ज्ञानेन्द्रलाई भट्टराईको चुनौतीः पद चाहिन्छ भने दल खोलेर चुनावी मैदानमा ओर्ले हुन्छ

बिहीबार गृहजिल्ला गोरखा सदरमुकाममा समाजवादी पार्टीले आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

अध्यक्ष भट्टराईले जातीय र वंशीय परम्पराका आधारमा देश चलाउने प्रथाको अन्त्य भएको बताए। राजतन्त्र कुनै पनि हालतमा फर्कँदैन’, उनले भने, ‘जातीय र वंशीय परम्पराको अन्त्य गरेर गणतन्त्र ल्याएका हौँ, अब पछाडि फर्कने ठाउँ छैन।’

अध्यक्ष भट्टराईले देश चलाउने ईच्छा भए दल खोलेर चुनावी मैदानमा ओर्लन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौतीसमेत दिए। उनले पारश र हिमानीलाई पनि चुनावमा उठाएर जितेर देश चलाउन सुझाबसमेत दिए।

‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ उनले भने ।

दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ । ‘चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं,’ उनले भने ।

गणतन्त्रलाई टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न उनले सबैलाई आग्रह समेत गरे । दलहरु बीच एकता हुनु आवश्यक रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here