हामी नसर्ने रोगहरुको विना औषधि उपचार गर्छौ : डा कोइराला

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र आश्रमका कुरा

डा.हेमराज कोइराला

Sharing is caring!

मेडिकल सिटीको रुपमा परिचित जिल्ला हो चितवन । यहाँ मेडिकल तथा अस्पतालहरुको निकै ठूलो भीड रहेको छ । प्रायः सबैको उपचार गर्ने तरिका एउटै । तर यो भीडभन्दा केही पर शान्त स्थानमा प्राकृतिक वातावरणका बीच सञ्चालनमा छ, योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, जसको उपचार गर्ने तरिका नै छुट्टै छ । भरतपुर–१ मा बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित यस चिकित्सालयका प्रमुख डा. हेमराज कोइराला हुन् । भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत एस.डी.एम. कलेज अफ नेचुरपेथी एण्ड योगिक साइन्सेसबाट ब्याच्लर पढेका उनले मणिपाल विश्वविद्यालयबाट मास्टर अफ फिलोसोपी गरेका हुन् । आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पिया नारायणगढको पोखरा बसपार्क निवासी स्थानीय समाजसेवी हुन् । चिकित्सालयका उनै डा. हेमराज कोइरालासँग हाम्रा सहकर्मी अजय गोर्खालीले गरेको कुराकानी ।

