सीले देउवालाई भनेः कांग्रेसले नेपाल चीन सम्बन्धमा पुर्याएको योगदान भूल्ने छैन

Sharing is caring!

शनिबार साँझ सोल्टी होटलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका क्रममा उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङले नेपालमा कुन पार्टी शक्तिमा छ भन्ने कुराले दुई देशबीचको सम्बन्धमा खासै अर्थ नराख्ने बताएका छन्।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेकासीले नेपाल र चीन धेरै पहिलादेखि नै मैत्रीपूर्ण छिमेकी, असल दाजुभाइ र साथी भएको र भविष्यमा स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताएका हुन्।

त्यस्तो सम्बन्धका लागि नेपालमा कुन पार्टी सत्तामा छ भन्ने कुराले खासै अर्थ नराख्ने पनि सीले बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

सीले नेपाली कांग्रेस पार्टी र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल चीन सम्बन्धमा नेपाली कांग्रेसले सरकार चलाउँदा पुर्‍याएको योगदानलाई चिनियाँ जनताले कहिल्यै नबिर्सने पनि बताएका छन्।

उनले नेपाली कांग्रेससँगको थप सम्बन्ध र सहकार्यका लागि चिनियाँ कम्युनिष्ट पार्टी इच्छुक रहेको पनि देउवासँगको भेटका क्रममा उल्लेख गरेका छन्।

भेटका क्रममा सभापति देउवाले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमण भएको सम्झना गरेका थिए।

देउवाले नेपालको सार्वभौमसत्ताको रक्षा र विकासका लागि चीनले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

उनले नेपाल एक चीन नीतिप्रतिको सधैँ प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा कहिल्यै पनि चीन गतिविधि गर्न नदिने बताएका थिए।

Sharing is caring!

LEAVE A REPLY