लाेकसेवालाई चिठ्ठी

श्रीमान् निर्देशकज्यू !
लाेकसेवा आयोग केन्द्रीय कार्यालय
पाठ्यक्रम व्यवस्था विभाग !

विषय – पाठ्यक्रम बदल्ने बारे !

महाेदय,

म स्याङ्जा जिल्ला नुवाकाेट ग्रामपञ्चायत अन्तर्गत फापरथुम गाविसकाे बासिन्दा । शिक्षा – कनिकुथी १२ पास । बाले भन्नुभयाे – “ए केटा ! तँ यत्तिकै रउमगिएर नबस् ! लाेउसेवाको परिच्छा पास अरिस् भने घुम्नि कुर्सियाँ बस्न पाउलास् ! गतिलैले छाेरि देला ! वर्षैपिच्छे तलप बढ्च ! पेल्सिङ पकासी नि मइनैपिच्छे दाम आम्च ! घुन् पुत्लाे नलाम्नी पैसाे, बैदार मुखियाले नमस्कार अर्चन्!” तेइ रहरले लाेकसेवाकाे फारम भरेँ । पहिलाेपटक कस्ता प्रश्न आउने रहेछन् भनेर जान्न मात्रै परीक्षामा बस्न मन थियाे ।

बाकै सल्लाहमा, खरदार बन्ने इच्छाका साथ केही समयअघि लाेकसेवा अायाेगकाे प्रशासनतर्फकाे परीक्षामा सामेल भएकाे थिएँ । उक्त परीक्षाकाे प्रश्नपत्रमा पहिलाे प्रश्न यस्ताे थियाे –

१) बृहस्पति ग्रहका कति वटा उपग्रह छन् ?

म झुक्किएँ । साताे गयाे । खरिदार बन्ने भनेर परीक्षा दिन अाएकाे मान्छे भूलवश इन्जिनियरिङ सेवाकाे परीक्षामा त छिरिनँ ? या नेपाल सरकारले निजामतीतर्फ ज्याेतिष सेवा गठन त गरेन ? भन्ने भाउन्न भयाे । उहिले हजुरबाले “ब्रह्मा-मुरारी त्रिपुरान्तकारी…… भनेर भट्भट्याउँदा बृहस्पतिकाे नाम सुनिथ्याे !!

कमेजका बाहुलाले पसिना पुछेँ । कता गाविस सचिव बनेर नागरिकताकाे सिफारिसपत्रमा हस्ताक्षर ठाेक्ने रहर कता खगाेल-भूगाेलका प्रश्न !

श्रीमान् ! बृहस्पतिका उपग्रह ३० भए पनि ३०० भए पनि खरदारलाई के फरक पर्छ र ? कि उपग्रह कति छन् भनेर मिलायाे भने मात्रै प्रमाणपत्रमा सचिवकाे हस्ताक्षर देखिने नत्र बृहस्पति ग्रह रिसाएर हस्ताक्षरै अदृश्य बनाउने हुन् कि ? याे भूस भरिएकाे दिमागमा याे कुराे अहिलेसम्म छिर्न सकेकाे छैन !

प्रश्नपत्र बनाउने मान्छे झुक्कियाे हाेला, ठीकै छ अर्काे प्रश्नकाे उत्तर दिन्छु भनेर हेरेँ –

२) पानीभित्र बसेर पानीबाहिर देख्न सक्ने प्राणी कुन हाे ?

मेराे फेरि पनि साताे गयाे । हे भगवान् ! अब कुन चाहिँ लेखाैँ ? अघिल्लाे प्रश्नमा खतरा अाकाशबाटमात्रै थियाे, यहाँ त खतरा जलबाट पनि !

अब माछाे भनेर जवाफ लेखाैँ, भाेलि फ्याट्ट आधीँखाेलामा नुहाउन गएकाे बेला किनारमा कपडा फुकाल्दै गर्दा पानीभित्रबाट सर्पले आएर कुठाउँमा ढुङिदेला र भन्ला – देखिस् खञ्चरी ! मैले पनि पानीभित्र बसेर बाहिर देख्छु नि !

या त, सर्प भनेर लेखाैँला र फ्याट्ट खरदारमा नाम ननिस्केकाे झाेँकमा ग्रहण नुहाउन देउघाट जाँदा नारायणी नदीबाट गाेही निस्केर झ्याप्प मेराे खुट्टाे तान्ला ! म त लङ्गडाे !!

न जागीर न खुट्टाे, म त लावारिस हुन्छु नि ! जलबाट उत्पन्न हुने खतरा पनि भयानक लाग्याे श्रीमान् मलाई !

प्रश्न १,२ छाेडेर म अगाडि बढेँ ।

३) पृथ्वीनारायण शाहका श्रीमती कतिवटी थिए ?

