पर्यटन बर्ष : जाने होइन त मुक्तिनाथ घुम्न ?

दृष्टि तिमिल्सीना

हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् । यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ । मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । पोखराबाट हिँडेको ७ देखि १० दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ ।

खासगरी मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । हामी काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । धार्मिक हिसावले मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ । तातो पानीमा नुहाउन धेरै नेपाली तथा विदेशीहरु पुग्ने गर्छन् । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ । धार्मिक हिसावले समेत यो प्रशिद्ध मानिन्छ । मुक्तिनाथ ट्रेकिङको प्रवेशद्वार मानिने म्याग्दीको तातोपानी कुण्ड । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको नुहाउन घुइँचो लाग्ने गर्छ ।
पहिलो दिन तातो पानी पुगेर बास बस्न सकिन्छ । भोलि विहान उठेर तातो पानीमा नुहाएर घाँसा बास बस्न पुगिन्छ । घाँसा तातोपानीबाट ४र५ घण्टाको यात्रा हो । हामीले घाँसामा रात विताउनुपर्छ ।
तेस्रो दिन घाँसाबाट ६र७ घण्टा हिँडेर मार्फा गाउँ पुगिन्छ । यो अत्यन्तै सुन्दर गाउँ हो, जहाँ लोडसेडिङ पनि हुँदैन । यहाँ लोकल हाइड्रो पावरबाट विद्युत उत्पादन गरिएको छ । मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँ पनि हो ।मार्फामा खान बस्नका लागि कुनै समस्या छैन । यहाँ खान बस्नका लागि सामान्य होटलदेखि स्तरीय लजहरु समेत रहेका छन् । यहाँका होटलमा अट्याच बाथरुम सहित तातो/चिसो पानी समेत पाइन्छ ।

चौथो दिन विहान हामी मार्फाबाट हिँडेर बास बस्न कागवेनी पुगिन्छ । कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरु हुने सोह्र श्राद्ध गर्न जानेहरु धेरै हुन्छन् । कालिगण्डकी किनारमा रहेको कागवेनीमा स्वदेशी विदेशी पर्यटक मज्जाले रमाउन सक्छन् । पाँचौं दिन कागवेनीबाट मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । यो ५/६ घण्टाको बाटो हो । यहाँ पुग्दा छुट्टै विश्वमा पुगेको अनुभूति हुन्छ । मुक्तिनाथ अन्नपूर्ण सर्किटमा पर्छ । अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो ।

पौराणिकता
मुक्तिनाथ १०८ दिव्‍य देशहरूमा एक स्थान हो । यो ‘दिव्‍य देश’वैष्‍णवहरूको पवित्र मन्दिर हो । पारम्परिक रूपमा भगवान विष्‍णुको शालिग्राम शिलाको रूपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्‍मबाट भएको थियो, जो मुख्‍यतस् टेथिस सागरमा पाइन्थे । जहाँ टेथिस सागर अवस्थित थियो त्यहाँ अब हिमालय पर्वत छ । पौराणिक मान्‍यताहरूका अनुसार शालिग्राम शिलामा विष्‍णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाका अनुसार जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान विष्‍णुले उनको मद्दत गरेका थिए । कथाहरूमा भनिएको छ कि जबसम्म असुर जालन्धरकी पत्‍नी वृन्दाले आफ्नो सतीत्‍व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैन थ्यो । यो अवस्थामा भगवान विष्‍णुले जालन्धरके रूप धारण गरेर वृन्दाको सतीत्‍वलाई नष्‍ट गर्ने काममा सफल भएका थिए । जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसकेका थिए । यसैले वृन्दाले भगवान विष्‍णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्‍यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्‍वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्‍य हुन् ति विष्णुले भगवान शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । पुराना दंतेकथाहरूका अनुसार मुक्तिक्षेत्र त्यस्तो स्‍थानहो जहाँ मोक्षको प्राप्ति हुन्छ । यसै स्थानमा भगवान विष्‍णु शालिग्राम शिलामा निवास गर्दछन् । मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूका लागी पनि एक महत्‍वपूर्ण स्‍थान हो । यसै ठाउँको बाटो भएर उत्‍तरी/पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार/प्रसारका लागी तिब्‍बत गएका थिए । वि। सं। २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गंगाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातीमा पनि पुरै गंगाको तट दिनको उज्यालो झैं झिलिमिली देखिएको थियो र शहर भरी घिउको बत्ति बालेको वासना फैलिएको थियो । नभन्दै मुक्तिनाथको पूजापछी लामो समयसम्म चलेको गृहयुद्वबाट नेपालले मुक्ति पाएको थियो ।

LEAVE A REPLY