स्याङ्जालीलाई लोकसेवा : घरको कुखुरो बराबर

चिरञ्जीवी ढकाल

अलि पहिलैको कुरो ! स्याङ्जाको एक गाउँ । पण्डित तुर्कीनारन पाध्या । उसो त स्याङ्जाली सबैजना कागको फूल चोर्ने खालका बाठा हुन्छन्, तर यिनको परिवार त कागको फुल चोरेर अम्लेट बनाएर कागलाई नै बेच्ने खालका उग्रटाँठा ! पहाडको जमीन, रूखो टारी । खेतीपाती जेनतेन वर्षदिन थेग्ने । छोराहरू सबैले १२ पास गरे पछि बुढाले एकदिन पीँढीमा हुक्का गुडगुडाउँदै भने :

“हेर खञ्चरी हो ! म बुढिएँ, आमा लुरी छ ! अब यत्तिकै हल्लुँडा भर नबसओ, सर्खारी जागीर खानी मेसो अरओ । जसरी हुन्च, अबका २ वर्षभित्रैमा बुधबारको गोर्खापत्राँ मेरो र तिमेर्का हजुरबाको नाम देख्न पाम्”

जेठाले भन्यो “बा ! लोकसेवामा प्रतिस्पर्धा ठूलो हुन्छ । सरकारले बाहुन क्षेत्रीका छोरालाई सौताकै छोरो जस्तो गर्छ । जनजाति कोटा छ, महिला कोटा छ, अपाङ्ग दलित पिछडिएको कोटा छ तर बाहुन क्षेत्रीका नाममा त सापकोटा र देवकोटा बाहेक कुनै कोटा छैन”

“थुक्क मूला घाँस हो तेइ जाँठो आरक्षणको तेत्रो पिरलो ? ल आओ म तरिका बताम्चु । सरकारले जनता छल्न हुन्च, जनताले सर्खार छल्न किन नहुनी”

बुढाले छोराहरूको कानमा खुसुक्क गुरूमन्त्र फुके । छोराहरू प्रसन्न

भोलिपल्टै गाउँमा २ वटा घटना भए ।

एउटा, गाविस अध्यक्षकी लाटी छोरी तुर्कीनारनका सालाको छोरालाई दिने गरी बिहे छिनियो ।

केटी मुखले लाटी देखस् भनेर हुन्च ? भित्र ओहोर बाठी छ, डल्ली भए नि बेहोरा गतिलो छ । अग्ली केटी बिया अरेर बाँससँग मीत लाइदिनी होस र ? अग्लो मुन्छेओ काम भनेको गामभरिका घिरिम्ला टिप्नी र बिजुलीको चिम फेर्नी हो, अपुर केइ काम छ ? केटी अनेक्की छ आम्नीजानीलाई मानमर्यादा अर्चे, चुलोचौको जानेकी, मावली पनि जिल्ला अस्पतालका ठुलै हाकिम । मौकाँ काम लाउनी मुन्छे हुन् । ओत लाम्न परेसी ठुलै रुखमुनि ओत लाम्नी नि, खिर्राओ बुटाँ किन ओत खोज्नी ? ( बुढाले एकैसासमा केटालाई ) हुन्छ, बिहे गर्छुू भन्ने बनाइदिए ।

लेखक

अर्को,
पण्डितका घरमा अंशबण्डा भो । भञ्ज्याङको खरबारी जेठालाई, सीम्लेको ढुङ्गे बगर कान्छालाई । जेठाको अलग लालपुर्जा । कान्छाको अलग लालपुर्जा ।

केही दिन गाविस अध्यक्षसँग खासखुस भयो, लोलोचोचो मिल्यो । भित्रभित्र गोप्य सल्लाह भो, वार्ता भो । अनि हप्ता दिनपछि जेठो र कान्छो एक्कासी गायब भए ।

OOOO

एक वर्षपछि , तुर्कीनारन पण्डितको नाम बुधबारको गोरखापत्रमा २ ठाउँमा छापियो ।

भएछ के भने,

स्याङ्जाली जेठाले गाविस अध्यक्षको आशीर्वाद लिएछन् । बाउसँग छुट्टिएको अंशबण्डे प्रमाणपत्र बोकेर स्याङ्जाबाट कीर्ते बसाइँसराइ हानेर हुम्ला कि मुगु पुगेछन्, उताबाट ूपिछडिएको क्षेत्रू वाला कोटामा भिडेर सुब्बा पड्काएछन् । कान्छाले चाहिँ गाविस अध्यक्षकी लाटी छोरीका ससुराबा (जिल्ला अस्पतालका ठुलै मुन्छे) को सोर्सफोर्समा आफ् नामको अपाङ्ग परिचयपत्र मिलाएर, कालो चश्मा र सेतो छडी बोकी सुदूरपश्चिमतिर गएरअपांग कोटामा नाम निकालेछन्

र पछि,

जेठादाइ पुनः बसाइँसराइ गरी पुनः स्याङ्जाली भए, कान्छा दाइ चाहिँ साङ्ग(सपाङ्ग हुनका लागि आँखा देख्ने उपचार गर्छु भनी (बिरामी विदा) स्वीकृत गराएर दिल्लीतिर बुढीसहित हनिमुन मनाउन पुगे भन्न सुनियो

स्याङ्जाली सदैव रक्स

LEAVE A REPLY