स्रोत–साधनको अभावका बाबजुद हामी जसोतसो काम गरिरहेका छौं

चालु आर्थिक वर्षको गत पौष मसान्तसम्म चितवनमा १६७ वटा सवारी दुर्घटना भएको रेकर्ड छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्याङ्क अनुसार टोटल २७२ सवारी साधन संलग्न उक्त १६७ वटा दुर्घटनामा परी ७० जनाको ज्यान गयो भने २१८ जना सामान्य घाइते र १०६ जना गम्भीर घाइते भए । यसप्रकार चितवन सवारी दुर्घटनाको हिसाबले जोखिमयुक्त जिल्लामै पर्ने गर्छ । के गर्दैछ त यहाँको ट्राफिक प्रहरी ? जिल्लाको ट्राफिक व्यवस्थापनको विषयमा यहाँका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टसँग हाम्रा सहकर्मी अजय गोर्खालीले गरेको कुराकानी :

१) चितवनमा ट्राफिक व्यवस्थापनको अवस्था कस्तो रहेको छ ? तपाईंहरु कति जनशक्ति हुनुहुन्छ र दैनिक रुपमा के–कसरी ट्राफिक व्यवस्थापन गर्ने गर्नुभएको छ ?
– चितवन जिल्ला आफैंमा यो भ्यालीपछिको बढी सवारी साधनको आवागमन हुने हिसाबले बढी संवेदनशील जिल्ला हो र सवारी दुर्घटनाका हिसाबले पनि यो ठाउँचाहिँ जोखिमयुक्त स्थान हो । त्यसकारण हामीले यहाँको ट्राफिक व्यवस्थापनको लागि चितवन जिल्लामा बढ्दै गरेको सडक सञ्जाल र सडक सञ्जालसँगै थपिएका सवारी साधनहरुको चापले गर्दाखेरि अबचाहिँ यसमा अलिकति प्रविधिमैत्री तरिकाले, प्रभावकारी तरिकाले ट्राफिक व्यवस्थापन गर्नु यहाँ आवश्यक छ भन्ने हामीले महसुस गरेका छौं । र, पछिल्लो समयमा हाम्रो यो खासगरी बजार एरियामा भएका अव्यवस्थित पार्किङहरु, त्यसलाई नियन्त्रण गर्नको लागि हामीले ह्वील लक (चेन लक)लाई अलि व्यापक बनाएका छौं । दैनिक रुपमा ४०÷५० को संख्यामा सवारी साधनहरुलाई हामीले चेन लक लगाएर कारबाही गर्ने गरेका छौं । अनधिकृत रुपमा अव्यवस्थित तरिकाले पार्किङ गरेका सवारी साधनलाई कारबाहीको दायरामा ल्याएका छौं । दुईपाङ्ग्रे, चारपाङ्ग्रे सबै किसिमका सवारी साधनलाई यसरी कारबाही गरिएको अवस्था छ भने त्यसैगरी पछिल्लो दिनमा म्याजिकहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरु राख्ने, मुढा, प्लाष्टिकका चेयरहरु राखेर यात्रुहरु ओसारपसार गर्ने गरेको पाइएको हुँदा हामीले म्याजिक लगायतका सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गराउने सवारी साधनको विरुद्धमा अभियान नै चलाएर झण्डै ४००/५०० मुढाहरु र प्लाष्टिकका चेयरहरु हामीले बरामद गरेका छौं । यो पनि एउटा अभियानको रुपमा हामीले यो एक हप्तामा सिट क्षमता भन्दा बढी बोक्ने सवारी साधनहरुलाई कारबाहीमा ल्याएको अवस्था छ । त्यसैगरी जति पनि बोलेरो गाडीहरु, टाटा मोवायलहरु र ट्रकहरुमा जडित अनावश्यक लाइटहरु, जसका कारणले गर्दा विपरीत दिशाबाट आएका सवारी साधनलाई डिस्टर्ब हुने र दुईवटा सवारी साधनहरु ठोक्किएर दुर्घटना बढ्ने कारणले गर्दा त्यसलाई नियन्त्रण गर्नका लागि हामीले त्यस्ता लाइटहरु निकाल्ने कार्य पनि अभियानको रुपमा सञ्चालन गरेका छौं । पछिल्लो दुई हप्तामा ६०० सवारी साधनबाट त्यस्ता लाइटहरु निकालेर हामीले राखेका छौं । भरतपुरमा चाहिँ अर्काे कुरा के छ भने सबभन्दा हामीलाई ठूलो च्यालेन्ज भनेको यहाँ जति पनि सडक सञ्जालहरु विस्तार भएका छन्, सडक विभागको मार्फतबाट हुनुपर्ने लेन मार्किङहरु, समयमै हुनुपर्ने मर्मतहरु, फुटपाथहरु बन्नुपर्ने, रेलिङहरु हाल्नुपर्ने, लेफ्ट टर्न, राइट टर्न, यु टर्नका बोर्डहरु राख्नुपर्ने, मेडियनहरु बीचमा राख्नुपर्ने, ब्यारियलहरु राख्नुपर्ने हुन्छ तर छैन । पैदल यात्रीको सडक सुरक्षा चितवनमा महत्वपूर्ण कुरा छ । यहाँनेर पैदलयात्रीहरुलाई फुटपाथ भएका सडकहरु एकदमै कम भेटिन्छन्, नर्मल्ली चितवनका सडकमा फुटपाथ भेटिँदैनन् । जति सडक छन्, हाइवेमा पनि फुटपाथ छैनन्, एकदम कम सडकमा मात्रै फुटपाथ छ, जसका कारण पैदलयात्रीहरु बाध्य भएर सडकमा हिँड्नुपरिरहेको छ । यसले गर्दा स्पिडमा गुडेका सवारी साधनहरुबाट ठोक्किएर दुर्घटना हुने र मान्छेहरुको मृत्यु हुने संख्या पनि बढेको अवस्था छ । पछिल्लो समय पूर्वी हाइवेहरु – टिकौली जङ्गलबाट पारि पूर्वराप्तीसम्म, लोथरसम्म दुर्घटनाहरु बढी भएको अवस्था छ । त्यसकारण हामीले पछिल्लो दिनमा रात्रिकालीन संयुक्त चेकजाँच सुरक्षा योजना भनेर हालै केही दिन अघिबाट लागु गरेका छौं र रातिको समयमा चितवनका सबै हाइवेहरुमा हामीले मापसे, ओभरस्पिड, लापरवाही तरिकाले चलाएका सवारी साधनहरुलाई नियन्त्रण गर्ने गरी र त्यसमार्फत् हुने सवारी दुर्घटना न्युनीकरण गर्ने र समग्रमा चितवन जिल्लामा मासिक रुपमा जुन दरमा मान्छेको मृत्यु भइरहेको छ स्पिडका कारणले, त्यसलाई न्यूनीकरण गरेर सकिन्छ भने शून्यमै झार्ने उद्देश्यले रात्रिकालीन सुरक्षा चेकजाँचलाई कडाइ गरिएको अवस्था छ ।

२) कति जनशक्ति हुनुहुन्छ तपाईंहरु ? अन्य स्रोत–साधन र प्रविधिको अवस्था के छ ?
