के गर्दैछन् दरबारका शक्तिशाली सचिवहरु ?

राजाको प्रत्यक्ष शासन । राजदरबारको शान, मान र अभिमान !

नारायणहिटी राजदरबारभित्र महाराजा, महारानी, युवराज र राजपरिवारका सदस्यका अगाडि दिन बिताउन जति नै सकस होस् । तर, दरबारबाहिर भने तत्कालिन श्री ५ महाराजाधिराजका सचिवहरूको रवाफ थामिनसक्नु नै हुन्थ्यो !

त्यो शान, मान र अभिमानमा बाँचेका राजाका शक्तिशाली सचिवहरू अहिले के गरिरहेका होलान् ? कसरी दिन बिताइरहेका होलान ?

आम मानिसलाई त यस बारेमा खासै चासो छैन । तर, जसले ति सचिवको शासन देखे र भोगे उनीहरूका लागि भने धेरै नै चासो छ ।

किनभने उनीहरूलाई रिझाउन पाउँदा धेरैका दिन फिरेका थिए । रिझाउन नसक्दा धेरैका दिन, दशा, ग्रह सबै बिग्रिएका थिए । सारा जीवनको बाटोले अर्कै मोड लिएको थियो ।

राजाका सचिवहरूले नारायणहिटी मात्रै चलाउँदैनथे । सिंहदरबार पनि चलाउथे तर भूमिगत शैलीमा ।

यहि शैलीप्रति कठोर प्रहार गर्दै ‘पञ्चायतका सुपुत्र’ सूर्यबहादूर थापाले २०४० सालतिर भनेका थिए– देश भूमिगत गिरोहले चलाइरहेको छ । राजा भूमिगत गिरोहको चङ्गुलमा छन् ।

यतिबेला थापाको कठोर आरोप खेपेका न राजा विरेन्द्र यो धर्तीमा छन्, न त थापा स्वयम नै ।

यसको अन्तिम प्रयोग पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका थिए– २०५८ सालमा राजा विरेन्द्रको वंशनासपछि ।

सिंहदरबारमा नाममात्रका ‘खोपीका देउता’ प्रधानमन्त्री, मन्त्रीहरू थापना गरि नारायणहिटीबाट शासन चलाउन ज्ञानेन्द्रलाई खुबै रहर चल्यो । शुरूमा २०५८ असोज १८ मा ‘सफ्ट कु’ र पछि २०६१ माघ १९ मा ‘हार्ड कु’ गरि ज्ञानेन्द्रले राज्यसत्ता आफ्नो हातमा लिएका थिए ।

ज्ञानेन्द्रको सत्तालाई भूमिगत शैलीमा चलाउने जिम्मा चाहीँ यिनै राजदरबारका सचिवहरुको थियो । राजदरबारमा ‘भूमिगत गिरोह’ पुनः स्थापना भएको थियो ।

ज्ञानेन्द्रको अध्यक्षमा गठन भएको मन्त्रिपरिषदका उपाध्यक्षद्वय डा. तुल्सी गिरी र किर्तिनीधी विष्टले भूमिगत गिरोहलाई तन, मन र बचनले स्विकार गरेर देखावटी रूपमा आफुहरू प्रधानमन्त्रीको हैसियतमा रहेको भान दिइरहेका थिए ।

ज्ञानेन्द्रको प्रत्यक्ष मातहतमा रहेर भूमिगत गिरोहको नेतृत्व गरेका थिए– राजदरबारको प्रमुख सचिवालयका प्रमुख सचिव पशुपतिभक्त महर्जनले ।

राजाको चाहनाअनुसार सिंहदरबारको मन्त्रिपरिषद कार्यालय चलाउने जिम्मेवारी उनैको थियो । मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुल्सी गिरी र किर्ति्निधी विष्टले उनैलाई रिपोर्टिङ गर्नुपर्थ्यो ।

औपचारिकता र मिडिया कन्जब्सनका लागि दुवै उपाध्यक्षहरू जाहेरीका लागि राजदरबार जान्थे । नेपाल टेलिभिजनलाई बोलाएर दरबारबाट फर्किदै गरेका भिडियोहरू प्रशारण गराउँथे । मानौं, देश सञ्चालनको सर्वा्धिकार राजापछि उनीहरूमै छ । कार्यकारी अधिकार उनीहरूले नै प्रयोग गरिरहेका छन् !

