नाम काटियो भनेर दुःखी हुनुको के अर्थ ?

Sharing is caring!

– श्रीमाया थकाली, नेत्री (नेकपा)
गुटबन्दीको चरम शिकार भएकी नेकपा नेत्री हुन्, श्रीमाया थकाली । म्याग्दी–मुस्ताङजस्तो जिल्लामा कम्युनिष्ट पार्टी बनाउन पहल गरिन् । अखिलमै हुँदा राष्ट्रिय पञ्चायतको चुनाव लडेर १४ मतले पराजित भएकी थिइन् । बीचमा मुखियाको जागिर खाएर छाडिन् । ०५१ को मध्यावधिमा एमालेबाट टिकट त पाइन् तर हारिन् । ०५८ को राष्ट्रियसभा निर्वाचन जितिन्, ०६३ को पुनःस्थापित संसद् (अन्तरिम) मा पनि रहिन् । ०६४ मा समानुपातिकतर्फ उम्मेदवार थिइन् । तर, छनोटमा परिनन् । दोस्रो संविधानसभामा भने सभासद् भइन् । एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य जितेकी थिइन्, नवौँपछि पोलिट्ब्युरोमा गइन् । अहिले प्रदेश प्रमुखको रूपमा पार्टी सचिवालयमा प्रस्तावित त भइन् तर छनोटमा परिनन् ।
० पार्टी र सरकार सञ्चालन कत्तिको विधिसम्मत पाउनुभएको छ ?
– हिजो जसरी कम्युनिष्ट पार्टीको नीति र सिद्धान्त बुझेका थियौं । त्यहीअनुसार गएको छैन भन्ने लागिरहेको छ । केन्द्रीय र स्थायी कमिटी त छ तर सचिवालयबाहेक अरू नाम मात्रको ।
० विसंगतिहरू के–के छन् ?
– ६ महिना, ९ महिना वर्ष दिन नबित्दै सरकार फेरिने स्थिति थियो । अहिलेको सरकार बनेको २२ महिना भयो तर जति काम हुनुपर्ने हो, हुन सकेन । मुखले शून्य सहनशीलता भनिए पनि भ्रष्टाचार बढ्दो छ । मन्त्रिपरिषद्, सचिवालयमा रहने कमरेडहरू अनुशासनहीन, नैतिकहीन भएको सुन्नमा आइरहेका छन् । भाषण, कुरा मात्र हुने, व्यवहारमा विकृति विसंगति, नरोकी, कमजोरी र अप्ठ्यारा चिरेर जान नसक्ने हो भने सपना पूरा हुन सक्दैन ।
पार्टी एकता माथि त भयो भावनात्मक एकता गरेर जानु जरुरी छ । आज नेकपाले यस्तो ग¥यो है भन्ने अनुभूतिसहित जनताको घरदैलोमा जान सक्नुपर्छ । स्थानीय तह, प्रदेश तहको निर्वाचन भएको २ वर्ष भइसक्यो । यो ग्यापको क्षतिपूर्ति कसले दिने ? कहिले दिने ? छिटोभन्दा छिटो पार्टी एकताको काम सिध्याएर तेरो, मेरो यो पक्ष र त्यो पक्ष नभनी काम गर्नुपर्छ ।
० हालै सरकारले प्रदेश प्रमुख बनाउँदा तपाईंको नाम पनि आएर काटियो । किन ?