– ट्राफिक जनशक्तिको हिसाबले जिल्लाभरिमा हाम्रो रुजु हाजिरीचाहिँ आजको दिनमा ५५ जनाको संख्यामा हामी छौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा मात्रै कार्यरत चाहिँ हामी २८ जना मात्र छौं । अरु संख्याचाहिँ हाम्रो मातहतका युनिटहरुमा एक÷एक जना प्रतिनिधिको रुपमा खटिने र त्यहाँको सिभिल प्रहरीसँग को–अर्डिनेट गरेर चेकजाँच गर्ने हिसाबले बसेको अवस्था छ । यो संख्या जिल्लामा एकदम अपुग हो, हात्तीको मुखमा जिरा हो यो । हामी सबै ट्राफिकले म्यानुअल्ली काम गर्नुपर्ने सडकमा हामीसँग स्रोतसाधन, पूर्वाधार भनेको केही पनि छैन । न ट्राफिक लाइट छ, न सिसिटिभी छ, न लेन मार्किङहरु छ, न हामीसँग रोड फर्निचर पर्याप्त छ । त्यसका बाबजुुद पनि हामी ट्राफिकले म्यानुअल्ली आफैं रोडमा खटिएर, म्याजिक लाइट र चेकिङ बोर्ड राखेर चेक गरेर, अनि त्यसपछि आफैं सडकमा उभिएर कारबाही गरेर, त्यसरी हामीले काम गरिरहेका छौं । एकदमै म्यानुअल छ, स्रोत–साधन प्रविधि भन्ने कुरा हामीसँग छैन । चेकिङ बोर्डहरु छैन, म्याजिक लाइटहरु छैन, ब्रेथ एनालाइजर, ड्रग एनालाइजरहरु छैन, गोप्रो क्यामरा, सर्भिलेन्स क्यामराहरु, स्पिड कन्ट्रोल गर्नको लागि राडारगन, लेजर गनहरु आएको छ त्यस्ता उपकरणहरु पनि हामीसँग अभाव छ । सामान्य ट्राफिकले लाउने फ्लोरोसेन्ट ज्याकेट, रेन कोटहरु, गम बुटहरु, पानी बुटहरु त्यस्ता पनि अभाव छन् । सामान्य स्रोत–साधन पनि हामीसित छैन । तथापि जसोतसो काम गरिरहेका छौं ।

३) यसको व्यवस्थापन गरिदिनुपर्ने होइन र माथिल्लो निकायले ?

– यो गरिदिनुपर्ने हो । अब यसमा ट्राफिक व्यवस्थापन, सडक व्यवस्थापन भनेको ट्राफिकको एक्लो जिम्मेवारी होइन । यसमा ट्राफिक प्रहरीले गर्नुपर्ने एउटा भूमिका छ, सडक विभागले गर्नुपर्ने अर्काे भूमिका छ, यातायात व्यवस्था कार्यालयले परमिटहरुमा गर्नुपर्र्ने उसको एउटा भूमिका छ, त्यसैगरी खानेपानी, ढल, विद्युत, दूसञ्चार–सबैको आ–आफ्नो रोलहरु छन्, तर जति हामी ट्राफिकले एकदमै दिलचस्पी दिएर काम गरिरहेका छौं, त्यति सबै निकायबाट नभइरहेको अवस्थाले गर्दा पनि अलिकति जटिलता छ ।
४) चितवन जिल्लामा दैनिक कतिजति सवारी गुड्छन् र सबैभन्दा बढी सवारीको चाप पर्ने ठाउँ कुन–कुन छ ?
– चितवनमा ठ्याक्कै आँकडा त हामीले लिएका छैनौं तथापि दैनिक रुपमा ६÷७ हजारको संख्यामा हाम्रो हाइवे हुँदै सवारी साधनहरु गुड्छन् । त्यो भन्दा अझै बेसी गुड्छन् जस्तो लाग्छ मलाई । र, बढी बिजी भनेको हाम्रो हाइवेचाहिँ पूर्व–पश्चिम हाइवे नै भयो लोथरदेखि नारायणगढसम्म । अनि त्यस्तैगरी नारायणगढ– मुग्लिन सडक खण्ड र उता पृथ्वी हाइवे (मुग्लिनदेखि मौवा खोलासम्म) – तीनवटा सडक खण्ड छ हाम्रो । यी सबै हाइवे भएको कारणले सवारी चाप त सबै ठाउँमा छ । बेसीचाहिँ लोथरदेखि भरतपुरसम्म बिजी छ । किनभने जनघनत्व र सवारी साधनको चापले गर्दा बढी व्यस्त चाहिँ यहीँ छ ।


५) चितवनको सडकको अवस्था कस्तो छ ? जोखिमपूर्ण सडक कहाँ–कहाँ छन् ?