१) योग तथा प्राकृतिक चिकित्सा कस्तो किसिमको उपचार पद्धति हो ?
– योग तथा प्राकृतिक चिकित्सा भनेकोचाहिँ औषधिविहीन उपचार पद्धति हो । यसमा औषधि ख्वाएर उपचार गर्ने नभई शरीरभित्रबाट नै उपचार खोजिन्छ । प्रकृतिसँग सामञ्जस्य गरेर प्रकृति र मानवको अन्तरसम्बन्धलाई बढाउँदै प्रकृतिसँग नजिक हुँदै प्राकृतिक वातावरणमा घुलमिल हुँदै गर्दा मान्छे आफैं स्वस्थ रहन्छ । जब मान्छे प्रकृतिबाट टाढा हुन्छ, रोगी हुन्छ, दुःखी हुन्छ, विपद्मा पर्छ तर जब मान्छे प्रकृतिमा फर्केर आउँछ, तब ऊ सुखी हुन्छ, शान्त हुन्छ, निरोगी हुन्छ । यसरी नै प्रकृतिसँग सामञ्जस्य कायम गरेर गरिने उपचार पद्धति प्राकृतिक चिकित्सा हो ।
२) कस्ता–कस्ता समस्या तथा रोगहरुको यस पद्धतिद्वारा उपचार गर्न सकिन्छ ?
– सबै विधाका आ–आफ्ना लिमिटेसन भएजस्तै प्राकृतिक चिकित्सा र योग चिकित्साको उपयोगिता नसर्ने रोगहरुमा रहेको छ । संसारमा दुई किसिमका रोगहरु छन्, सरुवा रोग र नसर्ने रोग । सरुवा रोगहरुको कारण चाहिँ कीटाणु, विषाणु, ल्याउ, झ्याउ, ढुसी जस्ता सूक्ष्म जीवको कारणले हुन्छ । तर नसर्ने रोगहरुचाहिँ जीवनशैलीको कारणले, खानपानको कारणले, मानव र प्रकृतिसँगको बढ्दो दूरीका कारणले, आधुनिक परिवेशका कारणले, विज्ञान र प्रविधिका सामानहरुको अत्यधिक प्रयोगका कारणले मान्छे बिस्तारै रुग्ण भइरहेको छ । जस्तै मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मस्तिष्कघात, नसा च्यापिने, हड्डी खिइने, जोर्नीहरु खिइने, अटो ईम्युनका समस्याहरु, बाथ रोग, पिनास, माइग्रेन, साइनोसाइटिस, दम, खोकी, विभिन्न किसिमका क्यान्सरहरु, छालाका रोग, किड्नी फेलियर, अर्गान फेलियर, लिभर फेलियर, हर्ट फेलियर लगायतका विभिन्न किसिमका नसर्ने रोगहरु, एउटा व्यक्तिबाट अर्काेमा नसर्ने तर उसैभित्रका खराब आनीबानी र आदतका कारणले उब्जिएको रोगमा प्राकृतिक चिकित्सा असाध्यै उपयोगी र प्रभावकारी छ ।
३) तपाईंहरुको यस योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पनि यी सबै रोगहरुको उपचार हुन्छ त ?
– विशेषगरी हामीले दुईवटा क्लिनिकबाट सेवा सुरु गरेका हौं, अहिले दुईवटा क्लिनिकमा नै सीमित छौं । एउटा न्युरो क्लिनिक– न्युरोलोजीका रोगहरु, नशाका रोगहरुको । दोस्रोचाहिँ अर्थाेपेडिक्स– हाडजोर्नीका रोगहरुको । यी दुईवटै क्लिनिक एकदम सफल भइरहेका छन् । अब हामी केही समयपछि नै थप विभागहरु थप्दैछौं । हामीलाई प्रदेश सरकारबाट पनि चिकित्सालयको विकास, विस्तार र स्तरोन्नतिका लागि सहयोग भएको छ । त्यसबाट केही यन्त्र उपकरणहरु खरिद गरेर जलचिकित्सा विभाग, अग्नि चिकित्सा विभाग, माटो चिकित्सा विभागहरु खोल्दैछौं । त्यसपछि चाहिँ हामी अन्य पेट सम्बन्धी रोगहरु पनि ठिक गर्छाैं । त्योसँगै हामी मुटु रोगको उपचार गर्छाैं । कोर्नरी आर्टरी डिजिज हर्टअट्याक, जसको कारण हुन्छ, ब्रेन अट्याक, जसको कारणले हुन्छ, ती रोगलाई उल्ट्याउने प्रविधि सञ्चालन गर्छाैं । डाइबिटिजलाई नर्मल अवस्थामा ल्याउने प्रविधि पनि हामीसित छ । उच्च रक्तचाप कन्ट्रोल गर्ने प्रोग्राम पनि हामीसित छ । अबको केही समय अर्थात् फागुनसम्मचाहिँ ती क्लिनिकहरु बनाएर तत्कालै सञ्चालन गरेर लगभग लगभग सबै किसिमका मेजर मेजर नसर्ने रोगहरुको हामी उपचार गर्छाैं ।
४) प्राकृतिक चिकित्सामा कस्ता–कस्ता उपचार विधि अपनाउने गरिएको छ ?
– विशेषगरी प्राकृतिक तत्वहरु माटो, पानी, हावा, घाम, आकाश जस्ता पाँच महाभूत भन्छौं, यी पञ्च महाभूतहरुको उपयोगद्वारा हामी उपचार गर्छाैं । यसैगरी हामीले चाइनिज परम्परागत उपचार पद्धति अकुपञ्चरको पनि सहारा लिन्छौं । जापानिज परम्परागत चिकित्सा पद्धति सियात्सु चिकित्साको पनि सहारा लिन्छौं । नेपाली परम्परागत चिकित्सा पद्धति जडीबुटी उपचार पद्धतिको पनि सहारा लिने गरेका छौं । त्यसैगरी थाइ उपचार पद्धति मसाजको, थाइ मेनुपुलेसन भन्छौं, त्यसको पनि सहारा लिने गरेका छौं । यस्तै चुम्बक चिकित्सा, रङ्ग चिकित्सा, खाद्य चिकित्सा, उपवास, भोजन चिकित्सा, पोषण चिकित्सा, रेकी, काइरो प्राक्टिस, अस्टियोपेथी, फिजियोथेरापी लगायत विश्वभरमा जति पनि ड्रगलेस थेरापी छन्, तिनीहरुको उपयोगद्वारा हामी प्राकृतिक चिकित्सा गर्छाैं ।
