नियमविपरित नर्स भर्ना गर्दै बीर अस्पताल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीर अस्पतालमा नियमविपरित नर्स कर्मचारीलाई भर्ना गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को करारमा र अस्थायी कर्मचारी भर्ना नगर्ने गरेको परिपत्र,लोकसेवा आयोगको पत्र र न्याम्स कर्मचारी नियमावलीविपरित बीरले नर्सको करार भर्ना गर्न लागेको अस्पताल स्रोतले बतायो।

सत्तापक्ष र प्रतिपक्षी दलसहित वीर अस्पतालका पदाधिकारीको समेत भागबण्डामा नियमविपरीत २७ जना स्टाफ नर्स नियुक्त गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।

वीर अस्पतालका कर्मचारीहरुले असोज १० गते शुक्रबार निर्देशक डा।केदार सेञ्चुरी र केही पदाधिकारीको मिलेमतोमा स्वास्थ्य मन्त्रालयको निर्देशन तथा लोकसेवा आयोगको परिपत्र विपरीत विनासूचना निवेदन जम्मा पारेर स्टाफ नर्स नियुक्त गर्न लागेको भन्दै उजुरी दिएका थिए ।

यस्तैखाले उजुरी प्रधानमन्त्री कार्यालय, लोकसेवा आयोग, सतर्कता केन्द्र लगायतका निकायमा पनि परेको छ । तत्कालीन कर्मचारी आवश्यक पर्ने भए पनि खुला आह्वान गरेर प्रतिस्पर्धाबाट लिनुपर्ने उनीहरुको भनाइ छ । तर, अस्पताल प्रशासनले प्रमुख दलका नेतालाई समेत भागबण्डा दिएर गुपचुप नर्स भर्ना गरेको छ ।

२७ जना स्टाफ नर्स नियुक्त गरिएकोमा सत्तारुढ नेकपा, स्वास्थ्य मन्त्रालय सम्हालेको समाजवादी पार्टी र प्रमुख विपक्षी नेपाली कांग्रेसको कोटामा समेत भागबण्डा गरिएको स्रोतले जनाएको छ । कांग्रेसको कोटामा समेत नर्स नियुक्त गरेपछि विवादबाट जोगिने उपाय अस्पतालका निर्देशकले निकालेका हुन् ।

LEAVE A REPLY