– मुस्ताङमा कम्युनिष्ट पार्टी बनाउन गरेको त्याग, तपस्या र योगदान आफ्नो ठाउँमा छ । ०४१ सालको विद्यार्थी जीवनदेखि ७६ सालसम्म धेरै उतारचढाव आए । यो बीचमा नेता कमरेडहरूसँग कुनै माग गरेको पनि होइन । प्रदेश प्रमुख नयाँ ल्याउने क्रममा मेरो नाम पनि चर्चामा रहेछ । मेरो त्यस्तो आकांक्षा केही थिएन । नेता कमरेडहरूले उठाउनुभयो– कम्तीमा पनि प्रदेश प्रमुख बन्न योग्य रहेछु । व्यक्ति म पर्नु वा नपर्नु गौण कुरा हो । तर, व्यक्ति चयन गरिँदा कुन विधि प्रक्रिया अपनाइयो भन्ने मुख्य हो । हरेक कुरा केन्द्रीय कमिटी, स्थायी समितिमा छलफल हुन नसके पनि कमसेकम सचिवालयमा छलफल हुनुपथ्र्याे । अध्यक्षद्वयकै सहमतिमा ल्याइएको भन्ने छ । हरेक कुरा सचिवालयले निर्णय गर्ने हो भने त्यहींभित्रै कसलाई ल्याउने, कसलाई बनाउने भनेर राम्ररी छलफल हुनु पथ्र्यो ।
० तपाईं बारम्बार गुटको शिकार हुनुभएको । पहिला मन्त्रीको चर्चामा हुनुहुन्थ्यो । नाम काटियो । अहिले प्रदेश प्रमुखमा पनि काटियो । यस्ता घटनाले कत्तिको मन दुखेको छ ?
– किसानले लगाएको खेती पाकेर अन्न भित्र्याउने बेला किरा लाग्यो वा असिनापानीले सखाप पा¥यो भने मन दुख्नु स्वाभाविक हो । आफ्ना इच्छा, आकांक्षालाई तल राखेर पार्टीलाई अघि बढाउन लागिपरेको मान्छे वा महिला कहिलेकाहीँ गुटबन्दीको शिकार हुँदा मन नदुख्ने सवाल नै हुँदैन । आकांक्षा सबै पूरा हुन्छन् भन्ने होइन । सोचे÷खोजेजति सबै पाइन्छ भन्ने पनि हुँदैन । अहिले इमानदार कमरेडहरूको खाँचो छ पार्टीमा । इमान्दार कमरेडहरू विस्तारै विलय हुने, निष्क्रिय, विस्थापित हुने परिस्थिति सिर्जना हुँदै छ । एउटा सानो घरपरिवारमा त सधैँँभरि आफूले चाहेजस्तो÷सोचेजस्तो हुँदैन भने दुई पार्टी मिसिएर अहिले यति ठूलो बनेको छ । त्यहाँ पद पाइएन, नाम काटियो भनेर दुःखमनाउ गर्नुको के अर्थ ?
० त्यो त मन बुझाउने बाटो मात्र भयो । पार्टीबाट अन्यायमा परेका कति नेता गुटको मारमा पर्दा फ्रस्टेसनको सिकार भएको पनि देखिन्छ हैन र !
– ओहोदामा रहँदा कस्तो भूमिका निर्वाह ग¥यो ? त्यो पनि मूल्यांकन नहुने हो भने किन कम्युनिष्ट पार्टीमा लाग्ने ? पूँजीपति पार्टीकै पछि लागे भइहाल्यो नि ! कम्युनिष्ट पार्टीमा हामी आफू मात्र लागेनौं, हजारौंलाई भन्यौं यसबाट न्याय, समानता हुन्छ । विभेद हुँदैन । सांसद भइएला, मन्त्री वा प्रधानमन्त्री भइएला, राजनीतिक नियुक्ति पाइएला भनेर पनि लागेका होइनौं । ०४१ सालमा पार्टी भूमिगत हुँदादेखि राजनीतिमा लागेको मान्छे तर अहिले आएर यो माधव नेपाल वा प्रचण्ड पक्ष ओली वा फलानो वा तिलानो पक्ष भनिँँदै छ । पार्टी भए न हामी हुने हौं । हिमालपारिको जिल्ला मुस्ताङबाट न हिजो मैले मदन भण्डारी देखेको थिएँ न मनमोहन, जीवराज आश्रित । केपी ओली, माधव नेपाल, झलनाथलाई देखेर, भेटेर एमालेमा लागेको पनि होइन । आदर्श र सिद्धान्त राम्रो लागेर पछि लागेको । न्याय, समानता हुन्छ भनेर लागेको । कहिलेकाहीँँ यस्ता कुरामा अल्मलिएको देख्दा हाम्रो ३५÷४० वर्षको उर्वरायुक्त समय साँँच्चै खेर त गएन भन्ने प्रश्नचिह्न चाहिँ खडा हुन्छ । यद्यपि, नेताप्रति विश्वास छ, मुलुकमा कसैले केही गर्छ भने नेकपाले नै गर्छ भन्ने लागेको छ ।
० सभामुख महरा यौनकाण्डमा मुछिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई बलिको बोका बनाइँदै छ । यो कत्तिको न्यायसंगत हो ?
