ल क्याम्पसमा भर्ना विवाद : एलएलबीको शैक्षिक सत्र गुम्यो

स्नातक तह (एलएलबी) मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ गत बैशाख देखि हुनुपर्ने भए पनि एक शैक्षिक सत्र पर धकेलिएको छ।

विगतमा यतिबेला विद्यार्थीले पढाइ अन्तिम चरणमा पुर्‍याएर परीक्षाको तयारी गरिरहेका हुन्थे। क्याम्पसको उपलब्ध जनशक्ति र भौतिक संरचना अनुसार एलएलबी पहिलो वर्षमा अधिकतम तीन सय विद्यार्थी मात्रै पढाउन सकिन्छ। तर पढ्न चाहने सबैलाई भर्ना गर्नुपर्ने विद्यार्थीको अडान छ।विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच छलफल सुरु भएको छ।

विद्यार्थी अडानकै कारण गत वर्ष पहिलो वर्षमा क्याम्पसले १० हजार ८ सय ६३ जना विद्यार्थी भर्ना गरेको थियो। यसपटक पनि विद्यार्थीले यस्तै माग राखेका छन्। माग पूरा नभएको भन्दै उनीहरूले क्याम्पस प्रमुख र त्रिवि कानुन संकायको डीन कार्यालयमा समेत ताला लगाएका छन्।

क्याम्पसका अनुसार यो वर्ष तीन हजार विद्यार्थीले प्रवेश परीक्षा फाराम भरेका छन्। आवेदन दिएका सबै विद्यार्थी भर्ना गराउनुपर्ने विद्यार्थीको माग र निश्चित कोटामा मात्र भर्ना गर्ने क्याम्पसको अडान कायमै रहेको बेला सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। गत जेठ ३ गते सर्वोच्चले निश्चित कोटा तोकेर स्वच्छ प्रतिस्पर्धामार्फत पूर्णकालीन विद्यार्थी मात्र पढाउन क्याम्पस र त्रिविलाई अन्तरिम आदेश दियो।

LEAVE A REPLY