सचिवज्यू, कहिले सुन्नुहुन्छ हामीजस्ता पीडित कर्मचारीहरुको पुकार ?

देशमा अनेक तन्त्र फेरिए पनि देशको मुहार उस्तै रहेझैं,आखिर हाकिमहरु जुन फेरिए पनि व्यथाका पहाडहरु उस्तै छन् । सोचेको थिए महालेखा नियन्त्रकको कार्यालयको कमाण्ड गोपीनाथ मैनालीजस्ता सदाचारी हाकिमको काँधमा पुगेपछि मजस्ता पीडित कर्मचारीहरुले न्याय पाउनेछौं,ढिलै भए पनि । तर गत १ पुसमा मलेनिकाले सरुवाको निर्णयले फेरि पनि उस्तै दुखित तुल्यायो । म कृष्ण प्र. ढुङ्गाना,सुर्खेतस्थित कोलनिकाको कार्यालयमा कार्यरत एक तल्लो तहको कर्मचारी । विगत १५ बर्षदेखि एउटै पोष्टमा रहेर सेवारत छु । उमेरले ५ दशक टेक्न लागें । ७५ प्रतिशत स्वास्थ्य विग्रेर २५ प्रतिशतको धुकधुकी लिएर सेवामा खटिदै आएको छु । त्यही कारण हो लामो समयसम्म वृत्तिविकास रोकिन पुग्यो । स्वास्थ्यले साथ नदिएपछि घरपायक जिल्ला सुर्खेत झरेको पनि एक दशक व्यतित हुनै लाग्यो ।

मभन्दा धेरै पछि सेवा प्रवेश गरेका जुनियरहरु बढुवा भए । कोही अधिकृतको प्रतिक्षामा छन् । म सेवारत हुँदा कार्यालय सहयोगी–श्रेणीविहीन पदमा काम गरेका साथीहरू पनि अहिले कोही आ.प्र.र फाइल बढुवाबाट खरिदार सह–लेखापाल हुँदै ना.सु. लेखापाल भइसके, यसमा पनि कसैको दोष छैन मेरै स्वास्थ्य बाधक हो ।

जागिरे जीवनमा अथायी र स्थायी सेवा गर्दै उमेरले ३४ पार गरेपछि २०६२ सालमा निजामती सेवामा प्रवेश गरे । राजपत्रअनंकित द्वितीय श्रेणीमा । १ वर्ष हुम्लामा काम गरेपछि बर्दिया पुगें र त्यहाँ बिताए ६ महिना । २७ महिना कालिकोट पुगेर त्यहाँ सेवा गरे । उमेरले चार दशक टेक्दै गर्दा असाध्य रोगले गाज्यो । उपचारपछि झरें सुर्खेत झरेँ तर अनेकन यत्न गर्दा पनि रोग २० को १९ भएन । बरु शरीरको महत्वपूर्ण अङ्ग नै काटेर फाल्नु पर्ने अबस्था आयो । ७० सालमा त्यो अङ्ग फालियो । बूढो शरिर,शरिरको महत्वपूर्ण अंग नै काटेर फालिए पछि झन दिनप्रतिदिन अनेकन रोगहरूले गाँज्दै गयो । एकैपटक प्रेसर, पेङ्क्राइष्ट, पार्किन्सन, पायल्स, कलेजो, प्रोस्टेट लगायतका रोगले गाज्यो । नियमित फलोअपमा काठमाडौँ सुर्खेत गर्दा आर्थिकस्थिती जर्जर बन्न थाल्यो ।रोगहरू थपिँदै गएपछि जिल्ला बाहिर बढुवाका लागि जान सक्ने आँट गर्न सकिनँ । अहिले पनि एकसाथ प्रेसर, पेङ्क्राइष्ट, पार्किन्सन, पायल्स, कलेजो, प्रोस्टेट लगायत ६ थरीको औषधि नियमित सेवन गरिरहेको छुँ । मासिक रुपमा औषधिमै झण्डै ९ हजार सकिन्छ । आफ्नो स्वस्थ्य मात्र होइन । परिवारको पनि जिम्मेवारी छ काँधमा २ सन्तानको शिक्षा दिक्षा गनुपर्ने जिम्मेवारी । आएको तलब आधाभन्दा बढी औषधोपचारमै सकिन्छ । तिनको शिक्षा दिक्षा गर्ने कसरी ?

