मनोज दाहालको झटारो नेतालाई

Sharing is caring!

त्रिभुवनले जिबाउलाई फकाए
बीपीले हजुरबाउलाई सम्झाए
मदनले बुवालाई हौस्याए
प्रचण्डले मलाई नै उक्साए !

जिजुबाउले राणालाई लल्कारे
हजुरबाउले पन्चायत नकारे
बुवाले राजालाई हक्कारे
मैले त बहुदल नै अस्विकारें !

जिबाउको ज्यानै गयो
हजुरबाउको सर्बस्व भयो
बुवाको सम्पत्ति लिलाम भयो
मेरो जोबन यसैमा गयो !

राणा फाली राजा आए
मिलिजुली सरकार चलाए
पन्चायत ढाली बहुदल आयो
त्यसले नि पुगेन गणतन्त्र भयो !

तन्त्र फेरियो मन्त्र फेरिएन
हाकिम फेरिए हैकम फेरिएन
धारा फेरियो धारणा फेरिएन
सामन्त फेरिए सामन्तबाद फेरिएन !

जान्नेको नियम नजान्नेले मान्ने
निर्दोले थाप्ने बलियोले हान्ने
बिकटको कमाइ केन्द्रमा तान्ने
अध्ययन नै नगर्ने सबैभन्दा जान्ने !

गरीब फेरियो गरीबी फेरिएन
हरिप फेरियो हरिपी फेरिएन
रूप फेरियो सार फेरिएन
खुकुरी फेरियो धार फेरिएन !

जुन नेता आए नि कानै चिरेकाछन्
सोझा गरीबका बस्तिमा छिरेकाछन्
सिद्धान्तको खोलमा स्वर्थको छुरा भिरेकाछन्
ठूलो ठान्छन् तर साना लोभमा गिरेकाछन् !

भर्खर छिर्दा सिद्धान्त राम्रो लाग्ने
बुझ्दै गए पछि असाध्यै चाम्रो लाग्ने
माथि जानेलाई अझै जाने रहर लाग्ने
टुप्पैमा पुगेपछि सत्रु पनि आफ्नो लाग्ने !

हात मिलाउंदा आफ्नै मान्छे जस्तो लाग्ने
पदमा पुगे पछि पराई हो कि जस्तो लाग्ने
बिदेशीलाई गाली गर्दा राष्ट्रबादी जस्तो लाग्ने
उनकै निम्ता मान्न जांदा राष्ट्रघाती जस्तो लाग्ने !

दशक दशकमा नयां शक्ति जन्माउने
नारा मीठो छ उद्देश्य अर्कै सजाउने
इमानदारलाई कार्यकर्तामै कजाउने
जो आए नि त्यही गरीबीलाई भजाउने !

राजनीति सबै नीतिको मूल नीति
यसैको खेती गर्नु एक भूल नीति
बुइ चढी माथि पुग्नेको फेरियो स्थिति
चढाउनेहरू चाहीं धिक्कार्छन् परिस्थिति !

देश फेर्न हजारौँ मनुवा राजनीतिमा आउँछन्
दुई चार उपयुक्त टिक्छन् अरू सब हराउँछन्
सम्झौता नगरे आफ्नाले आर्का लगाई मराउँछन्
सब थाहा पाउनेहरू पनि सत्य बोल्न डराउँछन् !!!

नाम : मनोज दाहाल
ठेगाना : बनेपा,काभ्रे (हाल कतार)

Sharing is caring!

LEAVE A REPLY