रसुवामा भालुको आक्रमण बढेपछि प्रहरी परिचालन

जङ्गली भालुले लाङटाङ राष्ट्रिय निकुन्ज तथा आसपासबाट निस्किएको घरघरमा पसी आक्रमण गर्न थालेपछि रसुवामा प्रहरी परिचालन गरिएको छ । सर्वसाधारण तथा प्रहरीलाई नै आक्रमणमा उत्रिएपछि भालुबाट जोगाउन प्रहरी परिचालन गरिएको हो।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक भाग्येन्द्रपुरूष ढकालका अनुसार प्रहरीलाई सतर्कतापुर्वक परिचालन हुन निर्देशन दिइएको छ। ‘सर्वसाधारणलाई भयरहित वातावरण सिर्जना गरि मान्छे हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित स्थानमा प्रहरी गस्ती गरिएको हो’ उनले भने ‘हिमाली भेगमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै जङ्गली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लै यात्रा गर्न असहज छ।’

रसुवामा गत साउनदेखि हालसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भइसकेका छन्। भालुले उत्तरी भेगमा रहेको वृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाइसकेको छ। भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई, हाकु लुम्बुडाँडाकी एक वृद्धा, धुञ्चे भिमलीका एक पुरूष र पारच्याङमा एक घाइते भइसकेका छन्। हाकुको लुम्बुडाँडामा घरमा पालिएका बाख्रा पनि भालुले आक्रमण गरी मारेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

गोसाइकुण्ड धार्मिकमार्ग अन्तर्गतदेउराली, खन्तीपाखो, बोकेझुण्डा, ठाडे, भिमल, पानास्युङखोला आसपास, नागुङ, खोपाङ, भार्खु, ठूलोस्याफ्रु, ब्राबलसमेतका स्थानका जङ्गलमा भालुले बासस्थान लिने क्षेत्र रहेको छ। वृद्धिम, टिमुरे, खैदी, थुमन, चिलिमे, गतलाङ, हाकु, तिरू, ग्राङ, राम्चे, हाँडीफोरा तथा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रसमेतका स्थानमा भालुको बासस्थान हुने भएकोले सावधानीपूर्वक हिँड्न उपयुक्त हुने सुरक्षाकर्मीले सुझाव दिएका छन्।

LEAVE A REPLY