एउटाको मात्रै भर, ज्यानै जाने डर

एउटा अनाडी डाक्टरका कारण मान्छेको जिन्दगी कसरी तहस–नहस हुन्छ ? कसरी लुटिन्छ खुशी ? र, शिकार होइन्छ मानसिक तनावको जल्दोबल्दो उदाहरण हुन् सञ्जीव न्यौपाने र एकता घिमिरे । जो ग्राण्डी अस्पतालका अनाडी डाक्टरको कारण भोगिरहेका छन् चरम यातना । ४० औं लाख खर्च गर्दा पनि खुशीको दियो (उनीहरूको बच्चा) आज निभ्छ वा भोलि ठेगान छैन । यस्तै खाले प्रताडनाको शिकार भएको पात्र हुँ मिङमार छिरिङ तामाङ ।

रसुवाको वृदिममा जन्मिए । कान्छा छोरा । पारिवारिक स्थिति निकै विरहलाग्दो । हातमुख जोड्न धौधौ । बिहान खाए, बेलुका के खाऊँ, बेलुका खाए बिहान के खाऊँ । बुबा–आमाले दिनरात हाडछाला घोटेको देख्थेँ नजिकैबाट । त्यही कारण होला सानैदेखि बालमस्तिष्कमा यसको गहिरो छाप प¥यो । बुबा/आमासँगै अर्म/पर्म, मेलापात र भारी बोक्न सँगसँगै निस्कन्थेँ । पापी पेटको सबाल थियो । यही पेट पाल्न कैयौंका भारी बोकियो । मजदुरी गरियो । मजदुरका रूपमा रोड खनियो, तार, सिमेन्ट बोक्दै हिँडियो । तैपनि कहाँ पाइन्थ्यो र पेटभरि खान ? मुस्किलले जुटाइएको एक माना चामल उमालेर परिवारका ५÷६ जनाको पेट भर्नुपथ्र्यो । रसुवा, हिमाली जिल्ला । फल्थ्यो कोदो र फापर । अधिकांश समय हिऊँ पर्ने । धान उत्पादन नभएर चामल बेसाउनुपर्ने । त्यही चामल लिन २/३ दिनको बाटो हिँडेर वृदिमबाट झर्नुपर्ने त्रिशूली ।

३० वर्षसम्म साहुहरू फेरिरहें । फेरि फेरि तिनका भारी बोकेँ । तर, फेरिएन जिन्दगी । पुरानो जिन्दगी मान्छेले त्यतिन्जेलसम्म घिसारिरहन्छ जबसम्म ऊ पुरानो विचारसँग घिस्रिरहन्छ । आफूलाई घचेटिरहन्छ । एक दिन मगजमा नयाँ विचार जन्मियो । हो, त्यही विचारले फेरियो जिन्दगी । जसरी रूखबाट पुराना पात झरेपछि पलाउँछ पालुवा ।

साहुको भारी बोक्दै गर्दा केरुङबाट ऊन पनि बोक्न थालँँे । ऊनको खपत त्यतिखेर सबैभन्दा बढी काठमाडौंको बौद्ध र स्वयम्भूमा हुन्थ्यो । त्यहीँ लगेर बेच्न थालियो । यसैले फे¥यो जिन्दगीको नक्सा । कोरियो नयाँ मार्गचित्र । राम्रै नाफा आर्जन हुन थालेसँगै यो कर्मलाई निरन्तरता दिएँँ केही वर्ष । मुनाफा बचत गर्दै गएँ । मान्छे कमाएर होइन, बचाएर मात्र धनी हुन्छ भन्ने बुझियो । त्यसैलाई मूल मन्त्र बनाइयो । र, यसरी बचाएको रकमले लाङटाङमा एउटा घडेरी किनेँ । घर बनाएँ । किरानापसल राखेँ । त्यही घरमा पर्यटकका लागि होटल खोलेँ । होटल राम्रै चल्यो । यही होटलले जिन्दगी अलिकति माथि उकास्यो । त्यहाँ ९ वर्षसम्म बसेँ । र, लामा होटलमा सरँे । त्यहाँ पनि बित्यो जीवनका ऊर्जाशील नौ वर्ष । व्यापारले राम्रै गति लियो । राम्रै मुनाफा कमाउँदै थिएँ । फेरि शुरु भयो दुःखको चक्र । मानसिक पीडा र छट्पटी ।

