मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष झैं यो वर्षपनि असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ भीड नै लाग्ने गर्दछ । दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका ओसार्ने गरेको छ ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

LEAVE A REPLY