गैंडाकोट महोत्सवमा रसियन डान्स र लण्डन ब्रिज पनि

हरेक दुई–दुई वर्षको अन्तरालमा पूर्वीनवलपरासीमा आयोजना हुँदै आएको गैंडाकोट महोत्सव फेरि हाम्रो नजिक आइसकेको छ । तेस्रो संस्करणको रुपमा गैंडाकोट महोत्सव–२०७६ यही माघ १५ देखि २६ गतेसम्म सञ्चालन हुँदैछ, नारायणी पुलछेउ उही नारायणी नदी किनारमा । अब गैंडाकोटको मात्रै गौरव रहेन गैंडाकोट महोत्सव, सम्पूर्ण नवलपुर जिल्ला (नवलपरासी–बर्दघाट सुस्तापूर्व) कै उत्सवको रुपमा सञ्चालित हुँदैछ । जिल्ला टुक्रिसकेपछिको पहिलो महोत्सव हुनाले पनि यसपटक अझ विशेष गर्न लागिएको छ । प्रस्तुत छ, आयोजक उद्योग वाणिज्य संघ–नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अध्यक्ष एवम् महोत्सव मूल आयोजक समिति संयोजक अमृत भट्टचनसँग हाम्रा सहकर्मी अजय गोर्खालीले गरेको कुराकानी :-

१) कुनै पनि कार्यक्रमको निश्चित उद्देश्य त हुन्छ नै । गैंडाकोट महोत्सवको उद्देश्य बताइदिनुहोस् न ?
– हाम्रो माघ १५ देखि २६ गतेसम्म हुन गइरहेको तेस्रो गैंडाकोट महोत्सवको मूल उद्देश्य भनेकै यो गैंडाकोटको आफ्नो पहिचान हो । जिल्ला टुक्रिसकेपछि जिल्ला उद्योग वाणिज्य संघको पहिलो महोत्सव हो यो । समग्रमा यो नवलपुर (नवलपरासी–बर्दघाट सुस्तापूर्व) कै पहिचानको रुपमा स्थापित हुँदैछ । दोस्रो कुरा स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्ने, यहाँका उद्योगहरुको प्रवद्र्धन गर्ने हेतुले यो महोत्सव आयोजना गर्ने गरिएको हो । यहाँका कला र संस्कृतिको जर्गेना गर्नु पनि यसको अर्को उद्देश्य हो ।
२) यसपटकको महोत्सवमा नयाँ के छ ?
– तपाईंलाई आज मैले भन्नैपर्छ, हेर्नुस्, मेला–महोत्सव भनेको हाम्रो महासंघको यो एउटा सिजनको बेला हो, हाम्रो चाडको बेला हो । जहाँ पनि मेला–महोत्सव यही टाइममा हुने गर्छ । मेला महोत्सव लगभग लगभग एउटै एउटै हो । त्यसलाई व्यवस्थापन कसरी गर्ने ? सिस्टम कसरी बनाउने भन्ने मात्र हाम्रो मिसन हो । यो पालि चाहिँ हामीले व्यवस्थापनलाई अलि बढी ध्यान दिएका छौं । पहिलो र दोस्रो महोत्सवको अनुभवबाट यसलाई कसरी व्यवस्थित र सिस्टोमिक गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । हाम्रो नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई र यहाँका उत्पादनहरुलाई प्रवद्र्धन गर्ने, बजारीकरण गर्ने हाम्रो मुख्य उद्देश्य हो । यो पालि हामीले नृत्यकला प्रतियोगिता, जुन चितवन र नवलपरासी जिल्ला र छिमेकी जिल्लाहरुलाई लक्षित गरी आयोजना गर्दैछौं, त्यसको लागि निश्चित धनराशि पनि पुरस्कार बनाएका छौं । र, यसको मुख्य आकर्षण भनेको रसियन कलाकारहरु पनि हुन्छन् महोत्सवमा । त्यसमाथि पनि हामीले अहिले मुख्य प्रवेशद्वारमा ठूल्ठूलो गेटहरु बनाउँदैछौं– लण्डन ब्रिज गेटहरु । रसियन कलाकारहरुको प्रस्तुति महोत्सव अवधिभर हरेक दिन हुन्छ । नृत्य प्रतियोगितामा चितवन, नवलपरासी र छिमेकी जिल्लाका बालबालिकाहरुले नृत्य प्रतियोगिता गर्नुहुन्छ, त्यो पनि हाम्रो हरेक दिन हुन्छ ।


३) सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहँदा गैंडाकोट महोत्सव पनि त्यसको एउटा हिस्सा हुन सक्छ । पर्यटन प्रवद्र्धन अन्तर्गत के–कस्ता कार्यक्रम रहेका छन् ?