मान्छेको शरीर, कहिलेकाहीँ तलमाथि भइहाल्छ । इलाजका लागि जाने ठाउँ अस्पताल र भरोसा डाक्टरहरूको । तिनै डाक्टर अनाडी निस्किए भने मान्छे कसरी बेचैन हुन्छ र मानसिक रूपमा थलिन्छ यसको ज्वलन्त उदाहरण हुँ म । स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा डाक्टरले रगत परीक्षण गरे । जब रिपोर्ट आयो ‘सक्ड’ भएँ । बसिरहेको जमिन भासियो । डाक्टरले रिपोर्ट सुनाए, ‘तपाईलाइ ब्लड क्यान्सर भएको छ ।’ आफ्नो प्राणको यो गति देखेर सुख र दुःखको साथी जीवन संगिनी चिन्तित भइन् । रुन थालिन् । तर, त्यहीँ भेटिएका अर्का एक डाक्टरले ढाडस दिँदै भने, ‘चिन्ता नलिनु, बरु खानपिनमा ध्यान दिनु ।’ थाहा थियो, नबुझेको होइन, चिन्ताले लैजाने चित्ताकै बाटोतिर हो । तर, विपद्मा यस्ता अर्ति बुद्धिले काम नगर्ने रहेछ । खानपिनमा विशेष ध्यान दिन थालँे । फलफूल र जडीबुटी छुटेनन् । यार्सागुम्बा, स्याउ हरेक दिन नबिराई खान्थे । लाग्थ्यो एक मनमा, कतै डाक्टरले गलत रिपोर्ट देखाएको त होइन रु मनको यही आवाज सुनेर एक दिन अर्को अस्पतालमा पुगी ब्लड चेक गराएँ । रिपोर्टमा ब्लड क्यान्सर छैन भनियो । एउटा अस्पतालका अनाडी डाक्टरको कारण लुटिएको खुशी फर्कियो । फर्किएँ केरुङ । मनमा दृढसंकल्प पनि गरँे अब एक बारको यो जुनी त्यसै खेर जानचाहिँ दिन्नँ ।

पाएको नयाँ जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भनेर घोत्लिन थालेँ दिनरात । र, केरुङ पुगेर पिसफुल रेस्टुरेन्ट खोलेँ । कर्मलाई भगवान् मान्छु । दिनरात, साँझ÷बिहान केही नभनी घोटिरहेँ कर्ममा । त्यहाँ थोरै पुँजीमा शुरु गरेको यही होटलबाट जीवनले केही कोल्टे फेरेको छ । यही होटलले यहाँसम्म ल्याएको छ । आफ्नो परिवार र समाजका साथले हरेक काम सार्थक बनेको छ र पूरा पनि भएको छ । होटलसँगै चीन र नेपालको व्यापारिक नाकामा किराना पसल पनि चलाइरहेको छु । जुन दिन डाक्टरले भने, तपार्इंलाई ब्लड क्यान्सर छ । त्यही दिनदेखि लाग्यो, केही भरोसा छैन जिन्दगीको । हिँड्दा हिँड्दै कहाँ चट्ट चँुडिन सक्छ र जिन्दगी ? थाहा छैन कसको जीवनमा मृत्युरूपी एम्बुस बिच्छाइएको छ ? त्यही कारण आर्जित रकमको केही हिस्सा छुट्ट्याउन थालेँ सामाजिक कार्यमा ।

आफ्नो गाउँँ आफैं बनाऊँ भन्ने नारालाई सार्थक पार्न होमिएँ दत्तचित्त भएर । ०७२ सालको भूकम्पले धेरै घर मात्र भत्किएनन् । बाटो पनि भत्किए । तर, भत्किएका थिएनन् मनहरू । त्यहाँ भत्किएको साढे तीन किलोमिटरको बाटो बनाएँ, दुई लाख खर्चिएर । तर सबै मान्छेलाई कहाँ पच्छ र विकास निर्माण रु समाजको भलो चिताउने मान्छे यही समाजको आँखाको तारो बन्दोरहेछ । भोगेँँ स्थानीय तहको निर्वाचनमा । पराजित भएँ जम्मा १२ मतले । त्यो थियो त्यही विकासको परिणाम । रोड बनाएकै कारण टाढिए केही आफन्त । यद्यपि, हार खाएको छैन । हार्नु र हार नखानु नै असली जित हो भनेझैं शून्यबाट उठेको मान्छे । आफ्नो आम्दानीबाट आर्जित केही प्रतिशत रकम हरेक वर्ष सामाजिक कार्यमा खर्चने प्रण गरेको छु । चाहे कसैले कुरा काटुन्, चाहे कोही आफन्त टेढिउन् । सरोकार छैन यी चिजसँग । मात्र हेर्न चाहन्छु समृद्ध बनेको आफ्नो गाउँ, ठाउँ र यी स्थानका बासिन्दा । जनआस्था साप्ताहिकमा छापिएको छ ।

LEAVE A REPLY