यो कर्मचारीतन्त्र पूरै भत्काएर कार्यकारी इकाइ प्रणालीमा रूपान्तरण गर्नुपर्दछ

डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री÷संघीय परिषद् अध्यक्ष, समाजवादी पार्टी

विधिविपरीत संविधान संशोधनको प्रस्तावलाई बहाना बनाएर सरकार छाडेको समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उक्त कदम ‘बहाना’ नभएर नीतिगत विषय भएको दाबी गर्दै छन् । उनको पार्टीले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्ना सिट गुमाउने गरी कांग्रेससँग गठबन्धन गर्नुपरेको छ । विभिन्न पूर्वकम्युनिष्ट घटकको वर्चस्व रहेको समाजवादी पार्टीभित्र अरू थुप्रै नीतिगत र कार्यशैलीगत समस्या थाँती छन् । त्यहाँ माओवादीबाट बाबुरामसहित एमालेबाट अशोक राई, राजेन्द्र श्रेष्ठ, ०५८ मै एमाले छोडेका उपेन्द्र यादवदेखि ०६४ मा सद्भावना पार्टी त्यागेकी रेणु यादवहरूको बलियो उपस्थिति छ ।

० नीतिगत वा वैचारिक असहमति राखेर सरकार छाड्नुको सट्टा उपेन्द्र यादवलाई संविधान संशोधनको बहाना झिक्न लगाएर सरकार छाडियो । के यो राम्रो तरिका थियो र ?

– समाजवादी पार्टीको मुख्य ध्येय लोकतान्त्रिक आन्दोलनका अपूर्णतालाई पूर्णता दिने र सुशासनसहित देशमा समृद्धि ल्याउने । संविधान शासकीय स्वरूपको कमी, निर्वाचन प्रणाली, संघीय संरचना, महिलाको नागरिकताको सवालमा अपूर्ण छ । यिनलाई संशोधनमार्फत पूर्णता दिनुपर्छ भन्ने मुद्दा लिएर एमाले र माओवादी एकताबद्ध नहुँदैमा सम्झौता भएको थियो । त्यतिखेर तीनवटा पार्टी नहुँदा दुई तिहाई पुग्दैनथ्यो । जब माओवादी र एमाले मिलेर नेकपा बन्यो अनि उहाँहरूमा अहंकार बढ्यो । दुई बुँदेबाट उहाँहरू पछि हट्दै जानुभयो । र, हामीले संविधान संशोधन गर्ने अन्तिम प्रयत्नस्वरूप संविधान संशोधनको प्रयत्न ग¥यौँ ।
० तर प्रस्ताव जसरी ठाडै गयो त्यो अव्यावहारिक भयो, भनिँदै छ ?
– प्राविधिक विषय नहेरौं । समग्रमा जाऊँ । केपी ओली हिजोका उपलब्धिबाट पछि हट्न खोजेजस्तो देखिन्छ । उहाँहरूबाट अहिले भएकै संवैधानिक अधिकार सुरक्षित हुने हो कि होइन भन्ने अवस्थामा थपिएला भनेर आश गर्नु उचित र वस्तुवादी लागेन । त्यही कारण हामी अलग बाटो लागेका हौं ।
० संविधान निर्माण गर्ने अगुवामध्येका तपाईंले संविधान जारी भएलगत्तै माओवादी पार्टी छाड्नुभयो र आफैँले बनाएको संविधानलाई अपुरो भन्न थाल्नुभयो । अहिले त झन् संविधान संशोधनलाई बटमलाइन बनाउने पार्टीलाई नेतृत्व दिइरहनुभएको छ । यो विचलन हो कि स्वाभाविक हो ?
– माक्र्सपद्धति, द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु । समाज गतिशील र परिवर्तित हुन्छ । संविधान निर्माणपछि लोकतान्त्रीकरणको सम्पूर्ण कुरा पूरा भइसकेको छैन । त्यत्तिकैमा सन्तुष्ट भएर बस्नु हुँदैन । त्योभन्दा अगाडि जान नयाँ ढंगले राजनीतिक आन्दोलन पुनर्गठन गर्नुपर्छ । माओवादी आन्दोलन नै पुनर्गठन गरौं भन्ने प्रस्ताव प्रचण्डसँग राखेको हुँ । १७ असोजमा केपी ओलीसँग भेट हुँदा पुरानो ढंगले अब कम्युनिष्ट आन्दोलन अघि बढ्दैन । यसको पुनर्गठन गर्न नयाँ समाजवादी आन्दोलन पुनर्गगठन गरौं पनि भनेकै हुँ । सैद्धान्तिक रूपले हुन्छ भन्नुभयो तर व्यवहारमा रुचि देखाउनु भएन । म लागेको बाटोचाहिँ कुनै पार्टी फुटाएको होइन, कसैको विरोध गरेको पनि होइन ।


० नयाँ बाटो हिँड्दा कस्ता चुनौती आइपरे ?