– शिवमाया राजनीतिमा लामो संघर्ष गर्दै आउनुभएको, पढेलेखेकी । उपसभामुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । सभामुखको जिम्मेवारी निर्वाह गर्न नसक्ने भन्ने होइन । यसअघि ओनसरी घर्तीले संविधानसभामा आफ्नो भूमिका निर्वाह गर्नुभएको थिएन र ? अझै पनि हामीमा पितृसत्तात्मक सोच हाबी छ । महिलालाई जिम्मेवारी दिने सवालमा प्रश्नचिह्न खडा हुन्छ । पुरुष जस्तो भए पनि हुने, महिलाले जिम्मेवारी दिँदा यसले सक्छे र ?
० सभामुख नहुँदा उपसभामुखले सदन चलाउन नपाउने कस्तोखालको संविधान बनायौं ?
– दोस्रो संविधानसभामा म पनि भएँ । त्यसबेला हाम्रो हरेक कुरामा दूरदृष्टि पुग्न सकेन कि ? भोलि यस्तो अवस्था आयो भने के गर्ने ? के गर्छौं ? भन्ने हेक्का राखिएनछ । अन्तर्राष्ट्रियस्तरमा यस्ता नैतिक/अनैतिक मुद्दा लागेका उदाहरण सयौं नभएका होइनन् ।
० नेकपाले केहीअघि जिल्ला इञ्चार्ज टुंग्यायो । त्यो तथ्यांक हेर्ने हो भने जम्मा १२ दशमलव ५ प्रतिशत मात्र महिलाले पाएको देखिन्छ । ३३ प्रतिशतको नाराचाहिँ अक्षरमासीमित हुने रहेछ होइन त ?
– सचिवालयमा एक जना पनि छैनन्, स्थायी कमिटीमा पनि दुई जना मात्र । केन्द्रीय कमिटीमा पनि उस्तै । हाम्रो कुरा गर्ने र कार्यान्वयन गर्ने तौरतरिका फरक छ । त्यही कारण महिला अगाडि बढ्न नसकेका हुन् । हामीलाई यो ठाउँसम्म कसैले कृपा गरेर ल्याएको होइन । यद्यपि, अहिले पनि महिलालाई दया–मायाका पात्रको रूपमा हेर्ने गरिन्छ ।
० बाग्लुङमा देखिएको चुनावी भाँडभैलोचाहिँ के हो ?
– हेलिकप्टरबाट आउँदा आउँदै नाम फिर्ता लिने समय गुज्रिएको भन्ने खबर सुनेको हुँ । हरेक निर्वाचनमा वामपन्थी एकताको नारा लगाइन्छ । पहिला जनमोर्चा र एमाले तर अहिले जनमोर्चा र नेकपाबीच एकता गर्ने । केन्द्रमा एक प्रकारको नेगोसिएसन हुने, जिल्लाको परिस्थिति छुट्टै हुने । पहिला आठौं महाधिवेशनबाट म धौलागिरि इञ्चार्ज भएँ, ५ वर्ष । त्यहाँका साथीले सदैव पीडा पोख्ने गर्थे । चुनावमा उनीहरूसँगै लड्नेदेखि कुटाकुटसम्मको स्थिति हुने गथ्र्याे । सधैँभरि हाम्रो विरोध गर्ने, चुनाव आयो कि माथि एकता हुने । सधैँभरि एमालेको राजनीति गर्ने, चुनाव आउँदा जनमोर्चालाई छाड्ने हो भने हामीले के गर्ने भन्नुहुन्थ्यो उहाँहरू तर माथिको निर्णय नमान्न पनि नसकिने, सधैँभरि पीडामा ।

Sharing is caring!

LEAVE A REPLY