विद्याको चुनावी अभियानमा परिवार र समाजको साथ

नेकपाको चुनावी प्रचार पनि उस्तै छ । घरदैलोमा व्यस्त छ । दुईतिहाइमा बहालवाला आफ्नै नेकपा सरकार रहेको बेलामा गत निर्वाचनको भन्दा बढी मतान्तरले जितेर उपहार दिनुपर्ने चुनौती पनि छ । चुनौतीलाई पूरा गर्न नेकपाले पनि प्रचार प्रसारमा कमि छाडेको छैन । हरेक घर, हरेक मतदातासँग पुग्न कोशिस गर्दैछ । विगतको गणितको आधारमा नेकपालाई कास्की २ को उपनिर्वाचन सहज हो, तर पनि कुनै कसर बाँकी नराख्ने मुडमा नेकपा छ ।

स्थानीय स्तरसम्मै निर्वाचन परिचालन कमिटी बनाएर नेकपा जित सुनिश्चित गर्न अगाडि बढेको छ । नेकपाकी उमेदवार विद्या भट्टराईसँग बहालवाला प्रतिनिधिसभा देखि प्रदेशसभा सांसद, प्रदेश कमिटी, जिल्ला कमिटीसँगै खटिएको छ । उभ्याउन नेकपा एक्लैको भूमिका भने पक्कै होइन । पहिले राजनीतिमा सक्रिय रहे पनि घर व्यवहारमा खुम्चिएकी विद्यालाई पुनः राजनीतिक रेसमा भित्र्याउन उनको परिवारको साथ पनि उत्तिकै छ । विद्याको चुनावी घरदैलोमा पार्टी कार्यकता र उनका समर्थक मात्र होइन, उनका परिवारका सदस्यहरु पनि लागि परेका छन् ।

रवीन्द्रका माइला भाइ देवेन्द्र अधिकारी, बहिनी बिमला अधिकारी र कमल अधिकारी भाउजुलाई चुनाव जिताउन लागिपरेका छन् । तीनै जना चुनावी कार्यक्रममा भेटिन्छन् । विद्याले जसरी नै सबैलाई हात जोड्दै भोट मागिरहेका हुन्छन् ।

अझ, स्व। रवीन्द्रका जेठो छोरा विराज पनि आमालाई चुनावमा सघाउन मैदानमा खटिएका छन् । विराज प्रायः आमाकै आसपास देखिन्छन् ।

बैङ्लोरमा आइटी पढिरहेका विराज विद्यालाई सघाउनकै लागि यतिबेला नेपालमा छन् । भाइ स्वराजको भने स्कुल चलिरहेको छ । उनी घरदैलो कार्यक्रममा आउन पाउँदैनन् ।

विद्या यसरी चुनावी रिङमा उत्रेको देख्दा बाबाको झल्को आउँछ, विराजलाई । भन्छन्, ‘बाबा नै चुनावमा उठेको जस्तो लागेको छ ।’ रवीन्द्रलाई भने यसरी चुनावमा सघाउन भने पाएनन् विराजले । सानै थिए । हुन त अहिले पनि कति नै भएको छ र उनको उमेर १ भर्खर १९ मा कुद्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here