राष्ट्रपतिको आगमन : बैतडी र दार्चुलाका चार पालिकाले दिए सार्वजनिक बिदा

संवाददाता टेक सिंह धामी-सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन्।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन्।

आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन आग्रह गरिएको छ। विद्यार्थीलाई अनिवार्य सहभागी हुन समेत गाउँपालिकाले निर्देशन दिएको छ।

राष्ट्रपति भण्डारी हिजोबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी छिन्। हिजो कैलालीको धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गरेकी थिइन भने खाना महोत्सवको समेत उद्घाटन गरेकी थिइन।

आज दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

LEAVE A REPLY