– प्रारम्भिक बाटो निर्माण गर्ने मान्छेहरूलाई चुनौती त हुन्छ नै ! २१ औं शताब्दीका पँुजीवाद र साम्यवाद दुवै चरम संकटमा छन् । त्यसले गर्दा अमेरिका, भारत, नेपाल हुँदै चीनसम्म अत्यन्त जातिवादी राष्ट्रवादी शासकको उदय भइरहेको छ र नवफाँसीवादी अभ्यास हुँदै छ । त्यसले विश्वमा ठूलो संकट ल्याउने खतरा छ । त्यसलाई चिर्न नेपालको सीमाभित्र मात्र कैद भएर हुँदैन अन्तर्राष्ट्रिय रूपमै नयाँ विचारको विकास गर्नुपर्ने हुन्छ ।
० तपाईंहरूले ११ प्रदेशको कुरा उठाइरहनुभएको छ । मुलुकले थेग्न सक्छ ?
– संसार ज्ञान विज्ञानमा यति माथि उठिसक्यो । हामीले राजनीतिक परिवर्तनका यति ठूला काम पनि ग¥यौँ । तर, हामी गहिराइमा गएर नसोच्ने, तथ्यसत्यमा अध्ययन/अनुसन्धान नगरी सतही भएर हल्लैहल्लामा कुद्ने भयौं । अलग–अलग भाषा, संस्कृति, संस्कार भएको मुलुकमा संघीयताको अभ्यास गरिन्छ । संघीयतामा जाने त भन्यौं तर पुरानो पार्टीका नेताले संघीयता के हो बुझ्नै चाहनुभएन । बरु संघीयताको मर्मविपरीत हिजैको अञ्चल र विकासक्षेत्रतिर फर्किरहनुभएको छ । आवश्यकता पर्दा सय वटा होइन, हजार वटा पनि धान्न सक्छ । आवश्यकता छैन भने पर्दै परेन । संख्याको होइन, विचारको कुरा प्रमुख हुन्छ यसमा ।
० राष्ट्रियसभाको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्नु बाध्यता हो या पूर्वनीतिअनुसार हो ?
– चुनावी तालमेल आवश्यकताअनुसार गर्ने हो । कांग्रेस र कम्युनिष्टबीच धु्रव निर्धारण गर्ने नै हाम्रो प्रयास हो । भोलि गएर देशको वैकल्पिक शक्ति निर्माण गर्ने हो । प्रारम्भिक चरणमा आवश्यकताअनुसार तालमेल गर्न सक्छौं । वैचारिक र राजनीतिक ढंगले हाम्रो छुट्टै सत्ता र अस्तित्व रहन्छ ।
० यदि उपेन्द्र यादवलाई सरकार छाड्न नदिएको भए नेकपासँगै गठबन्धन गरेर पार्टीले राष्ट्रियसभामा आफ्नो सिट सुरक्षित गर्दै थप सिट पनि पाउँथ्यो, हैन र ?
– प्रमुख शक्ति भएर देशको नेतृत्व गर्न चाहन्छौं भने अहिले एक सिट वा दुई सिटको निम्ति लोभ गर्ने नै होइन ।
० अहिले एमसिसी इण्डो–प्यासिफिकको अंग हो कि होइन भनेर नेकपामा बहस चलिरहेको छ । के भन्नुहुन्छ ?
