कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या २३ पुग्यो, सयौं घाइते

People gather near a damaged road after an earthquake of magnitude 5.8 in Mirpur, Pakistan September 24, 2019. REUTERS/Stringer NO RESALES. NO ARCHIVES

हिजो साँझँ पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्प गएको थियो ।

उकत भूकम्पको कारण के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार कार्य राम्रोसँग हुन नसकेको अधिकारीहरुले बताएका छन् । त्यसपछिको परकम्पका कारण मानिस झन् त्रसित छन् । भूकम्प ४ बजेर ३३ मिनेटमा गएको पाकिस्तानको सरकारी निकायले जनाएको छ । झेलममा गएको पहिलो परकम्प ३ दशमलब ४ रेक्टर स्केलको भएको जनाइएको छ । २४ घण्टाको अवधीमा अन्य परकम्प पनि जान सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

पाकिस्तानी पत्रिका डनले मृतकको संख्या २३ भएको गएराति जनाएको थियो । एक सय भन्दा बढीको अवस्था गम्भीर भएको र तीन सयभन्दा बढी घाइते भएको मात्रै बताइएको छ ।

मिरपुर क्षेत्रलाई ‘लिटल इङ्गल्याण्ड’ समेत भन्ने गरिएको छ । जहाँ बेलायती शैलीका थुप्रै भव्य भिल्लाहरु छन् । तर ८ देखि १० सेकेण्डको बीचमा गएको भूकम्पले सो क्षेत्रलाई तहसनहस बनाइदिएको छ । मिरपुरलाई बेलायतसँग दाज्नुको कारण हो– सन् १९६० को दशकमा त्यहाँका मानिसलाई बेलायतले आफ्नो उद्योगमा काम गर्न लैजानु । मिरपुर क्षेत्रका करिब ४ लाख ५० हजार मानिसको बेलायतसँगको नाता गाढा मानिन्छ । धेरैको पाकिस्तान र बेलायत दुवै देशको नागरिकता छ । भव्य खालका घर छन् । पाकिस्तानस्थित बेलायती उच्चायोगको कार्यालयले त्यहाँको पछिल्लो अवस्था बारेमा चासो व्यक्त गरेको छ ।

भूकम्पको धक्का पाकिस्तानको इस्लामावाद, पेसावर, रावलपिन्डी र लाहौरमा पनि महसुस गरिएको थियो । सरकारी अधिकारीहरुका अनुसार पाकिस्तान नियन्त्रित काश्मीरको जातला इलाकामा २५० घरमा क्षति पुगेको छ । पाकिस्तानी सेनाले उद्धारको लागि खटिइसकेको जनाएको छ । उता भारत प्रशासित काश्मीरको श्रीनगरका जिल्ला अधिकारी शाहिद चौधरीले ट्विट गर्दै श्रीनगरमा सबै सुरक्षित भएको र जनधनको नोक्सान नभएको जनाएका छन् ।

LEAVE A REPLY