तर महर्जनलाई यो सब गरिरहनुपर्ने कुनै जरूरी थिएन । उनी के गर्नुपर्छ र के गर्नु हुदैन भनेर राजास“ग परामर्श गर्थे र निश्कर्षमा पुगेपछि त्यहि कार्यान्वयन गर्थे । कैयौं पटक मन्त्रिपरिषदका यी ‘थपना’ उपाध्यक्षहरूले निर्णय कार्यान्वनमा गइसकेपछि मात्रै के भइरहेको छ भन्ने थाहा पाउथे ।

अर्थात्, राज्यसत्ता ‘भूमिगत गिरोह’ले चलाउथ्यो ।

‘भूमिगत गिरोह’का सबैभन्दा माथिल्लो तहका महर्जनको शान, मान र अभिमान राजतन्त्रको समाप्तिसँगै सकिएको छ ।

यत्रो शक्तिको अभ्यास गरेका महर्जन अहिले के गर्दै होलान् त ?

हामीले उनको बारेमा थाहा पाउने कोसिस गर्यौं ।

उनी नजिकमा मानिसहरू, आफन्तजन र राजदरबारका कर्मचारीहरूसँग हामीले यस बारेमा छलफल गर्यौं ।

उनको दिनचर्यालाई नजिकबाट नियाल्यौं ।

अहिले उनी पूजापाठमामा तल्लिन छन् । राजतन्त्र फेरी फर्कियोस् भनेर भाकल गर्न अब उनीसँग नरदेवी नै सबैभन्दा नजिककी देवी छिन् ।

पुख्र्यौली आवासबाट सुनिने नरदेवीमा बजेका घण्टहरूको आवाज उनका सायद सबैभन्दा प्रिय धुन हुन् ।

आजको दिनमा राजतन्त्र फर्काउने कुनै धिमा आशा बाँकी छ भने धार्मिक सहिष्णुताको नाममा भइरहेका विकृत व्यवहारहरू नै हुन् ।

राज्यले धार्मिक सहिष्णुताको नीति अंगाल्दा त्यसको दुरूपयोग यति निच तहमा ओर्लिएको छ कि धर्म बजारमा राखिएको वस्तुजस्तै किनवेच भईरहेको छ ।

राजनीतिक नेताहरू धार्मिक सहिष्णुताको सुन्दर आवरणमा क्रिस्चियनहरूको धार्मिक विस्तारीकरणका मतियार बनिरहेका छन् । असल संविधानलाई पर्दा बनाएर भित्रभित्रै धर्म परिवर्तनको घृणित खेलमा नेताहरू नै मुख्य खेलाडी बनिरहेका छन् ।

धर्मलाई अफिम ठान्ने कम्युनिष्टहरू हाम्रा सनातन धर्म्हिन्दू र बौद्ध धर्मको विरूद्धमा केन्द्रित भएका छन् मानौं उनीहरु किस्चियन धर्मका पादरी हुन् ।

यहि घृणित खेलको जगमा नेपालमा राजतन्त्र फेरी फर्किनेछ भन्ने झिनो आशा राखेर पशुपति महर्जनहरूले नरदेवीका घण्ट बजाइरहेका छन् ।

उनी सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन्छन् । तर, लो प्रोफाईलमा रहेर ।

मिठो मसिनो भाषा बोल्छन् । कसैलाई चिढ्याउँदैनन् ।

सामाजिक कामहरूमा उपस्थिती जनाउँछन् । तर, सामाजिक कामका लागि भने दान दातव्यमा रूचि राख्दैनन् । सायद छुच्याई गर्न पनि उनले पूर्वराजा ज्ञानेन्द्रबाट सिकेका होलान् !