– सडक त जोखिमपूर्ण छन् । हाइवे भएको कारणले धेरै जोखिमपूर्ण सडक छन् । हाइवेको सडक आफैंमा साँघुरो छ । सडक किनाराहरुमा सडक बत्तीहरु छैन, क्याट आईहरु छैन, यसले गर्दा समस्या छ । जोखिमपूर्ण सडक भनेको जस्तो अहिले दुर्घटनाको हिसाबले हेर्दा टिकौलीदेखि लोथरसम्मको सडक खण्ड जोखिमपूर्ण छ । आँपटारीदेखि रामनगरको जङ्गल क्षेत्रपनि बढी दुर्घटना हुने स्थान हो । त्यसैगरी भरतपुरका भित्री सडक खण्डहरुमा पनि दुर्घटना भएर थुप्रै मान्छेहरुको ज्यान गएको छ । यहाँका सडकहरुमा सुरक्षामैत्री पूर्वाधारहरु जोडिएका छैनन् ।
६) अनि बाइपास रोडलाई पनि ज्यानमारा सडक भनिएको थियो नि ?
– बाइपास रोडचाहिँ अहिले कन्स्ट्रक्सनको फेजमा छ, लेन विस्तारको क्रममा छ । दुई लेनको सडकलाई चार लेनको बनाइँदैछ । अहिले फुटपाथहरु बनाउने काम भइरा’छ । निकट भविष्यमै यो त बन्छ, यो बनेपछि त सहजै हुन्छ हामीलाई ।
७) सडक दुर्घटना बढी हुने जिल्लामा चितवन कति औं स्थानमा पर्ला ? यहाँ महिनामा सरदर कति जति सवारी दुर्घटना हुने गरेको छ ?
– महिनामा १५÷२० वटा दुर्घटनाहरु हुने गरेका छन् । १५ देखि २० वटा दुर्घटनामा सरदर ११ देखि १२ जना मान्छेहरुको ज्यान जाने गरेको छ भने ३० देखि ४० को संख्यामा घाइतेहरु हुन्छन् । देशभरिमा चितवन दुर्घटनामा कतिऔं स्थानमा पर्छ भन्ने ठ्याक्कै त मलाई थाहा भएन तर भ्यालीपछि बढी दुर्घटना हुने जिल्लाहरुमा चितवन पनि पर्छ ।
८) यहाँ सवारी दुर्घटनाको मुख्य कारण के देखिएको छ ?
– सवारी दुर्घटनाको मुख्य कारण भनेको चाहिँ खासगरी मापसे गरेर सवारी चलाउने, तीव्र गतिमा चलाउने, त्यसैगरी रातिको समयमा सडकका अवस्थाका कारण पनि– साँघुरो सडक, सडक बत्तीहरु नभएको कारणले अँध्यारो हुने, सडक किनारहरु प्रस्टसँग नचिनिने, चालक आफैंले पनि लापरबाही गरेर चलाउने, ओभरस्पिडमा चलाउने ती कारणहरुले बढी दुर्घटनाहरु भा’को छ । ओभरलोडका कारणले पनि दुर्घटना भा’को छ ।
९) सवारी दुर्घटना न्यूनीकरणका लागि तपाईंहरुबाट के–कस्ता प्रयास भएका छन् त ?