ए भगवान् ! के दशा आइलागें ? अघिसम्म आकाश र जलबाट खतरा थियाे थियाे, अब खतरा जमिनबाटै देखियाे ।

मैले पृथ्वीनारायण शाहकाे चित्र सम्झेँ । बाक्ला अरिमुठे जुङ्गा । एउटा हात तलवारमा राखेर अर्को हातकाे औला  ठड्याइरहेका ! लाग्याे – मलाई पख भनेर देखाएका छन् । हातमा भएकाे तलवार निकालेर नचाए भने म त स्वस्थानीमा वीरभद्रले टाउकाे छिनाएकाे दक्षप्रजापति जस्ताे हुन्छु । तै बीसेक, उनकाे टाउकाे त महादेवले जाेडिदिएथे, मेराे टाउकाे कसले जाेडिदिने ?

अर्को कुरा, एउटी केटी पट्याउन नसकेर, “गतिलाले छाेरी देला कि” भन्ने आशामा लाेकसेवा दिन लागेको म, स्वास्नीकाे कुरा निकालेर मेराे घाउमा नुनखुर्सानी छरिदिन त भए नि !!

Image may contain: 1 person
चिरञ्जीवी ढकाल

महाेदय !
पृथ्वीनारायणका स्वास्नी चाहे ३ जना हाेउन्, चाहे ३०० जना हाेउन् ! त्यसले खरदारकाे काममा के फरक पार्छ र ? पृथ्वीनारायण शाहका श्रीमती ३ वटी थिए भनेर मिलाउने खरदारकाे कासमू (कार्यसम्पादन मूल्यांकन) गर्न पृथ्वीनारायण त आउँदैनन् पक्कै ! या त मैले जवाफमा “३ वटी थिए” भनेर लेखाैँला, भनेलि ल्याइते ब्याइते रखाैटी चखाैटी अादि इत्यादि गरेर ३०० स्वास्नी रहेछन् भने त अन्याय हुने भयाे नि ! भाेलि महिला हिंसाकाे आरोपमा कृष्ण महराकाे ताल बनाइदिए भने त हाम्रा बा त भीरबाट हाम फाल्छन् ! सभामुख त सुरक्षित नभएको याे देशमा, म नाथे निमुख ! के टिकुँला ?

एवं रीतले प्रश्न हेर्दै गएँ । कतै छादेर मरेकाकाे इतिहास, कतै पादेर मरेकाकाे इतिहास । कतै रण्डी रिझाएकाे अाराेपमा तलेजु भवानीकाे मन्दिरमा राजा काटिए रे, कतै चण्डी रिझाउन नसकेर, तन्त्र बिग्रेर राजा मरे रे । कतै फ्रान्सकाे क्रान्ति रे कतै रानी पाेइला जान्थी रे !
मैले भेउ पाइनँ । कुकुरका ज्यानमा घुसेकाे उपियाँ जस्ताे भएँ । कता पङ्ख कता शङ्ख ? कता विष्णु कता सिस्नु ?

यस्ता अनेकाैँ जघन्य प्रश्नहरूकाे जवाफ दिन सक्ने खुबी मसँग रहेन श्रीमान् ! यी घनघाेर घटाटाेप प्रश्नहरु जानेर या नजानेर सरकारी जागिरेलाई कुनै फरक पर्दैन !

त्यसैले बृहस्पतिका प्रश्न, खगाेल भूगाेलका प्रश्न इन्जिनियरिङ सेवामा लड्नेलाई साेधियाेस्, नास्पतिका प्रश्न कृषि समूहका परीक्षार्थीलाई साेधियाेस्, सर्पकाे नाक र भ्यागुताकाे चाक चाहिँ भेटेरीनरी सेवाका परीक्षार्थीलाई देखाउनु ! खरदारलाई प्रशासनका प्रश्न साेध्नु, मास्टरलाई शिक्षाका प्रश्न साेध्नु !!

अतः,
जाे प्राणी जुन सेवामा जागिर खान चाहन्छ, त्यसलाई त्यही सेवासम्बन्धी मात्रै प्रश्न साेध्ने वातावरण मिलाइयाेस्, बृहस्पति शनि राहु जस्ता नवग्रहकाे चक्करमा या माछा भ्यागुताकाे लक्करमा हामीलाई नघुसाइयाेस्, पाठ्यक्रम परिवर्तन गरिपाउँ ! नेपालीका शरीरमा ग्यास्ट्रिक रहेसम्म लाेकसेवा रहाेस्, लाेकसेवा आयोग चिरञ्जीवी हाेस् भन्ने मङ्गलकामनाका साथ याे निवेदन पेश गरेकाे छु !

हजुरकाे जाे मर्जी !!

भवदीय –
लाेकसेवा पीडित एक स्याङ्जाली !

LEAVE A REPLY