राजा ज्ञानेन्द्रका मुख्य विश्वासपात्र अहिले पनि उनै हुन् । ज्ञानेन्द्र निवास स्रोतहरू भन्छन्– बेला बेलामा ज्ञानेन्द्रले उनलाई बोलाउछन् । सल्लाह लिन्छन् । निर्देशन दिन्छन् । उनको भक्ति ज्ञानेन्द्र राजा हुँदा जस्तो थियो अहिले पनि उस्तै छ ।

‘महाराजबाट निर्देशन बक्स भयो भने बेला बेलामा निर्मल निवास जान्छु । आफुले जानेको सल्लाह दिने हो । अरू बेला घरतिरै बिताउछु ।’ महर्जनलाई उधृत गर्दै राजदरबारमा उनीसँग लामो समय विताएका एक कर्मचारी बताउछन् ।

ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुुरू हुनुअघि शेरबहादूर देउवा प्रधानमन्त्री हुदैदेखि उनले सिंहदरबारको शासन चलाउन थालेका हुन् ।

२०५९ साल जेड ८ गते मध्यरातमा ज्ञानेन्द्र र शेरबहादूर देउवा मिलेर तत्कालिन संसद विघठन गरि निर्वाचनको घोषणा गरेका थिए । शेरबहादूर त्यतिबेला लोकतन्त्र मास्न ज्ञानेन्द्रका गोटी बनेका थिए ।

आफुलाई प्रधानमन्त्री पद भएपछि ज्ञानेन्द्रका सबै हर्कत संवैधानिक प्रकृया पुरा गराएर मास्न शेरबहादुर उद्यत बनेका थिए । पछि ज्ञानेन्द्रले ‘असक्षम प्रधानमन्त्री’ घोषणा गरि बर्खास्त गरेपछि अलिअलि होस खुलेका देउवालाई ज्ञानेन्द्रले पुनः प्रधानमन्त्री बनाएपछि ‘गोर्खाका राजाले न्याय दिए’ भनेर ज्ञानेन्द्रको जयजयकार गर्ने यिनै देउवा हुन् ।

मध्यरातमा संसद विघठनका लागि प्रधानमन्त्री शेरबहादूर देउवाको सिफरिस पत्र लेख्ने यिनै महर्जन थिए । महर्जनले लेखेको पत्रमा शेरबहादूरले सहि गरेपछि ज्ञानेन्द्रको संसद विघठनको शाही घोषणापत्र पनि यिनैले तयार गरेका थिए ।

महर्जन किलागल चोकका स्थानीय वासिन्दा हुन् । राजदरबार उनको अर्को घर थियो ।

कारण– उनी अलि जान्ने भएपछि यो संसारमा उनले पाएको संसार नै राजदरबार थियो ।

उनका बाबु राजाका सेवक थिए । आक्कल झुक्कल राजासँग भेट्न पाउने । महेन्द्रका भक्त । वीरेन्द्रका भक्त ।

राजदरबारको बँगैचामा झुल्ने फुलहरूका शौखिन थिए– राजा महेन्द्र र वीरेन्द्र पनि ।

त्यहि बगैचामा राजाहरूलाई मन पर्ने फुलहरू छानेर लगाउने, पानी हाल्ने र स्याहार्ने सेवामा थिए– पशुपतिभक्त महर्जनका बाबु ।

पशुपतिले एसएलसी पास गरेपछि बाबुले राजदरबारका कोही शक्तिशालीलाई भनसुन गरे– मैले दरबारको सेवा गरेकै छु । मेरो छोरालाई पनि सेवा गर्ने अवसर प्राप्त होस् सरकार ।

उनको कुरा सुनुवाई भयो । पशुपति पनि दरबारका सेवक भए इन्ट्री लेभलमा ।

युवा हुँदै राजदरबार पसेका उनको तन र मन अहिले पनि राजदरबार वरिपरि नै घुमिरहेको छ ।

राजतन्त्रको औपचारिक समाप्तीसँगै २०६५र०६६ सालतिर उनी राजतन्त्र पुनः फर्काउन सकिन्छ भन्ने गहिरो विश्वासका साथ काम गर्थे । त्यतिबेला प्रभु शमसेर राणा र महर्जन राजतन्त्रको पक्षमा सार्वजनिक रुपमा वातावरण बनाउन क्रियाशिल थिए ।

उनलाई साथ दिनेहरू थिए–सच्चित शमसेर जवरा, भरतकेशर सिंह, वीरेन्द्र बहादूर शाह, प्रभाकर शमसेर जवरा र शरदचन्द्र शाह ।

उनीहरू राजा ज्ञानेन्द्रलाई पुनर्वहाली गराउन मिडिया हाउस स्थापना गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेका थिए ।

संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहेका एकजना वरिष्ठ पत्रकार उनीहरूको सल्लाहकारको भूमिकामा थिए ।

प्रमुख सैनिक सचिवबाट शान्त बहादूर मल्लले अवकास पाएपछि त्यो स्थानमा पुगे विवेक शाह ।

राजदरबार हत्याकाण्ड हुँदा उनै प्रमुख सैनिक सचिव थिए ।

राजा ज्ञानेन्द्रलाई राजाका रूपमा स्थापित गर्ने प्रमुख जिम्मेवारी उनकै थियो ।

किनभने वीरेन्द्रको बंश नासपछि नेपालीको मनबाट राजाको सम्मान पखालिएको थियो ।
आम मानिसहरू ‘दाजुको हत्यारा’ का रुपमा ज्ञानेन्द्रलाई श्रापिरहेका थिए ।

ज्ञानेन्द्रलाई जनताको मनैदेखिको सम्मानका आधारमा होइन सैनिक बलका आधारमा राजमुकुट लगाएर राजगद्धीमा बसाउनु परेको थियो ।

राजाका रुपमा जवर्जस्त स्थापित गर्ने जिम्मेवारीमा थिए विवेक ।

सैनिक सचिवको जिम्मेवारी अनुसार सैनिक बलमा ज्ञानेन्द्रलाई राजाका रूपमा स्थापित गरेपछि उनी दरबारमा शक्तिशाली सचिव बनेका थिए ।

ज्ञानेन्द्रले उनलाई रक्षा र गृह मन्त्रालयको जिम्मेवारी दिएका थिए । तत्कालिन शाही नेपाली सेना र नेपाल प्रहरी आफैमा छुट्टाछुट्टै शक्तिकेन्द्र थिए जसको जिम्मेवारी पनि उनैले सम्हाल्थे ।

दरबारबाट अवकास पाएपछि विवेक शाहले ‘मैले देखेको दरबार’ नामक पुस्तक लेखेका छन् ।
उक्त पुस्तकको ‘मेरो भन्नु’ शिर्षकमा उनी लेख्छन्–

‘मेरो मुख्य जिम्मेवारी देशको शान्ति–सुरक्षामा गृह, रक्षा र आवश्यकता अनुसार अन्य मन्त्रालय तथा सुरक्षा निकायसँग समन्वय गर्नु भए श्री ५ को सैनिक सचिवको नाताले मलाई भेट्न आउने राजनीतिक नेता, बुद्धिजीवी वा अन्य व्यक्तिहरूसँग नियमित सम्पर्क हुने गर्दथ्यो ।’

ज्ञानेन्द्रको असोज १८ को राजनीतिक कु लगत्तै भोलिपल्टको सुरक्षा सम्वन्धी बैठकका सम्वन्धमा उनले पुस्तकमा लेखेका छन्–

‘देशको सुरक्षा व्यवस्थाको विश्लेषण गर्न दिउसो ३ बजे शाही जङ्गी अड्डामा सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्यो । मैले सुरक्षा प्रवन्ध राम्रोसँग गर्ने भनेर निर्देशन दिएको थिएँ । विशेष गरी काठमाडौं उपत्यकाको । त्यही अनुसार बैठकले विस्तृत योजना बनाएर सुरक्षा प्रवन्ध गर्ने निर्णय गर्यो ।’ (पृष्ठ १०९, मैले देखेको दरबार, शाह विवेक)

अर्थात् राजापछि सुरक्षा मामिला सम्हाल्ने जिम्मेवारी प्रमुख सैनिक सचिवको थियो । प्रधान सेनापति वा प्रहरी महानिरिक्षकहरूले उनको निर्देशन पालना गर्नु कर्तव्य थियो ।

सुरक्षा मामिला, तत्कालिन शाही नेपाली सेना, नेपाल प्रहरीको अनौपचारिक ‘अधिपति’ उनै थिए । राजदरबारबाट भूमिगत शैलीमा रक्षा र गृह मन्त्रालय चलाउने उनै थिए ।

मर्यादा क्रममा रक्षा मन्त्री, गृह मन्त्रीको स्थान माथि थियो । तर, व्यवहारतः ति मन्त्रीहरुका हाकिम नारायणहिटीमा विवेक थिए ।