– निश्चित रुपमा नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष भनेर अगाडि बढेको यसावस्थामा यो महोत्सवले पनि त्यसलाई प्रवद्र्धन गर्छ भन्ने मैले विश्वास लिएको छु । हाम्रो महोत्सवको मुख्य नारा नै भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्ने पनि हो । २०२० लाई सफल बनाउनलाई हाम्रो हुँदै गरेको तेस्रो गैंडाकोट महोत्सवले आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने नै छ । त्यसमा पनि नवलपरासी एउटा धार्मिक संगमस्थलको रुपमा मानिने गर्छ ।
४) यो पटक महोत्सवमा कति आगन्तुक भित्रिने अपेक्षा गर्नुभएको छ ?
– पहिलो र दोस्रो महोत्सवमा लाख/एकलाख २० हजारको हाराहारीमा थिए भने अहिले फरक हिसाबले व्यवस्थापन गरेको अवस्थामा नृत्यकला प्रतियोगिता पनि छ, सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि मध्यनजर गरेर एभीन्युज टेलिभिजनबाट लाइभ तीन घण्टा आर्थिक सम्वाद भन्ने कार्यक्रम प्रसारण गर्दैछौं । निश्चित रुपमा त्यसले पनि हामीलाई, यो महोत्सवलाई सफल बनाउँछ भन्ने मैले बुझेको छु । यो पालि लगभग डेढदेखि दुई लाखको हाराहारीमा अवलोकनकर्ता आउँछन् भन्ने मैले आशा राखेको छु ।
५) यो महोत्सवमा कति जति आर्थिक कारोबार होला ?
– आर्थिक कारोबार निश्चित रुपमा पहिलो र दोस्रोको अनुभवको हिसाबले मैले भन्नुपर्दा लगभग यहाँको स्थानीय उत्पादनहरु, होटलहरु, बाल उद्यानहरु आदिले गर्दा मोटामोटी चारदेखि पाँच करोडको हाराहारीमा व्यवसाय हुन्छ भन्ने लागेको छु ।
६) महोत्सवको खर्च र आम्दानी के कति होला ?
– खर्च त लगभग लगभग हाम्रो अहिलेसम्म हेर्दाखेरि डेढ करोड जति हुन्छ भन्ने अन्दाज गरिएको छ । आम्दानीचाहिँ लगभग लगभग यो वर्ष केही नभएपनि ५० लाख जति बचाउन सकिन्छ कि भन्ने हाम्रो अनुमान छ ।
७) महोत्सवबाट भएको आम्दानी के गर्नुहुन्छ ?
– हाम्रो उद्योग वाणिज्य संघ एउटा व्यवसायिक अर्गनाइजेशन हो तर व्यवसायिक अर्गनाइजेशन मात्र नभएर हामीले सामाजिक उत्तरदायित्व बोकेर धेरै कामहरु गरेका छौं । जस्तै त्यही प्रदर्शनी स्थलमा, जुन हाम्रो मेला–महोत्सव हुन्छ, त्यहाँ पनि १४ लाख रुपैयाँ खर्चेर उद्योग वाणिज्य संघले सोलार बत्ती जडान गरेको छ । त्यतिमात्र नभएर त्यहाँ शौचालयको अभाव भएको हुनाले उद्योग वाणिज्य संघको पहलमै त्यहाँ शौचालय बनेको छ । १४ लाख रुपैयाँमा ८ लाख रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ, ६ लाख हाम्रो लगानी हो । त्यस्तै अन्यमा जस्तै हामीले विभिन्न संघ–संस्थाहरुलाई पनि सहयोग गरिरहेका छौं । यो पटकको महोत्सवबाट त्यही प्रदर्शनी स्थलको स्तरोन्नति गर्ने सोच छ । तटबन्ध गर्नको लागि १५ लाख रुपैयाँ छुट्याएका छौं र केही पैसा हामी संघको भवन निर्माणमा पनि खर्च गर्छाैं ।
८) महोत्सवमा सांस्कृतिक प्रस्तुति हुन्छन् होला नि ?
