बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएका छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताए।

उपप्रधान तथा गृहमन्त्री भइसकेका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उनलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ। तर उनले कस्ले धम्की दियो भन्ने खुलाउन चाहेनन् । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो । मलाई ज्यानको समेत धम्की दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट’ नेता रावलले भने,‘लेडि डायनाले जसरी ज्यान गुमाउनु पर्‍यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो । ’

नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए । मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने,‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घटनाको मञ्चन गरेर हत्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’

यस्ता धम्कीबाट आफू नडराउने भन्दै नेता रावलले भने,‘म त्यसबाट डराउँदिन । र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।’

राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र समर्थन भन्दा धम्की र विरोध हुन दुःखद् भएको बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आमा समान मान्छौं यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ, अरुको अस्तित्व अस्थायी छ ।’

देशको हीत, राष्ट्रियता, स्वाधिनताको कुरार्मा नझुकौं नलत्रिऔं, हामी उभिएर देशको स्वाथ्र्यको कुरा गरौं भन्दा केहीलाई चिन्ता लागेको रावलको भनाइ थियो ।

LEAVE A REPLY