प्रधान सेनापति, प्रहरी महानिरिक्षक सबै उनीप्रति उत्तरदायी थिए ।

कसलाई प्रधान सेनापति बनाउने, कसलाई प्रहरी महानिरिक्षक बनाउने भन्ने कुराको हात उनकै हुन्थ्यो । त्यसैले प्रधान सेनापति र प्रहरी महानिरिक्षक बन्ने लाईनमा रहेकाहरूले चाकरी गर्ने ठाउँ उनकै दैलो हो ।

राजपरिवारका सदस्यहरूको प्रत्यक्ष चासो व्यक्तिहरू अगाडि परे भने अर्कै कुरा नत्र समग्र सुरक्षा मामिलासँग जोडिने बिषयमा शासन गर्ने उनै थिए ।

सेना, प्रहरीका लागि के हतियार किन्ने, कति किन्ने, कति कमिसन राजालाई ‘चढाउने’ तल कुन कुनकोे भागमा कति बाड्ने सबै जिम्मेवारी उनकै थियो ।

गृहमन्त्रीका रूपमा दानवहादूर शाही वा कमल थापाहरूको स्वर सार्वजनिक रूपमा चर्को हुन्थ्यो । तर, सानो स्वरमै उनले शासनको हिसाव किताव आफैसँग राखेका थिए ।

विवेक ज्ञानेन्द्रले आफुलाई निकै माया गर्छन् भन्ने विश्वासमा थिए । तर, राजाले उनलाई राजिनामा गर्न बाध्य पारे ।

विवेक अहिले सुरक्षा मामिलाको अध्ययनमा समय विताउछन् । किताव लेखेका छन् जुन धेरै विक्रि हुनेमध्येमा पर्छ । कार्टर सेन्टरका कामहरूमा पनि संलग्न छन् ।

३० बर्ष राजदरबारको सेवामा विताएर प्रमुख सैनिक सचिव बने । र, मन्त्री पद विनै सिंहदरबारको शासनमा समेत हालीमुहाली गरे ।

तर त्यो रवाफपूर्ण जीवन सामान्य नागरिकका रूपमा बदलिएको डेढ दशक पुगिसकेको छ ।

ज्ञानेन्द्रलाई गजेन्द्र लिम्बुलाई जतिसक्दो चाँडो सैनिक सचिव बनाउन हतारो थियो । त्यसैले विवेकलाई स्वभाविक कार्यकाल पनि पूरा गर्न उनले दिएनन् ।

प्रमुख सैनिक सचिवका रूपमा लिम्बुले त्यही गरे जो विवेकले गरेका थिए ।

तर उनले शासन कम र परेशान बढि ब्यहोनुपर्यो ।

राजतन्त्रलाई नारायणहिटीमा श्रद्धान्जली दिएर घर फर्किनुको पिडा लिम्बु र त्यो बेलाका सचिवहरूलाई जति थाहा कसलाई पो होला र !

राजतन्त्रको अवसानपछिको उनको जीन्दगी घरको ‘चार दिवार’भित्र सिमित भएको छ ।

उनी गल्फ खेल्न रूचि राख्ने मानिस हुन् । समय विताउन गल्फ उनको साथी बन्यो ।

भैंसेपाटीमा घर सिंगारेर बस्नु उनको दिनचर्या हो । उनले घरमा गार्डे्निङ गरेका छन् ।

साथीभाईलाई गार्डेन हेर्नकै लागि निम्ता दिन्छन् । र, सोही निहुँमा जमघटलाई रमाईलो बनाउछन् ।

दरबारको शान त्यहि दिन सकियो जुन दिन ज्ञानेन्द्रको सवारी नागार्जुन दरबारतर्फ रवाना भयो ।

बिरेन्द्रको विरासतहुदै ज्ञानेन्द्रसम्म प्रमुख संवाद सचिवको भूमिकामा रहेर शासन गरे मोहनबहादूर पाण्डेले । उनका उत्तराधिकारी बने योगेश्वर कार्की ।

त्यतिबेला भूमिगत गिरोहका शक्तिशाली सदस्यका रूपमा क्रमश उनीहरुले शासन चलाए । उनीहरू ज्ञानेन्द्रको प्रमुख संवाद सचिवको औपचारिक जिम्मेवारीमा थिए र नारायणहिटीबाट प्रत्यक्ष रूपमा सञ्चार मन्त्रालयका गतिविधि हेर्ने गर्थे ।

