प्रदेश प्रमुख : मेयरमा पराजितदेखि पूर्वउपप्रधानमन्त्रीसम्म

सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । जसअनुसार,प्रदेश १ मा सोमनाथ प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिला त्रिपाठी नियुक्त भए । यसरी गरिएको नियुक्ति प्रति नेकपाकै बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समूहले असन्तृष्टी पोख्न थालेका छन् । सरकारले एकलोटी ढंगले प्रदेश प्रमुख नियुक्त गरेको भन्दै नेपाल ले सो निर्णयप्रति असन्तृष्टी पोखेका हुन् । यसरी नियुक्त भएका प्रदेश प्रमुखहरमा कोही पूर्व उपप्रधानमन्त्री भइसकेका व्यक्ति छन् त कोही मेयरको निर्वाचनमा पराजय बेहोरेको व्यक्तिसम्म छन् ।
अमिक शेरचन : लामो सयम जनमोर्चाको अध्यक्ष रहेका अमिक शेरचन पुराना वामपन्थी नेता हुन् । तत्कालीन माओवादीसँग एकता हुनुअघि उनी जनमोर्चाको अध्यक्ष थिए । २०६४ सालको निर्वाचनमा शेरचन चितवन– ५ बाट विजयी भएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधान एवं स्वास्थ्य मन्त्री थिए ।

तिलक परियार : २००७ सालमा रोल्पाको लिवाङमा जन्मिएका परियार २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् । दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका परियार पछि मोहन वैद्यसँगै तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका थिए । रामबहादुर थापा बादल माओवादी केन्द्रमा फर्किंदा परियार पनि सँगै फर्किएका हुन् । २०६४ सालको निर्वाचनमा परियार बाँके १ बाट निर्वाचित भएका थिए ।

सोमनाथ अधिकारी प्यासी : पुराना वामपन्थी नेता हुन्, सोमनाथ अधिकारी प्यासी । उनी कास्कीबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पछिल्लोपटक नेकपा प्रदेश कमिटिले उनको नाम कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस समेत गरेको थियो ।

धर्मनाथ यादव : नेकपाका सादगी नेता हुन् । लामो समय शिक्षण पेशा अंगालेका यादव २०४८ सालको चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । ‘उहाँ सादा जीवन, उच्च विचार राख्ने नेता हो । २०४८ सालमा मसँग पराजित हुनुभएको थियो । मैले कदर गर्ने नेता हो,’ अहिले नेकपाका तर्फबाट सिराहा २ का सांसद समेत रहेका सुरेशचन्द्र दाश स्मरण गर्छन् ।आर्थिक अभावका कारण त्यसपछि उनी चुनावमा उम्मेदवार बनेनन् ।

२०७३ सालमा नेकपा एमालेले गरेको पूर्व पश्चिम जागरण अभियानको क्रममा झापामा स्थायी समितिको बैठक राखेर यादवलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

गोविन्दप्रसाद कलौनी : पुराना वामपन्थी नेता हुन् । हालसम्म अवसरबाट वञ्चित हुँदै आएका उनी सुदूरपश्चिममा तत्कालीन एमालेका चर्चित नेतामध्ये पर्छन् । उनले डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका छन् । पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सकेका छैनन् । उनी २०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने २०५६ सालमा बैतडी र २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए ।६५ वर्षीय कलौनी एकपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार भएपनि पराजित भएका थिए ।

विष्णुप्रसाद प्रसाईं : झापा आन्दोलनसँग जोडिएका पुराना कम्युनिष्ट नेता हुन् । उनी हाल नेकपाको प्रदेश कमिटीमा छन् ।२०४९ को निर्वाचनपछि प्रसाईं झापा जिविस उपसभापति बनेका थिए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी झापाको मेचीनगर नगरपालिकाको मेयरमा उम्मेदवार समेत बनेका थिए ।मेयरमा उनी कांग्रेसका विमल आचार्यसँग पराजित भए । मेयरमा पराजित भएका व्यक्ति अहिले प्रदेश प्रमुख बन्ने भएका छन् ।

शर्मिला त्रिपाठी : माओवादी पृष्ठभूमिकी त्रिपाठी तत्कालीन माओवादीका बेपत्ता योद्धा ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुन् ।प्रदेश प्रमुखमा सिफारिस भएकी त्रिपाठी एक मात्र महिला पनि हुन् । उनी यसअघि कुनै लाभको पदमा बसेकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here