उनीहरूको पढाइ खर्च र घर खर्च चलाउन धौ धौैको स्थिती छ । सोध्छन ‘बाबा तपाईँको बढुवा कहिले हुन्छ ?’ तिनलाई के भनेर जवाफदिँऊ ? बढुवा होला भनेर म एक दशकदेखि प्रतिक्षारत छु । वृत्ति विकासका लागि कहाँ कहाँ मात्र धाइन् ? को कस्लाई हात जोरिन् ?

कोलेनिका सुर्खेत मार्फत मलेनिकामा अनुरोध गर्न थालेको ५ वर्ष व्यतित भयो । आशा थियो गोपीनाथ मैनाली सचिव भएर आएपछि मजस्तो अन्यायमा परेको एक कर्मचारीको रोदन सुन्नुहुनेछ । तर,सुनुवाई भएन् । सुर्खेत जिल्लाको मलेसिनकामा एक दशक भयो भर्खर लोक सेवा भिडेर नाम निकालेका नवजवानहरुलाई खटाइन थालेको । १८ देखि ३५ वर्ष उमेर समूहका लेखापालहरू मात्रै यहाँ खटाइन थाल्यो । हामीजस्तो बूढापाका यही सेवा गरेर कपाल दाह्री फुलाएकाहरुलाई चाहिँ जिल्लाबाट बाहिर खेद्न थालियो । त्यही कारण म वृत्ति विकासको अवसरबाट एक दशकदेखि बञ्चित छु । न त म जिल्ला छाडेर अन्यन्त्र जान सक्छु । न त यहीँ बसेर बढुवा हुने अवसर नै पाँउछु । मलेनिकाले हरेक वर्ष सार्वजनिक गर्ने सरुवा मापदण्ड हेर्थेँ यसपालि त मापदण्ड अनुसार गरियो भने कसो एक सिट बढुवामा नपर्ला, मेरो जति लामो सेवा गरेका त यहाँ कोही पनि छैनन् भन्ने मनमन सोच्दथें । तर कहिल्यै खाली नहुने । रिक्त पदमा भर्खर लोकसेवा पास गरेका, हेर्दा खेरि लक्का जवान आर्मी प्रहरीमा भर्ती हुने खालका लेखापालहरू मात्रै पठाउन थालियो । सरुवा गर्न मिल्नेलाई सरुवा, सरुवा गर्ने न्यूनतम अवधि पनि नपुगेका लाई अनिश्चितकालीन काजमा राख्ने र सरुवा गर्न मिल्ने बाटो खुलेपछि त्यहीँ, चाहे त्यहीँ, नभए राम्रै मानिएका कार्यालयमा सरुवा गरिदिने परिपाटी विकास हुँदै गइरहेको छ । कहाँ गयो तपाईको सुशासनको रटान ? निजामती सेवा नियमावली पल्टाउछु त्यहाँ प्रष्टै लेखिएको छ, लोक सेवाले नियुक्तिका लागि सिफारिस गरेको भौगोलिक क्षेत्र नासु वा सो सरहको हकमा सिफारिस गरिएको विकास क्षेत्रमा ५ वर्ष अवधि नपुगी सरुवा गरिने छैन भन्ने लेखिएको छ ।

यो व्यवस्थालाई मिचिरहँदा सदाचारी सचिव गोपीनाथ मैनालीहरु के हेरिरहनुभएको छ ? कसैलाई काजको रूपमा र कसैलाई सरुवा नै गरिदिन थालिएको छ । यही कारण सुर्खेत जिल्लामा बढुवाको प्रतीक्षा गरेर बसेका र सशरीरिक रूपमा अस्वस्थ उमेरले ४० वर्ष काटेका कर्मचारीहरूलाई जिल्लाबाट धपाउने खेल शुरु भयो । तर शारिरिक रुपमा असक्त हामीजस्ता कर्मचारी कहाँ जाने ? कस्को अगाडि गएर दु्खको पहाड पोख्ने ? हाम्रो रोदन कस्ल्े सुन्छ ? सुन्ने फुर्सद नै यहाँ कसलाई छ र ?