– भूपिले भन्थे यो हल्लै हल्लाको देश हो । अहिले जुन खालको बहस भइरहेको छ त्यो सतही छ । पूर्ण ढंगले खोज अनुसन्धान गरेर निश्कर्ष निकाल्ने बानी हामी कसैको पनि भएन । भूराजनीतिक हिसाबले अत्यन्त संवेदनशील ठाउँमा नेपाल छ । चीनको विश्व शक्तिको रूपमा उदय भएसँगै भारत, अमेरिकाको चासो नेपालमा बढ्दै छ । यी तीनवटै शक्तिसँग सन्तुलित सम्बन्ध राखेरै अघि जानुपर्छ । एउटाविरुद्ध अर्काेलाई प्रयोग गर्ने, खेल्ने जमाना अब गइसक्यो । जुन अनुदान दिएको छ त्यो लिएर पूर्वाधार निर्माण गर्नु नेपालको हितमै हुन्छ भन्ने लाग्छ ।
० लामो समय योगदान गर्नुभएको पूर्वपार्टी एमालेसँग एकीकरणमा गएकोप्रति के भन्नुहुन्छ ?
– पार्टी त बन्छन्, भत्कन्छन् नयाँ बन्छन् । अहिले म कस्तो देखिरहेको छु भने देशको राजनीतिमा एमालेकरण बढी भयो । कांग्रेस र एमाले पुरानै शक्तिको रूपमा स्थापित थिए । ०५२ सालमा यी दलबाट नेपालको राज्यसंरचना पूर्णरूपमा हुन सक्दैन भनेर माओवादीले विद्रोह शुरु गरेको हो । त्यही आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई पु¥यायो । एमालेलाई माओवादी एजेण्डाभित्र ल्याएर ध्रुवीकरण भएको भए त्यो अग्रगमनतिर जान्थ्यो । ०६३/६४ मा अवसर थियो । त्यो समयमा अलि अलि प्रयत्न भएको पनि हो । तर, पछिल्लो चरणमा माओवादी नेतृत्व स्खलित हुँदै जाँदा एउटा ठूलो तप्का र एमालेबीच एकीकरण हुनु एमालेकरण हुनु नै हो । यसबाट साथीहरूलाई सत्तामा बस्न, भागबण्डा गर्ने र व्यवस्थापनमा त राम्रै गर्ला तर देशलाई समग्र रूपमा अगाडि बढाउन खासै सकारात्मक भूमिका निर्वाह हुन्छजस्तो लाग्दैन ।
० विस्तृत शान्ति–सम्झौताको भावनाअनुसार द्वन्द्वकालीन मुद्दा हल गर्ने कुराले अझै पूर्णता पाएको छैन । यसमा कसको, कति कमजोरी पाउनुहुन्छ ?
– शान्ति सम्झौताको तीनवटा मुख्य पाटो थियो । राजनीतिक पाटो संविधान निर्माण, फौजी पाटो सेना समायोजन र सामाजिक, शान्ति सुव्यवस्थाको निम्ति सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन । यी तीनवटा काम सँगसँगै हुनुपर्दथ्यो । दुई वटा पाटो ऐनकेन ग¥यौं । तेस्रो पाटो छुट्यो । त्यसमा हामी सबैको सामुहिक गल्ती भएको छ ।
० जसरी प्रचण्डले मूलनेतृत्वका हैसियतमा सबै द्वन्द्वकालीन घटनाको जिम्मेवारी लिन्छु भन्नुहुन्छ, तपाईं त्यही जनयुद्धको दोस्रो हैसियतको नेता । तर, प्रत्येक कुरामा पन्छिँदै हुनुहुन्छ भन्छन्, पूर्वमाओवादीहरू । यसमा के भन्नुहुन्छ ?
– उहाँहरू पछाडि फर्कनुभयो । म अगाडि बढिरहेको छु । को भाग्यो ? कसलाई भागेको भन्नुहुन्छ ? म त माओवादी आन्दोलनलाई विकसित गरेर अपूर्णतालाई पूर्णता दिँदै अझै उन्नत प्रकारको समाजवादी दिशातिर जानुपर्छ भन्नेमा छु । ती साथीहरू सबै चिज त्यागेर एमालेमा विलय भइरहनुभएको छ । त्यतिबेला जनयुद्धको समानान्तर सरकार थियो, त्यसको म प्रमुख हुनुको नाताले पूरै जिम्मेवारी लिन्छु भनेर रेकर्ड नै रहनेगरी संसद्मा पटक–पटक बोलेको छु ।
० सत्ताधारीहरू भन्छन्– हामीले देशको अर्थतन्त्र कायापलट परेका छौं । प्रमुख प्रतिपक्षीको आरोप छ अर्थतन्त्र डामाडोलै भयो । तपाईं के ठान्नुहुन्छ ?