– पछिल्लो छ महिनाको दुर्घटना तथ्याङ्कलाई एकदमै सूक्ष्म तरिकाले विश्लेषण गरेर अब यसमा चाहिँ कस्ता खाले सवारी साधन संलग्न छन् ? कुन समयमा दुर्घटना बढेको छ ? दुर्घटनाको कारण के छ ? यी सबै कुराको प्याटर्न एनालाइसिस गरेर हेर्दाखेरि बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म दुर्घटना बढी भएको देखियो र त्यो दुर्घटनामा मान्छेको ज्यान गएको–टाइम फ्रेम चाहिँ यस्तो देखिएपछि अहिले हामीले बेलुकीको रात्रिकालीन चेकिङ सुरक्षा योजना भनेर विशेष योजना लागू गरेर रातभरि हाइवेमा चेकिङ गर्ने, सवारी साधनहरुलाई चाहिँ सम्झाइ बुझाइ पनि गरेर रातिको समयमा र लामो दूरीमा चलेका प्यासेन्जर बसहरुमा अनिवार्य दुईवटा चालकको व्यवस्था गर्ने नियम बमोजिम त्यसलाई पनि कडाइका साथ पालना गराउने । मापसे गरेका, ओभरस्पिडका सवारी साधनहरुलाई नियन्त्रणमा लिने तरिकाले अहिले प्रत्येक दुई घण्टामा दुईवटा हाइवेमा एक–एक ठाउँमा चेकिङ हुन्छ र रोटेसनमा प्रत्येक युनिटले रातैभरि हाइवेमा सुरक्षा चेकजाँच गर्ने हिसाबले दुर्घटना न्यूनीकरणका लागि त्यो योजना अगाडि सारेका छौं भने अघि मैले भनिसकें सिट क्षमता भन्दा बढी बोक्या कारणले पनि दुर्घटना भएकोले त्यसलाई नियन्त्रण गरेका छौं । लाइटहरु अनावश्यक राख्या कारणले पनि दुर्घटना भएकोले त्यसलाई नियन्त्रण ग¥या छौं । र, जथाभाबी पार्किङ ग¥या कारणले, सडकमा चाहिँ यान्त्रिक गडबडी भएर दुर्घटना हुने कारणले पनि हामीले समयमै सचेत गराउने हिसाबले काम गरिरहेका छौं ।
१०) सडक दुर्घटनाबाट बच्न र बचाउन ध्यान दिनुपर्ने कुराहरु के–के हुन सक्छन् ?
– सामान्य भन्दा सामान्य कुराहरुलाई पनि हामीले बेवास्ता गरिरहेका हुन्छौं । जस्तो ट्राफिक नियम महत्वपूर्ण कुरा हो, यसलाई पालना गरिदियौं भनेदेखि पहिलो कुरा एक्सिडेन्ट आफैं कन्ट्रोल हुन्छ । सामान्य चालकको लापरबाहीले– जस्तो मापसे गरेर चलाउने, ओभरस्पिडमा चलाउने, बाइकमा तीनजना राखेर हिँड्दिने, चोक–जक्सनहरुमा तीव्र गतिमा जाने र नरोकिने, ब्लाइन्ड स्पटहरुमा त्यसको ख्याल नगरिकन चलाइदिने । अनि चालकहरुको थकानका कारणले लामो दूरीमा एउटैले सवारी साधन चलाउँदा पनि त्यसले दुर्घटना निम्तिने र रोड परमिट नभएका ठाउँहरुमा, भित्री इलाकाहरुमा सडकका अवस्था राम्रो नभएका ठाउँहरुमा सवारी साधन लिएर गएर चलाइदिने, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका मान्छेले सवारी चलाउँदा पनि दुर्घटना भएको छ, यी यस्ता काम कसैले नगरिदिने हो भने ट्राफिक नियमलाई प्रोपर्ली मेरो सुरक्षाको लागि हो, यसलाई पालना गर्दा म आफैं सुरक्षित हुन्छु र सबै अन्य मान्छेको पनि चाहिँ सुरक्षालाई ख्याल गर्नुपर्छ भनेर जिम्मेवार र ट्राफिक नियमप्रति प्रतिबद्ध चालकको भूमिका सबैले निर्वाह गरिदिने हो भने अवश्य पनि दुर्घटना कम हुन्छ ।
११) ट्राफिक कारबाहीबाट चालु आर्थिक वर्षको गत पुषसम्म कति राजश्व संकलन भयो त ?
– चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा चाहिँ हामीले टोटल १८ हजार २७२ सवारी साधनहरुलाई कारबाहीको दायरामा ल्यायौं भने त्यसबाट टोटल एक करोड ३७ लाख १५ हजार ५०० रुपैयाँ राजश्व नेपाल सरकारको खातामा जम्मा भएको अवस्था छ ।
१२) मापसे गरेर सवारी चलाउनेहरुमाथि अब मुद्दा नै चल्ने र हिरासत तथा जेलमै जानुपर्ने कानुन बन्दैछ क्यार,  यसबारे प्रस्ट्याइदिनुहोस् न 
– पहिला एकपटक मापसे गरेर सवारी चलाउने सार्वजनिक सवारीका चालकहरुलाई मुद्दा चलाउनेसम्मको प्रक्रिया थियो । बीचमा फेरि त्यो कुराहरु नभएर अहिले चाहिँ हामीले मापसे गरेर सवारी चलाउने चालकलाई सामान्य हिसाबले नियन्त्रणमा लिने, उसको लाइसेन्स बिलबुकबाट उसलाई जरिवाना गराउने, त्यसपछि एक घण्टाको सचेतना क्लास लिन लाउने र उसलाई सम्बन्धित आफ्नो आफन्तको जिम्मा लगाएर पठाउने गरिराछौं । अहिले त्यसरी नियन्त्रणमा लिएर मुद्दा चलाउने, थुन्ने प्रक्रिया छैन । तर त्यो कुराचाहिँ चलिरहेको छ । अब यसमा स्पष्ट कुनै निर्देशन भएर आयो भने हामी गरिहाल्छौं ।
१३) त्यो भइदिए राम्रो हुन्छ कि के ?
– त्यो भइदिए राम्रो हुन्छ भन्दा पनि मान्छे सबै सचेत भइदिए, सबैजना जिम्मेवार भइदिने हो भने नियम कानुन पनि चाहिँदैन खासमा । तर यहाँचाहिँ मान्छेलाई बाध्य भएर पनि नियम–कानुन लाद्नुपर्ने अवस्था छ । किनभने मान्छेले सहजै नियमकानुनको पालना गरेको नेपालमा भेटिँदैन । ट्राफिक नियम त झन् एकदमै बेवास्ताको विषय बनेको छ मान्छेहरुको लागि । यो के पालना गर्नुप¥यो र यस्तो जाबो कुरा भन्ने गरेको पाइन्छ । ट्राफिक देख्दाचाहिँ थर्थरी काँपेर पालना गर्ने तर नदेख्दा खेरि जे गरे नि हुन्छ भन्ने त्यस्तो खाले मानसिकताले पनि असर गरेको छ । त्यसकारणले सार्वजनिक सवारी चालकको हकमा चाहिँ मापसे गरेको छ भने त्यसलाई अनिवार्य रुपमा नियन्त्रणमा लिएर सार्वजनिक रुपमा मुद्दा चलाएर, अभद्रमा मुद्दा चलाएर केही नभएपनि ५ दिन, ७ दिन थुनामा राख्न सक्यो भने अर्काेचोटि देखि म यो गर्दिनँ भन्ने खालको पाठ सिक्छ । त्यति गर्न सकियो भने त्यो चाहिँ राम्रै हुन्छ । किनभने सार्वजनिक सवारी चालकको ठूलो जिम्मेवारी हुन्छ । उसले धेरै संख्यामा यात्रुहरु बोकर हिँडेको हुन्छ र उसले मापसे गरेर चलायो भने त्यसले धेरै जनाको लागि रिस्क हुन्छ । त्यसकारण त्यस्ता कुराहरुलाई निरुत्साहित गर्नको लागि चाहिँ सार्वजनिक सवारी चालकमा मापसे गरेका चालकलाई नियन्त्रणमा लिएर अभद्र कसुरमा उसलाई मुद्दा चलाउने प्रक्रिया अगाडि बढ्यो भने त्यो चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here