सूर्य नेपाल प्रालि द्धारा शिक्षकलाई १४ लाख सहयोग

जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यामिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले रु १४ लाख सहयोग गरेको छ ।

विद्यालयमा सरकारी दरबन्दीमा १२ शिक्षक कार्यरत छन् । सूर्य नेपालले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग गरेको कम्पनीका मानव स्रोत प्रबन्धक अञ्जन दुवाडीले जानकारी दिए । “सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा विभिन्न क्षेत्रमा सहयोग गर्ने लक्ष्यबमोजिम विद्यालयमा सहयोग गरिएको हो”, दुवाडीले भने, “तीन वर्षका लागि विद्यालयसँग सम्झौता गरेका छौँ ।”

सूर्य नेपालले गरेको सहयोगबाट विद्यालयमा तीन माध्यमिक शिक्षकलाई तलबको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार चालू शैक्षिकसत्रदेखि नै विज्ञान, अङ्ग्रेजी र गणित शिक्षकका लागि तीन वर्षका लागि कम्पनीले सहयोग गरेको छ ।

विद्यालयको आफ्नै स्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउन समस्या परेको अवस्थामा कम्पनीले गरेको सहयोगले सहज भएको प्रअ भट्टराईले जानकारी दिए । दलित र जनजाति अध्ययन गर्ने उक्त विद्यालयमा ९८ दलित र ६४ जनजाति विद्यार्थी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here