पर्यटन वर्षको नाममा पर्यटन मन्त्रालयमा नांगो लुट

सन् २०२० सुरु भएसँगै नेपाल पर्यटन वर्ष सुरु भएको छ । पर्यटन वर्ष २०२० मा २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ भने पर्यटन मन्त्रालयलगायत यस मन्त्रालयसँग सम्बन्धित सरकारी निकायका उच्च पदाधिकारीहरु भने पर्यटन वर्षको नाममा नियम कानुनलाई समेत धोती लगाएर राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिराखेका छन् । पर्यटन मन्त्रालय तथा पर्यटन विकास बोर्डको काम कारबाही र गतिविधिलाई हेर्दा पर्यटन वर्ष २०२० को नाममा जस्तो अनियमितता र भ्रष्टाचार गर्न पनि उनीहरुलाई कानुनले छुट दिएको छ ।

अर्थमन्त्रालयको कार्य संचालन निर्देशिका, ०७५ अनुसार मन्त्रालयको सचिवको अध्यक्षतामा बस्ने बैठकको भत्ता दुई हजार रुपैयाँ निर्धारण भएको छ । तर पर्यटन सचिव अध्यक्ष रहेको पर्यटन विकास बोर्डको बैठकको भने प्रतिबैठक पाँच हजार रुपैयाँ सहभागीहरुले लिने गरेका छन् । र, यस्तो बैठक महिनामा कम्तीमा १४÷१५ दिन बस्ने गरेको छ । पर्यटन विकास बोर्डको यस्तो बैठक पर्यटन विकासका लागि होइन, पाँच हजार रुपैयाँ भत्ता लिनका लागि बिनाएजेन्डा बस्ने गरेको छ । यसैगरी पर्यटन प्रवद्र्धन गर्ने विभिन्न योजनाको नाममा नक्कली बिल भौचर बनाएर करोडौं रुपैयाँ गोलमाल गर्ने काम पनि पर्यटन वर्षको नाममा पर्यटन विकास बोर्डमा भई राखेको छ । पर्यटन विकास बोर्डमार्फत् पर्यटन मन्त्रालयका भ्रष्ट अधिकृतहरुले समेत यसरी गरी राखेको नांगो भ्रष्टाचारमा महालेखा परीक्षक टंकमणि शर्माको समेत भाग लाग्ने गरेको पर्यटन मन्त्रालय सूत्रले दाबी गरेको छ । पर्यटन वर्षको नाममा गरेको भ्रष्टाचार बेरुजुमा नपरोस् भनेर महालेखा परीक्षक शर्मालाई पनि भागशन्ति दिने गरेको हो भनिन्छ । यसैगरी पर्यटन वर्षको नाममा पाँचतारे होटललाई नक्कली बिलको आधारमा लाखौँ रुपैयाँ भुक्तानी गरेर त्यसबाट पनि पर्यटन मन्त्रालय र पर्यटन विकास बोर्डका पदाधिकारीहरुले कमिसन खाने गरेको सम्बन्धित सूत्रले बताएको छ ।

गत जनवरी १ तारिखमा नेपालमा पर्यटन वर्षको प्रारम्भ गरेलगत्तै पर्यटन वर्ष २०२० को प्रचार गर्न भन्दै पर्यटन मन्त्री योगेश भट्टराई अष्ट्रेलिया पुगेका थिए । अष्टे«लियामा पर्यटन वर्ष नेपालको प्रचार गर्न भनेर दलबलसहित सडकमा उत्रँदा त्यहाँको पुलिसले पर्यटन मन्त्री भट्टराईलाई आफ्नो नियन्त्रणमा समेत लिएको थियो । डढेलोको कारण मुलुकको सम्पूर्ण जंगल सखाप भएको र ५० करोडभन्दा बढी जंगली जनावर मरेको आशंका गरी सम्पूर्ण अष्ट्रेलिया नै शोक र विपत्तिबाट गुज्रिराखेको अवस्थामा त्यसरी सडकमा उत्रिएर नारा जुलुस गरेको भनेर नेपालका पर्यटन मन्त्री भट्टराईलगायत उनको दलबललाई आफ्नो नियन्त्रणमा रहेको थियो ।

LEAVE A REPLY