– नेपालका चर्चित कलाकारहरुबाट दैनिक रुपमा १२ दिनसम्मै सांस्कृतिक कार्यक्रम हुन्छ ।
९) को–को कलाकारहरु आउँछन् त ?
– जस्तै हेमन्त शर्मा, प्रमोद खरेल, आस्था राउत । यस्तै यस्तै हो । मलाई त सबैको नामचाहिँ थाहा छैन, जेहोस्, नेपालका चर्चित कलाकारहरु चाहिँ आउँछन् ।
१०) फुड फेस्टिभल भनेर त्यस्तो केही छ कि छैन ?
– फुड फेस्टिवल भनेर छुट्टै चाहिँ छैन तर के छ भने महोत्सवमा होटलहरु हुन्छ, त्यहाँ विभिन्न जातजातिका हामीले घरहरु पनि बनाएका छौं, उहाँहरुले आफ्नो जातजातिको परिकारहरु पनि राख्नुहुन्छ, होटलहरु पनि त्यहाँ ३० वटा जति सञ्चालनका लागि स्टल बुकिङ खुलाएका छौं ।
११) प्रदर्शकहरु गैंडाकोट, नवलपरासी बाहेक अन्य कहाँ–कहाँका हुनेछन् ?
– हाम्रो छिमेकी जिल्ला चितवन, नवपरासी र हामीसँग जोडिएको तनहुँ जिल्ला सबैबाट आउँछन् भन्ने मैले आशा राखेको छु । विगतमा हामीले मोटामोटी जानकारी पाउँदा यी तीन–चारवटा जिल्लाबाट आउँछन् ।
१२) टोटल कति जति स्टल रहलान् ?
– मोटामोटी साढे चारसय वटा स्टल छ । साढे चारसय वटामा ३० वटा स्टलचाहिँ स्थानीय उत्पादन, भनौं न कृषिलाई, यहाँका बुबाआमा, दाजुभाइ र दिदीबहिनीले गर्ने उत्पादनको लागि हामीले फ्रि स्टल दिने गरेका छौं । ३० वटा स्टल चाहिँ त्यसैको लागि छुट्याएका छौं ।
१३) महोत्सव अवलोकनका लागि टिकट दर के छ ?
– टिकट दर अहिले नै फाइनल गरिसकेको अवस्था छैन । तर विद्यार्थीहरुका लागि सहुलियत गर्ने नै छौं । त्यतिमात्र नभएर हामीले ज्येष्ठ नागरिकहरुलाई पनि सहुलियत वा छुट गर्न सकिन्छ कि भन्ने हाम्रो सोच छ ।
१४) महोत्सवको उद्घाटन कसले गर्ने कार्यक्रम छ ?
– उद्घाटन हाम्रो यसै क्षेत्रका माननीय, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गर्दै हुनुहुन्छ ।
१५) अन्य अतिथिहरु ?
– अन्य अतिथि त अब यहाँका माननीयज्यूहरु पनि आउनुहुन्छ । मेयर सा’बहरु आउनुहुन्छ । चितवन जिल्लाका पनि मेयर सा’बहरु आउनुहुन्छ, माननीयज्यूहरु आउनुहुन्छ । विभिन्न पार्टीका नेताहरु, प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरु एवम् सरकारी कार्यालयका प्रमुखहरु पनि आउनुहुन्छ । उद्योग वाणिज्य महासंघका ३०÷४० जना नेताहरु निश्चय नै आउनुहुन्छ । जस्तै पूर्वअध्यक्ष चण्डीराज ढकाल, उपाध्यक्षज्यूहरु, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु गर्दा लगभग ५० जनाजतिको टोली त उहाँहरु नै आउनुहुन्छ ।
१६) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– अन्तमा तपाईंको यो अनलाइनबाट म के भन्न चाहन्छु भने हाम्रो माघ १५ गते देखि २६ गतेसम्म हुन लागेको गैंडाकोट महोत्सवलाई यस नवलपुर एवम् छिमेकी जिल्लाहरु चितवन, नवलपरासी, तनहुँ लगायत सम्पूर्ण जिल्लावासी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरुलाई म के निवेदन गर्न चाहन्छु भने यो तेस्रो गैंडाकोट महोत्सवलाई तपाईंहरु आएर अवलोकन गरिदिनुहोस् र यसलाई भव्य रुपमा सफल बनाइदिनुहोस् ।

LEAVE A REPLY