– सत्ताधारीहरूले उत्पात ग¥यौं भन्नु र कांग्रेसले डामाडोलै भयो भन्नु दुवै तथ्यपरक होइन । कछुवाको गतिमा अर्थतन्त्र अगाडि बढेकै छ । ६–७ प्रतिशतको दरले वृद्धि भएको छ । तर, हामीलाई चाहिएको गुणात्मक परिवर्तन हो । महान् उडान लगाउनुपर्ने बेला हो । निर्वाहमुखी कृषिप्रधान अर्थतन्त्रलाई उद्योग र सेवा प्रधानमा रुपान्तरण गर्नुपर्ने बेला हो । बाँकी तीन वर्ष त्यसप्रकारको नीति लिएको खण्डमा सुधार हुन सक्छ । दुई वर्ष यसै खेर गयो । यो अवधिमा सम्झनलायक केही काम भएन । लोकतन्त्रको मुद्दामा निरंकुशतातिर फर्कन खोजेको आभाष हुन्छ, मानवअधिकारदेखि सूचना प्रविधि विधेयकसम्म हेर्दा उल्टो दिशा हिँड्न खोजेजस्तो लाग्छ ।
० सरकार शक्तिशाली छ । तर विकास खर्च गर्न सकेको छैन । पहिलो चौमासमा २० प्रतिशत खर्चे गर्न लक्ष्य लिए पनि ९ प्रतिशत मात्र भएको अवस्था छ । यस्तो हुनुमा कर्मचारीतन्त्रको दोष कति ?
– अर्थतन्त्रको टेकअपका लागि नीतिगत प्रष्टता, लगानी, पँुजी प्रविधिको स्पष्ट खाका हुनुपर्छ । दोस्रो क्षेत्र निर्धारण हुनपर्छ । कृषि, पूर्वाधार, पर्यटन कहाँ प्रमुख रूपमा लगानी हुनुपर्ने हो त्यो प्रष्टता भएन । लागू गर्नेका लागि प्रशासन संयन्त्र एकदम प्रक्रियामुखी छ । ब्युरोक्रेसी पूरै भत्काएर कार्यकारी इकाइ प्रणालीमा रूपान्तरण गर्नुपर्छ, जसले प्रक्रिया होइन परिणामलाई प्रमुखता दिन्छ । यही व्युरोक्रेसीबाट त्यस्तो परिणाम आउँदैन ।
० राजपा र समाजवादी पार्टी एकीकरण समितिको संयोजक पनि हुनुहुन्छ । एकीकरण टरेको हो वा सम्भावना छ ?
– सम्भावना बाँकी छ तर दुःखद कुरा हामी तेस्रो ध्रुव बनाउँदै छौं । खाली यो वा त्यो बहानामा उनीहरूकै पुच्छर भएर हिँड्ने । एक दुईवटा मन्त्रालय लिने । पुच्छरवादी सोच राखेर वैकल्पिक शक्ति बन्दैन । अब कांग्रेस वा कम्युनिष्टको पुच्छर बनेर होइन, स्वतन्त्र अस्तित्व, पहिचान निर्माण गरौं ।
० तपाईंलाई राजनीतिमा अस्थिर खेलाडी भन्छन् । पार्टी परिवर्तन गरिरहँदा आफ्नो व्यक्तिगत जीवनमा कत्तिको अप्ठ्यारो पर्दोरहेछ ?
– राजनीतिमा सबैभन्दा स्थिर र दृढवादी कोही छ भने त्यो बाबुराम भट्टराई नै छ । गणतन्त्र नआएसम्म देशमा लोकतन्त्र पूर्ण हुँदैन र संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने बाबुराम भट्टराई नै थियो । ०४६ सालदेखि नै संविधानसभा र गणतन्त्रको मुद्दा उठाएर हिँडिरहेको हो । ००७ सालदेखि ०१४ सालसम्म बिपी कोइरालाले पूरा गर्न नसकेको त्यो काम मूलतः बाबुराम भट्टराईको जोडबलमा सम्पन्न भयो । इतिहास लेख्नेले अंश अंशमा लेख्छन् । लेखेर राख्नुहोला, लामो समयपछि इतिहासले सम्झनेछ बाबुराम भट्टराईले नै ढृढतापूर्वक नेपाली समाजलाई अगाडि बढाउने काम ग¥यो ।

LEAVE A REPLY