कर्मचारी समायोजनमा सह-सचिव बाबुराम अधिकारीको बदमासी : २

संघीय मामिला तथा सामान्य मन्त्रालयले पछिल्लो समय ऐनको उद्देश्य र प्रावधानविपरित समायोजनमा व्यापक अनियमितता गरेको तथ्य फेला परेको छ । ऐनमा कडा रोग लागेको वा गम्भीर शारीरिक अशक्तता भएको भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेका कर्मचारीलाई संघको पुल दरबन्दीमा समायोजन गर्न सक्ने प्रावधान छ । तर, अहिले यो प्रावधानलाई दुरूपयोग गर्दै मेडिकल बोर्डको फर्जी रिपोर्टका आधारमा पहुँचवाला कर्मचारीलाई संघमा ल्याउने कसरत भइरहेको छ । केही समयअघि अख्तियारले फर्जी रिपोर्टको आधारमा समायोजन संशोधन गरिएको विषयमा चासो राखेपछि प्रक्रिया स्थगित भएको थियो । ‘केही कर्मचारीलाई साँच्चिकै कडा रोग लागेर समस्यामा परेका छन्’, एक उपसचिव भन्छन्, ‘तर यही मौकामा अन्य पहुँचवाला कर्मचारीलाई संघमा ल्याउन चलखेल शुरु भएको छ । यसैले पीडित कर्मचारी झन् पीडित हुने अवस्था छ ।’
विभिन्न नगरपालिकामा प्रशासनतर्फ अधिकृत (७, ८ तह) को एकमात्र दरबन्दी छ । त्यहीअनुसार अधिकांश स्थानीय तहमा समायोजन भएको छ । तर, सहसचिव बाबुराम अधिकारीले पर्वतको कुस्मा नगरपालिकामा तीन जना अधिकृत पठाएका छन् । मन्त्री हृदयेश त्रिपाठीको कानमा यो कुरा पुगे पनि ‘आउनेबित्तिकै के गाली गर्नु’ भन्दै बसेका छन् । कानुनले तोकेको दरबन्दीबाहेक कुस्मामा बाबुरामले धु्रव पौडेललाई असार ४ गते पठाए । डिलकुमारी शर्मालाई साउन १५ गते र पोखरामा समायोजन भएर गएका अर्जुन सुवेदीलाई भदौ २९ गते संशोधनको बहानामा पठाए । खानेपानी सहायक टेक्निसियन (खापासटे) को दरबन्दी स्थानीय तहको गाउँपालिकामा मात्र छ । बाबुरामले अख्तियारको दुरूपयोग गर्दै खापसटेलाई नगरपालिकामा समायोजन गरेर पठाएको फेला परेको छ । गजेन्द्र अधिकारी, विश्व चौधरीलगायत एक दर्जन भन्दा बढी खापासटेलाई दरबन्दी नै नभएको नगरपालिकामा समायोजन संशोधन गरेर पठाइएको हो ।

यो पनि पढनुहोस :

सामान्यका सहसचिव बाबुराम अधिकारीको बदमासी

LEAVE A REPLY