यो पीडा पोखेको पनि हो सह–महालेखा नियन्त्रक एवं प्रवक्तासमक्ष । उल्टै हकार्नुभयो ‘१५–१६ वर्ष सम्म एउटै जिल्ला बस्ने अनि बढुवा पनि खोज्ने भन्दै ? उहाँले तितो जवाफ mफर्काउनु भयो बढुवा खाने भए हिमाली जिल्ला खाली गराइदिन्छु, त्यहाँ जाने भन्नुस’ भनेर जवाफ दिनु भएछ । मलेनिका लेखा समूहको कर्मचारीहरूका लागि पिता समानको निकाय हो । त्यहाँ हाम्रा पिताहरू हुनुहुन्छ उहाँहरूले कुनै पनि छोरालाई भेदभाव हुने खालको व्यवहार गर्नुहुँदैन भन्ने ठानेको थिए । अस्ति १ पुसको सरुवा निर्णय भनी पौष ३ गते एका बिहानै मलेनिकाको वेब पेजमा सरुवा सूची आयो । मेरा प्रिय साथीको नाम देखेँ डोल्पा कोलेनिका । उहाँको पुल दरबन्दी थियो सुर्खेतमा । यहीँको अवधि पुगेको कसैलाई सारेर कार्यालय खाली गरेको होला भनेर उहाँको स्थानमा हेरेको त २०७२ सालमा निजामती सेवा प्रवेश गर्नुभएका २०४९ सालमा जन्मनु भएका सेवा शुरुवातमैं बाँके जिल्ला जस्तो सुगम जिल्ला पाउनु भएका लेखापाल सरको सरुवा भएछ । उहाँलाई सरुवा गर्ने निकायलाई धन्यवाद दिनै पर्छ । एउटा ४० कटेको रोगीलाई हिमाल पुराएर नव जवानलाई ल्याउनु भएछ । चार पाँच वर्ष देखि बढुवाको प्रतीक्षा गरेको यसपालि पनि विज्ञापन हुने समय नजिकिँदै जाँदा सुर्खेतलाई स्थान नछाडे पछि यस वर्ष पनि आशा मर्यो । ऊर्जा मर्यो । एउटै जिल्लामा १५–१६ वर्ष भन्नुभएछ महालेखा नियन्त्रकज्यूसमक्ष बिन्ती बिसाउँछु एक पटक मेरो कर्मचारी विवरण (पी.आइ.एस.)हेर्न अनुरोध गर्दछु ।

कुनै पनि कर्मचारीलाई सेवा प्रवेश गरेपछि निश्चित अवधि पछि बढुवा हुने चाहाना हुनु स्वाभाविक हैन र कोही खुला प्रतियोगिताबाट बढुवा हुन्छन् भने खुलाबाट नसक्नेहरू बढुवाकै भर पर्ने हो के मैले यो अवसर खोज्नु गलत हो र ? श्रीमान महालेखा नियन्त्रकज्यूको जवाफको प्रतिक्षामा छु । तपाईजस्ता सदाचारको वकालत गर्ने सचिवबाट पनि न्याय नपाए हामीले कस्को आशा र विश्वाश गर्ने ? कस्को भरोसामा पर्ने ? एउटै आग्रह छ,मलेनिकाले वृत्ति विकास र सरुवालाई सौदाबाजीको रूपमा नलिओस । कम्तीमा पनि उसको पिआइएस हेरियोस । १० वर्ष एउटै श्रेणीमा जहाँ बसेको छ त्यहीँ बढुवा हुने निश्चितता गर्दा अर्को ५–७ वर्ष त्यस जिल्लामा बढुवाको समस्या पर्दैनथ्यो । सुर्खेतमा मात्र नभई सायद नेपाल अधिराज्यमै योग्यता पुगेर यति लामो समयसम्म सह–लेखापाल पदमा काम गर्ने म मात्रै हुँ जस्तो लाग्छ ।
कृष्ण प्र. ढुङ्गाना
सह लेखापाल,कोलेनिका सुर्खेत

LEAVE A REPLY