त्यसका अतिरिक्त कार्कीले परराष्ट्र मन्त्रालय पनि सम्हाल्ने जिम्मेवारी राजाबाट पाएका थिए ।

राजाबाट जिम्मेवारी पाएपछि मन्त्रीहरूले उनीहरूलाई रिपोर्टिङ गर्नुपथ्र्यो । अर्थात् मन्त्रीहरूका ‘हाकिम’ उनै थिए । तर, सार्वजनिक रूपमा जिम्मेवार थिएनन् ।

यहि प्रवृत्तीको न्वारन गरेर सुर्यबहादूर थापाले ‘भूमिगत गिरोह’को नामाकरण गरेका थिए ।

ज्ञानेन्द्रले सत्ता हातमा लिए लगत्तै मिडिया हाउसहरूमा सेनाको घेरावन्दी गरिएको थियो । न्यूजरुम र सम्पादकका कोठाहरूमा बन्दूक बोकेका सेनाका अधिकारीहरु तैनाथ गरिएको थियो । यो काम दरबारबाट योगेश्वर कार्कीले सम्हाल्थे । सैनिक सचिवालय पनि यसमा प्रत्यक्ष संलग्न त थियो तर अन्तिम निर्णय भने संवाद सचिवालयले नै गर्थ्यो ।

नेपाल टेलिकम, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोर्खापत्र, दूर सञ्चार प्राधिकरण लगायतका सरकरी निकायहरुमा कुनै पनि कर्मचारी नियुक्त गर्नुपूर्व उनकै स्विकृती चाहिन्थ्यो । सायद उनले स्विकृतीका लागि राजाकहाँ आफ्नो रायसहित पेश गर्दा हुन् ! उनीहरूले चाहेका मानिसले मात्रै यि सस्थाहरुमा जागिर पाउथे ।

नेपाल टेलिभिजनमा विजयकुमार, गोर्खापत्रमा युवराज गौतमहरूको हालिमुहाली भएको समय यहि हो । अरू पत्रकार विहान कार्यालय जादा एकजोर ‘एक्ट्रा ड्रेस’ झोलामा बोकेर जान्थे । तर, विजयकुमार र गौतमहरू भने राजाको स्तुतीमा मस्त थिए । राजाका विरोधीहरूलाई ‘तह लगाउने’ र राजाका गुलामहरूलाई टेलिभिजनको पर्दा र गोर्खापत्रको पानाहरूमा हालिमुहाली गर्न दिने मुख्य पत्रकार यिनै हुन् ।

उनीहरूले समग्र पत्रकारिताको ठेक्का लिएका थिए– कार्कीकै आडमा । ज्ञानेन्द्रको नाउँ डुबीसक्दा पनि नेपालमा राजतन्त्र जोगाउने अभिभारा आफुहरूकै काँधमा रहेको भ्रम उनीहरूमा थियो ।

ज्ञानेन्द्रको शासनमा मिडियामाथि वास्तवमै क्रूर शासन चलाईयो । बन्दूकले समाचार लेखेको समय यहि हो । दुनियामा यस्ता इतिहास अन्यत्र पनि छन् तर जति छन् ति सबै घृणित छन् । आजको समयमा अपमानित छन् । र, अशभ्य मानिएका छन् ।

त्यहि काम यिनिहरूले गरेका थिए ।

राजतन्त्रको अवसानपछि कार्की गुमनाम बनेका थिए ।

दरबारबाट बाहिरिएपछि उनको काम पनि पुजापाठ गर्ने, शंख घण्ट बजाएरै वितिरहेको छ ।

आत्मामा राजतन्त्र फेरी पुनस्र्था्पित भए हुन्थ्यो भने चाहनाको गहिरो वास छ ।

दरबारबाट शक्ति प्रयोग गर्ने अवसर पाएकामध्येमा ज्ञानेन्द्रका निजी सचिवहरू पनि अग्रस्थानमा पर्छन् । ज्ञानेन्द्रको प्रारम्भिक समयमा सुदनप्रसाद पोखरेल र पछिल्लो समयमा सागरप्रसाद तिमिल्सिनाले त्यो शक्ति प्रयोग गर्न पाएका थिए ।

