डमरूको डण्डीबियोले पायो कामना सि.जि.अवार्ड

नेपाली चलचित्रमा खेलकुदका विषय त्यति उठाइँदैन । लोकप्रिय खेल र स्टार खेलाडीको कथा केही मात्रामा आएका छन् । यही परिवेशमा अभिनेता खगेन्द्र लामिछानेले लोप हुन लागेको नेपाली मौलिक खेल डन्डिबियोमाथि फिल्म तयार पारे । फिल्म तयार भयो । वैशाख २१ देखि प्रदर्शनमा आयो र कामना सि.जि.अवार्ड २०७६ पनि पाउन सफल भएको छ ।

नेपालको मौलिक खेल डन्डिबियोलाई आधार बनाएर बनाइएको उक्त फिल्म खेलसँग सम्बन्धित भए पनि पारिवारिक ड्रामाले भरिपूर्ण रहेको छ ।
यो फिल्म लोप हुँदै गरेको डन्डिबियो खेललाई पुनः ब्युँताउने लक्ष्य बोकेर गाउँ फर्किएको डमरु (खगेन्द्र लामिछाने)को कथा हो । बिर्सिइएको डन्डिबियोलाई फेरि सम्झाउन डमरुले गर्ने संघर्ष फिल्मको मुटु हो ।

गाउँका हेडमास्टर (अनुप बराल) तथा डमरुका बुबा डमरुलाई लोकसेवाको परीक्षा दिलाएर सरकारी जागिरे बनाउन चाहन्छन् तर डमरुको रुचि भने अर्कै छ– डन्डिबियो खेललाई पुनःस्थापित गराउने । गाउँमा बस्ने उनकी प्रेमिका माला (मेनुका प्रधान) र साथी मुखिया (बुद्धि तामाङ) सुरुमा उनको यो उद्देश्यमा सहमत हुँदैनन् । तर जब उनीहरु सहयोगका लागि तयार हुन्छन्, डमरुकै बुबा योगेन्द्र (अनुप बराल) भिलेन भइदिन्छन् । कारण, डन्डिबियोप्रेमी योगेन्द्र गाउँमा कसैले डन्डिबियो खेलेको रुचाउँदैनन् । उनको ठम्याइ छ, यो खेलेर जिन्दगी उँभो लाग्दैन ।

बाबुको असहमतिपछि पनि डमरु स्कुले विद्यार्थीलाई भेला गरेर डन्डिबियोको टिम बनाउन थाल्छन् । उता हेडमास्टर बाबु विद्यार्थीलाई कारबाही गर्न थाल्छन् । यत्तिकैमा परिस्थिति यस्तो आउँछ कि बाबु (योगेन्द्र) र छोरा (डमरु)को टिमबीच डन्डिबियो प्रतिस्पर्धा हुन्छ । डमरुको टिमले हार्छ । आफ्नै प्रेमिकाले बाबुसँग मिलेर खेल हराएको आशंका गर्दै डमरु फेरि सहर फर्किन्छ– बाबुको ‘सरकारी जागिरे’ सपना पूरा गर्न । त्यसपछि डमरुको डन्डिबियो सपना के हुन्छ ? मालासँगको प्रेम के हुन्छ ? डन्डिबियोको पुनःस्थापना कसरी हुन्छ या हुँदैन ? यस्तै प्रश्नहरुको जवाफ दिएर फिल्म सकिन्छ ।

नेपाली मौलिक खेललाई पर्दामा पस्कन खोज्नु आफैँमा एउटा सुन्दर प्रयास हो । यसको श्रेय निर्देशक छेतन गुरुङ र खगेन्द्रलाई जान्छ ।

LEAVE A REPLY