इटहरीका मेयरले च्याते प्रहरीकै अगाडि अदालतको आदेश

व्यक्तिगत जग्गामा खोला कुदाउन खोजेको भन्दै उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिकाबिरुद्द मुद्दामा अन्तरिम आदेश जारी गरेको छ। सार्वजनिक सम्पत्ति संरक्षणको नाममा व्यक्तिगत रिसिभीमा निजी सम्पत्तिको विनास गरेको भन्दै मुद्दा परेको परेको थियो।

इटहरी लाविपुरमा रहेको खोलालाई व्यक्तिगत जग्गामा उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले हाल्न खोजेको भन्दै मुद्दा परेको थियो। कमला चौलागाई लगायतले हालेको मुद्दामा उच्च अदालतले उपमहानगरलाई तत्काल काम रोक्नु निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो। तर, मेयर चौधरीले प्रहरीकै अगाडि अदालतको आदेशपत्र च्यातेका छन्। बिहीबार अदालतको आदेश बुझाउन गएका एक युवाको हातबाट पत्र मागेर उनले च्यातेका हुन्।

निवेदक तीर्थराज महतो सहितको समूहले इटहरी उपमहानगरपालिकालाई विपक्षी बनाई निवेदन दिएको थियो। आफ्नो जग्गामा जथाभावी कल्भर्ट बनाउने र पैनी खन्ने काम भएको भन्दै उनीहरुले निवेदन दिएका थिए। सोही निवेदनको आधारमा फैसला सहितको पत्र बुझाउन गएका महतोको हातबाट पत्र मागी मेयर चौधरीले च्यातिदिएका हुन्।

त्यस्तै अर्का निवेदक शान्ता चौलागाईसमेतको निवदेनमा न्यायाधीश प्रेमराज ढकालको इजलासले सो जग्गामा कुनै पनि काम नगर्नु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ। सोही इजलासले भदौ ३० गते सोमबारलाई पेशी तोकेको छ। उक्त मितिसम्ममा कित्ता नम्बर ५५४ र १५३५ लगायत जग्गामा असर पर्नेगरी कुनै काम नगर्न भनिएको छ।

यस विषयमा बुझ्न खोज्दा मेयर चौधरीले कुनै प्रतिक्रिया दिन मानेनन्। उता इलाका प्रहरी कार्यलय पकलीका प्रमुख प्रहरी इन्सपेक्टर जिपेश दाहाल पत्र च्याते पनि त्यसपछि काम रोकिएको बताउँछन्।

LEAVE A REPLY