राजाको प्रमुख निजी सचिवका रूपमा उनीहरूले राजाको नाममा सिंहदरबारमार्फत् शासन चलाउथें ।शासकका निजी सचिवहरू त्यो शासनका द्वार हुन् । उनीहरू यस्तो ढोकामा बसेका हुन्छन् कि त्यो शासनको ढोका खोलिदिने वा बन्द गरिदिने भन्ने कतिपय कुरा उनीहरुकै तजविजीमा भर पर्छ ।

राजाको निजी सचिवका रुपमा दरबारबाहिरको शासनमा उनीहरुले यहि तजविजी शासन चलाएका थिए ।

उनीहरुको पहुँच सिंहदरबारको सरकारी क्षेत्रमा मात्रै सिमित थिएन, सरकारी क्षेत्रभन्दा बाहिरको निजी क्षेत्र र अन्तर्रा्ष्ट्रिय सम्पर्कसम्म पनि उनीहरूको पहुँच हुनु स्वभाविक थियो ।

त्यो शासनको रजगजमा रहेका निजी सचिवहरूको जीवन पनि अहिले अध्यारो बनेको छ ।

सागर तिमिल्सिना अहिले पनि ज्ञानेन्द्रको निजी सचिवको हैसियतमा कार्यरत छन् ।

ज्ञानेन्द्रका मिटिङ, भिजिट र मन्दिर दर्शनका कार्यक्रमहरू यिनैले मिलाउछन् ।

ज्ञानेन्द्रलाई अहिले पनि राजा हुँ भनेर आभास दिलाउने सम्भवतः उनी एक्ला सेवक हुन्, अहिले ।

उनी ज्ञानेन्द्रलाई ‘श्री ५ महाराज’ का रुपमा सम्वोधन गर्छन् । राजाका हुकुम पालना गर्छन् । राजकीय शैलीमा दर्शन भेट चलाउछन् । भेटघाटमा आउनेलाई राजकीय भाषा प्रयोग गर्न सम्झाउछन् । राजाबाट बक्स भएका आदेशहरूलाई सम्वन्धितकहाँ पुर्याउँछन् ।

ज्ञानेन्द्रको सवारी हुने ठाउँमा एकदिन पहिल्यै पुगेर सुरक्षाको स्थिती ‘रेकी’ गर्छन् । आयोजकहरूलाई उनी पूर्व राजा हैन वर्तमान राजाकै हैसियतमा सम्मान गर्न सिकाउछन् ।

लोकतान्त्रिक प्रणालीमा देखिएका खरावीविरूद्ध जनताको सेन्टिमेन्ट आफ्नो पक्षमा पार्न बेलाबेलामा आउने ज्ञानेन्द्रका वक्तब्य तयारी गर्ने काम पनि यिनैले गर्छन्– फणी पाठकसँगको सहकार्यमा ।

नेपाललाई हिन्दू राष्ट्र बनाउन पाईयो भने ज्ञानेन्द्रलाई फेरी राजाका रुपमा पुनस्र्था्पित गर्न सकिन्छ भनेर आशा राख्नेमध्येका उनी पनि एक हुन् । त्यसैले ज्ञानेन्द्रको देशभरका मठमन्दिरहरूमा सवारी चलाउने कामको नेतृत्व यिनैले गरेका छन् ।

ज्ञानेन्द्र सत्ताको शासनको रौनक यिनका लागि इतिहास बनेको त छ तर त्यो इतिहासलाई पुनर्जि्वित गरेर आफ्नो हैसियत फर्काउन सकिएला भन्ने यिनको सपना भने मरेको छैन ।

समय कति बलवान् छ । कति क्रूर छ । वा कति महान छ ।

कुनै समय ज्ञानेन्द्रका यि सेवकहरूले जे चहयो देशमा त्यहि हुन्थ्यो । सम्पूर्ण नेपालीमाथि उनीहरूको क्रूर शासन चल्थ्यो ।

तर आज उनीहरू सायद त्यो शासन आफैले भोग्नु परेको महशुस गर्दा होलान् !

क्या बात् ! उनीहरूको शान, मान र अभिमान सबै मरेको छ ।

भूमिगत गिरोहको शासन पतन भएको छ !
श्वेतपत्रबाट

LEAVE A REPLY