धमाधम भत्काइँदै प्रधानमन्त्रीनिवास

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्नेछ ।

नयाँ पत्रिका लेख्छ प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो । नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् । मुख्यनिवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।

दुवैवटा भवन एकसाथ निर्माण गरिने
सहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री आवासका दुईवटै भवन एकैसाथ निर्माण सुरु गरेको छ । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार विभागले निजी तथा सार्वजनिक भवन एकैसाथ बनाउन थालेको हो । विभागको योजनाअनुसार पहिलो चरणमा निजी भवन बनाउने र दोस्रो चरणमा प्रधानमन्त्रीका लागि सार्वजनिक भवन निर्माण गर्ने थियो । निजी भवन निर्माणपछि प्रधानमन्त्रीलाई सो भवनमा सारेर मात्रै सार्वजनिक भवन निर्माण गर्ने योजना थियो । विभागले गत असोजदेखि प्रधानमन्त्रीको नयाँ भवन निर्माण काम सुरु गरेको थियो । निजी भवनको जग र पिलर उठाउने काम सकिएको विशेष भवन आयोजना प्रमुख प्रक्रिण तुलाधरले बताए । निजी भवन नौ महिनामा तयार हुनेछ भने सार्वजनिक भवन १५ महिनामा सम्पन्न भइसक्नेछ ।

२९ करोडमा बन्नेछ भवन
प्रधानमन्त्रीनिवास २९ करोड रुपैयाँ निर्माण हुने भएको छ । विभागको अनुमानित रकमभन्दा २९ प्रतिशत कममा विभागले कोनटेक प्राइभेट कम्पनीसँग निर्माण सम्झौता गरेको हो । विभागले आवास निर्माणका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । प्रधानमन्त्रीनिवास निर्माणका लागि १७ वटा कम्पनीले आवेदन दिएका थिए । सबैभन्दा कम मूल्य कोनटेकको आवेदन परेको थियो ।

०७२ सालको विनाशकारी भूकम्पले प्रधानमन्त्रीनिवासमा क्षति पुगेको थियो । साथै, प्रधानमन्त्रीनिवासको क्षेत्रफल साँघुरो भएपछि गत वर्षको पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनी र स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here