५) त्यसो भए माथिका सबै रोगीहरु तपाईंहरुको यस प्राकृतिक चिकित्सालयमा आएर उपचार गरे भने औषधि नखाइकन निको हुन्छन् वा औषधि खाइरहेका छन् भने त्यो खानुपर्दैन हो ?
– जसले औषधि खाइरहनु भएको छ, उहाँहरुलाई औषधि झट्टै हटाउने होइन । तर प्राकृतिक चिकित्सा गर्दै गएपछि बिस्तारै त्यो औषधि ट्यापर गर्दै लगेर त्यसलाई निर्मूल नै बनाउने हाम्रो चाहना रहेको छ । त्यो प्राक्टिस यहाँ भइरहेको पनि छ र यसमा हामी धेरै नै सफल भएका पनि छौं । डाइबिटिज रिभर्सलको यहीँ ट्रायल ग¥यौं, धेरै नै राम्रो रिजल्ट आएको छ । कोर्नरी आर्टरी डिजिजको अथवा हर्टअट्याक जसको कारणले हुन्छ, त्यो रिभर्सल प्रोग्रामको पनि राम्रो रिजल्ट आएको छ । त्यस्तै किड्नी फेलियरको उपचार पनि एकदमै प्रभावकारी भएको छ । समग्रमा भन्नुपर्दा नसर्ने रोगहरुको उपचार एकदमै प्रभावकारी भएको छ ।
६) अकुपञ्चर, एनिमा जस्ता उपचार विधिका कुनै साइड इफेक्ट छन् कि छैनन् ?
– एलोपेथी दबाइ खाएजस्तो बढी साइड इफेक्टचाहिँ छैन । तर हामीले पढ्दाखेरि के चाहिँ पढेका थियौं भने जसको साइड इफेक्ट हुँदैन, उसको इफेक्ट पनि हुँदैन । जेहोस् केमिकल खाएर हुने जस्तो साइड इफेक्ट प्राकृतिक उपचारमा हुँदैन ।
७) प्राकृतिक चिकित्सामा डिप्रेसन, अनिद्रा जस्ता समस्याहरुको पनि विनाऔषधि उपचार हुन्छ भनिन्छ नि ?
– हो प्राकृतिक चिकित्साका सिद्धान्तमा डिप्रेसन, अनिद्रा, मानसिक तनाव, चिन्ता, भय, उदासीनता जस्ता अनेकौं मानसिक समस्याहरुको पनि उपचार हुन्छ । तर अहिले हामीले ती डिपार्टमेन्ट नबनेकाले उपचार गरेका छैनौं । आगामी फागुनदेखि चाहिँ हामी यो सेवा पनि सञ्चालनमा ल्याउँदैछौं ।
८) अब त्यो विभाग सञ्चालनमा आएपछि साइकियाट्रिकको दबाइ खाइरहेकाहरु पनि औषधि खानुनपर्ने अवस्थामा पुग्छन् त ?
– धेरै जनालाई हामीले औषधि छुटाएर निको पनि बनाएका छौं, म यहाँ आउनुभन्दा अगाडि । यसअघि म काठमाडौंमा थिएँ । अब यो ठाउँमा पनि त्यो प्राक्टिस हुन्छ । मानसिक समस्या साइकोसिस र न्युरोसिस गरी दुई किसिमको हुन्छ । हामी न्युरोसिसको चाहिँ राम्रो उपचार गर्छाैं । साइकोसिस भइसकेर वास्तविकतासँग सम्बन्ध कटिएका मान्छेहरुलाई चाहिँ औषधि छुटाउन एकदम मुस्किल पर्छ, त्यस्तालाई चाहिँ एलोपेथी नै राम्रो । तर न्युरोसिससम्मको अवस्थालाई चाहिँ हामी एकदमै राम्रो गर्छाैं ।
९) भनेपछि तपाईंहरुको अबको लक्ष्यअनुसार सुगर, प्रेसर, मुटुरोग भएकाहरुलाई पनि औषधिविना बाँच्न सक्ने बनाउनु हुन्छ ?
– सुगर हामी रिभर्स (बढेको सुगरलाई सामान्य अवस्थामा ल्याउने) नै गर्छांै । प्रेसर, मुटुरोगलाई पनि उल्ट्याउन सक्छौं अर्थात् पहिलेकै सामान्य अवस्थामा ल्याउन सक्छौं ।
१०) जेहोस्, अब अहिलेसम्म औषधि खाएर वाक्क, दिक्क भएकाहरुले यहाँ आएर उपचार गरेपछि राहत पाउने भए ?
– बिलकुल, राहत पाउने अवस्था छ र यो प्राकृतिक चिकित्सा पद्धतिको अवलम्बन गरेर उहाँहरुले सुखी, स्वस्थ र दीर्घ जीवनको आशा गर्न सक्नुहुन्छ ।
११) खानपिनबाट पनि बिरामीको उपचार गरिन्छ भन्नुभो । के खुवाउनुहुन्छ बिरामीलाई ?
– के ख्वाउने भन्दा पनि एउटा सामान्य सिद्धान्तमा अडिग रहेर खानेकुराको प्लान गर्छाैं । सबैभन्दा पहिलो कुरा चाहिँ प्राकृतिक खाद्यान्न । प्राकृतिक तरिकाले उमारिएको, प्राकृतिक तरिकाले खेती गरिएको, गाईको मल हालेको, युरिया लगायत रासायनिक मल नहालेको अर्थात् कृत्रिम तरिकाले नउमारिएको, जेनेटिकल्ली चेन्ज नगरेको, हाइब्रिड नभएर लोकल खानेकुराहरु खोजीखोजी ख्वाउँछौं । दोस्रो कुराचाहिँ जुन सिजनमा जे फल्यो, त्यही चीज खानुपर्छ भन्ने हाम्रो जोड छ । जस्तो कि सुन्तलाको सिजनमा सुन्तला खाने, आँपको सिजनमा आँप खाने । यतिखेर आँप खोजेर भएन, आँप पाइन त पाइन्छ बजारमा तर त्यसले नोक्सान पु¥याउँछ । अर्काे रिजनल, जुन क्षेत्रमा जे फल्छ, त्यही खानुचाहिँ सबभन्दा उत्तम हुन्छ ।

Sharing is caring!

LEAVE A REPLY