तस्करीको चिनी नेपाली उद्योगको नाममा बिक्री गर्ने गिरोह पक्राउ

राजश्व छलेर भारतबाट ल्याइएको चिनि नेपाली चिनी उद्योगको बोरामा प्याकिङ गरेर बजारमा बिक्री गर्ने धन्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

कलैया उपहानगरपालिका ६ स्थित मछरहट्टा टोलमा रहेको रामनारायण यादवको घरमा प्रहरीले गत असोज २४ गते छापा मार्दा भारतबाट तस्करी गरी ल्याइएको ३८ वटा बोरामा रहेको १७ क्वीन्टल चिनी बरामद भएको थियो ।पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ६ मा रहेको जय हनुमान ट्रेडर्स प्रालिका संचालक रमेश तिवारी र उनका साझेदार दिनेश पाण्डे छन् । उनीहरु दुवैजनालाई कलैयामै लुकीछिपि बसिरहेको अवस्थामा शनिबार बेलुकी साँझ पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

पाण्डे र तिवारीले यादवको घर भाडामा लिएर गोदाममा भण्डारण गरेर राखेको ३८ बोरा चिनीसहित प्रहरीले चिनीको बोरा सिलाउने मेसिन १ थान , बाराको रिलायन्स चिनी उद्योग र सर्लाहीको इन्दु शंकर चिनी उद्योगको नाम, ठेगाना, लोगो र ब्राण्ड छापिएको खाली बोरा २ सय थान बरामद गरेको थियो।
२४ गते चिनी बरामद भएपछि पाण्डे र तिवारी त्यहि दिनबाट फरार थिए, प्रहरी उपरीक्षक खनालले भने, चिनी बारे अनुसन्धान गर्दा ईन्दु कुमारी तिवारीको नाममा दर्ता रहेको जय हनुमान ट्रेडर्स प्रालिको नाउँमा दर्ता रहेको फर्मबाट नेपालका चिनी उद्योगको बोरामा प्याकिङ गरी भारतीय चिनी बजारमा बिक्री वितरण गरी राजश्व छली गर्ने गरेको खुल्न आएपछि फरार रहेका पाण्डे र तिवारीलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैजनालाई बरामद चिनीसहित राजश्व ऐनअनुसार आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको खनालले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here