी कसैले तलमाथि गर्ने हिक्मत राख्दैनन् । लामो समय राजनीतिक अनुभवले खारिएका अर्यालको बेसीशहर नगरपालिकालाई सुन्दर नगरी बनाउने योजना मुताविक काम गरेका छन् । नगरपालिका भित्र अति विपन्न परिवारलाई छाना र नानाको प्रवन्ध गरेका छन् । पानी, बत्ति र सडक, कृषि पर्यटन, गुणस्तर शिक्षा नगरपालिकाको आवश्यकता भन्दै पाँच वर्ष भित्र सम्भव भएसम्मका सडक कालोपत्रे, ग्राबेल, ट्राक नखुलेका गाउँबस्तीमा जसरी पनि सडकको संजाल पु¥याउने योजनामा छन् । आज सन्तोषको स्वास फेर्ने थुप्रै आधारशिला हुँदाहुँदैपनि अर्याल आफ्नो विगतका दुःख भुल्न चाहदैनन् । उनलाई विगतको दुःख लुकाउनु पनि छैन् । पेट बाँधेर हिडेका कयौदिन स्मरण गर्दै आत्मरतिमा रमाउन नहुने उनको तर्क छ ।
पछिल्ला समय उनलाई केही नेताहरुको चरित्रले वैराग्य बनाउँछ । नेताहरु पद भ्रष्ट हुँदै गएकोमा दुखेसो छ । कम्युनिष्टहरु क्रमिक रुपमा लोभीपापी बन्दै गएकोमा चिन्ता छ । सर्वहारा वर्गको पार्टी क्रमिक रुपमा बुर्जुवाकरण हुँदै गएकोमा आक्रोश छ । सामान्त, दलाल, विचौलियाको फन्दामा पार्टी फस्दै गएकोमा नैराश्यता छ । गुट, उपगुट नेताका आसेपासेका गलत कृयाकलापप्रति विमति छ र पनि विगतका कमीकमजोरीलाई सच्चाएर आत्मआलोचित बन्न सके पचासौं वर्ष यो पार्टीको भविश्य सुनिश्चित अर्यालको ब्रह्राले देखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here