७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन

अन्नपूर्ण पोष्ट दैनिकले भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच भएको समझदारीलाई ‘असन्तुलित कूटनीति’ भनेर समाचार टिप्पणी लेखेको छ । अन्नपूर्ण लेख्छ, ‘छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले अर्थपूर्ण र असंलग्नताको अन्त्य भनेका छन् । उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नैपर्छ । ‘ सत्तारुढ दल एकतातिर बढी ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरुको तर्क छ ।’

गोरखापत्र दैनिकले भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच भएको अन्तर्क्रिया कोसेढुंगा बनेको समाचार छापेको छ ।

राजधानी दैनिकले नेपाल भ्रमणमा आउने तयारी गरेका चिनियाँ राष्ट्रपति सी जिनफिङले आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)लाई थप जोड दिन सक्ने समाचार लेखेको छ ।

नागरिक दैनिकले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको समाचार लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोध मात्रै देखिने ठहर गरेपछि प्रक्रिया रोकिएको समाचारमा उल्लेख छ ।

सरकारी ललितानिवासको जग्गा किनबेचमा मन्त्रिपरिषदको २०६७ वैशाख ३१ को निर्णय पनि कारक भएको पूर्वसचिव शारदाप्रसाद त्रिताल छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसबेला नेपाल प्रधानमन्त्री थिए । नागरिकले मुख्य सचिव लोकदर्शन रेग्मीका कारण प्रधानमन्त्री अप्ठेरोमा परेको समाचार पनि छापेको छ ।

अन्नपूर्ण पोष्टले नेपाल वायु सेवा निगमसँग १४ जहाज भए पनि जम्मा ६ वटामात्र उडिरहेको समाचार छापेको छ । दशैंको मुखमा दुई वाइडबडी जहाजमध्ये एउटा ग्राउन्डेड भएको समाचारमा उल्लेख छ । नाइन एन एएलवाई कलसाइनको ‘अन्नपूर्ण’ विमान ग्राउन्डेड भएको हो । तेल धेरै खाएपछि उडाउन रोकिएको निगमका प्रवक्तालाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको मुख्य समाचार छापेको छ ।

यस्तै कारोबार दैनिकले निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियावस्ती स्थानान्तरण सुरु भएको समाचार छापेको छ ।

LEAVE A REPLY