सातामा दुई दिन सार्वजानिक विदा दिने गृहको प्रस्ताव अस्वीकृत

हप्तामा दुई दिन सरकारी विदा दिने प्रस्तावले फेल खाएको छ । सातामा दुई दिन अर्थात शनिवार र आइतबार सार्वजानिक विदा दिने गृहको प्रस्ताव अस्वीकृत भएको हो । गत साता गृहमन्त्रालयले लगेको प्रस्तावलाई गृहमन्त्रीकै अध्यक्षताको बैठकले रद्द गरेको हो । मन्त्रिपरिषद्अन्तर्गत सामाजिक समितिको सोमबार बिहान सम्पन्न बैठकमा गृहले वर्षभरिको विवरण पेश गर्ने क्रममा साताको दुई दिन सार्वजनिक बिदा दिइनुपर्ने कुरा उल्लेख थियो । जसलाई गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको समितिको बैठकले अस्वीकृत गरिदिएको हो । करिव पाँच वर्ष अभ्यास भएर व्यवहारिक नहुने भनी खारेजसमेत भइसकेको व्यवस्था फेरि लागु गर्ने कोशिसले फेल खाएको छ ।
०५८ असोज १८ मा शेरबहादुर देउवा ‘अक्षम’ घोषित भई अपदस्थ भएपछि प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्दको सरकारले लागु गरेको दुईदिने छुट्टी ०६३ मा लोकतन्त्र बहालीसँगै रुपान्तरित प्रतिनिधिसभाको पहिलो बैठकले खारेज गरिदिएको थियो । उक्त बैठकले ‘सबै शाहीकालीन आदेश र व्यवस्था खारेज गरिनेछ’ भनी राखेको प्रस्ताव ध्वनीमतले पारित गरेसँगै त्यही कालखण्डमा लागु भएको मोटरसाइकलपछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने व्यवस्था पनि खारेजीमा परेको हो ।
मन्त्रिपरिषद्ले चैत पहिलो साताभित्र अर्को वर्षको बिदा, पर्वबारे निर्णय गरिसक्नुपर्ने र त्यसअनुसार सरकारी र गैरसरकारी क्यालेण्डर बनाउनुपर्ने कारण उक्त बैठक बसेको थियो । गृहले भने पुसमै प्रस्ताव तयार पारेर मन्त्रिपरिषद् सचिवालयमा दर्ता गराएको थियो । अहिले स्थानीय पर्वहरुमा स्थानीय तहले नै बिदा दिने भएपछि सबै बिदा केन्द्रबाटै तोक्न आवश्यक नहुने कुरा बैठकमा उठ्यो । यसचोटि चालु वर्षमा जति बिदा, पर्व थिए, उति नै कायम गरिएको छ । यसमध्ये सबभन्दा कम बिदा भयो भनिएको दशैं छुट्टी फेरि पनि पाँच दिनमै रहने भएको छ ।

LEAVE A REPLY