जोमसोम–कोरला सडक निर्माण ठप्प

कालिगण्डकी करिडोर सडकको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला १ सय १० किमि सडक निर्माण ठप्प भएको छ। हिमपात र ठण्डीले विगत १ महिनादेखि काम ठप्प छ। चिसो बढेकाले सडकको काम स्थगित गर्नुपरेको आयोजनाले जानकारी दिएको छ।

जोमसोम–कोरला ७ प्याकेज मध्ये ३ प्याकेज सम्पन्न भइसकेको छ। बाँकी ४ वटा प्याकेज अन्तिम चरणमा छन्। जोमसोम–कोरला ३ प्याकेज सम्पन्न भइसक्दा कुल औसत प्रगति ८५ प्रतिशत देखिएको करिडोरले जनाएको छ। उत्तरी कोरलानाकासँग सीमा जोडिएको छोसेर–कोरला २५ किमि, ताङ्बे–चैले ११ किमि र जोमसोम–ताङ्बे १८ किमि ग्राभेल सडक गरी ३ प्याकेज करिडोरलाई हस्तान्तरण भइसकेको समचार अन्नपूर्णमा छापिएको छ ।

दिवा रौटाहा एपेक्स जेभी, दिवा डाँफे एपेक्स जेभी र बज्रगुरु खड्गकृष्ण जेभीले कोरलाको ३ वटा प्याकेज तोकिएकै समयमा पूरा गरेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सम्पन्न हुन बाँकी ४ प्याकेजको काम अवधि सकिएकाले म्याद थपको प्रक्रियामा छ। हालसम्म कञ्चनजंघा लामा मोतीदानको झैते–चराङ १९ किमि सडकको काम ६८ प्रतिशत ,सप्तकोसी जलाधार कन्ट्रक्सनले पछिल्लो समय जिम्मा लिएको चराङ–छोसेर २५ किमि सडकको काम ५५ प्रतिशत र कञ्चनजंघा लामा बिरुवा जेभीकाभेना–झैते १२ किमि सडकको प्याकेज ९५ प्रतिशत सम्पन्न भएको करिडोरले जनाएको छ। उपल्लो मुस्ताङको भेना–झैते १२ किमि सडक अन्तिम चरणमा छ। सम्झौता अवधिमा सम्पन्न नभएका प्याकेजको चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभागमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजना प्रमुख अधिकारीले बताए। म्याद थप भएपछि फागुनदेखि सडकको कामले तीव्रता पाउने करिडोरको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here