अचम्म अचम्मका मनोरोगी :-प्याजका डल्ला बोक्नेदेखि हाकिमलाई दुई पटक नमस्ते गर्नेसम्म

नेपालमा झण्डै ४० लाख मानसिक रोगी रहेको सरकारी तथ्यांक छ । प्रहरीको तथ्यांकलाई आधार मान्ने हो यीमध्ये झण्डै ६ हजार हाराहारीले पछिल्लो आर्थिक बर्षमा आत्महत्याको बाटो रोजेका छन् । बासु आचार्य अहिलेका जल्दाबल्दा ‘साइकोलोजिस्ट’ हुन् । डाक्टर होइनन्, तर दिनभर क्लिनिकमै भेटिन्छ । बिरामी त हेर्छन्, तर औषधि लेख्दैनन् । पछिल्ला ६ बर्षको अवधिमा साइकोथेरापीमार्फत अनौठा–अनौठा मनोरोगीहरुको उपचार गरेका छन् । भारतको मुम्बईमा पढेर आएका आचार्य काठमाडौंमा मात्र सीमित छैनन् । मेची–महकाली अभियानमार्फत् देशैभर शिविर चलाइरहेका छन् । मनोरोगसम्बन्धी उनका सचेतनामूलक दुई सयभन्दा बढी भिडियो यूट्युबमा भेटिन्छ :

० बढ्दो आत्महत्याको कारण के हो ?
– मानसिक समस्या । ‘डिप्रेसन’ लाग्यो भने मान्छेले आत्महत्याको बाटो रोज्छ । संसार उराठ लाग्छ । कतै केही सम्भावना देख्दैन । झुक्किएर पनि बाँच्न नपरोस् भनेर मर्ने तयारी गर्छ र आफूलाई सिध्याउँछ । आत्महत्या हुनुका पछाडि आणुवांशिक कारण, मस्तिष्कमा हुने न्यूरो ट्रान्समिटर, हर्मोन, अनि सामाजिक कुराहरुले प्रभाव पारेको हुन्छ । न्युन व्यक्तिले मात्र तनावपूर्ण अवस्थामा आत्महत्याको प्रयास गर्दछन् ।
० कसैले आत्महत्याको बाटो रोज्दैछ भन्ने पूर्व जानकारी हुन्छ ?
– परिवारमा कोही डिप्रेसनको रोगी छ, औषधि चलाइरहेको छ भने निगरानी गर्नु जरुरी छ । उसले जुनकुनै समय आफूलाई सिध्याउन सक्छ । डिप्रेसन भन्ने थाहा छैन र ‘यस्तो लाइफ के लाइफ, जिन्दगीमा मज्जै आएन यार’ भनिरहन्छ, वा ‘जिन्दगीमा मर्न पाए आनन्द हुन्थ्यो’ भन्नेखालका विचार व्यक्त गर्दछ भने बुझ्नुपर्छ कि त्यहाँ केही कैफियत छ । बाहिर सबै ठीकठाक राम्रै देखिन्छ, तर भित्रिभित्रै ऊ सिद्धिसकेको ह्ुन्छ । विशेषतः डिप्रेसन पीडित आफैँले मनन गर्नुपर्छ कि, मलाई मानसिक रोगले सतायो, अब उपचार खोज्नुपर्दछ । तर डिप्रेसन भएको थाहा पाउनै ५÷६ वर्ष लाग्छ । असहज स्थिति भोग्दा–भोग्दा, पीडा खेप्दा–खेप्दा थेग्न सक्दैन । खुशी हुने आधार घट्न थाल्छ । श्रीमान, श्रीमती, गर्लफ्रेण्ड, आफ्नै कारण वा बिनाकारण पनि डिप्रेसन शुरु हुन्छ । त्यस्तोमा मान्छे गाह्रो मान्दै अघि बढिरहेको हुन्छ । उसले जिन्दगीमा अगाडि कुनै बाटो देख्दैन । तर, तपाईं–हामी आफ्ना अगाडि जीवनका आधारै आधार देख्छौं । कस्ता–कस्ता डरलाग्दा परिस्थिति पनि सामान्य तरिकाले सल्टाउँछौं । डिप्रेसन पीडितहरुको हकमा चाहिँ त्यस्तो आधार खोज्ने, जिन्दगी अघि बढाउने सोच, विचार, भावना अघि बढाउने मस्तिकको क्षमता नै हुँदैन । सुसाइडको प्रोसेस पनि निकै लामो हुन्छ ।
० यस्तो प्रोसेस कति लामो हुन्छ ?
– आजै वा भोलिमै सुसाइड गर्ने भन्ने हुँदैन । म मरौं कि क्या हो ? म मर्न हुँदैन । छोरा छोरीले दुःख पाउँछन् । मर्दिन, उपाय खोज्छु–खोज्छु भन्छ । कोही छोराछोरी हुर्काएर ठूलो बनाएपछि मर्छु भन्छ । कोही खाइरहेको जागिरमा सन्तुष्ट हुँदैन । अर्काे विकल्प खोजेर हेर्छु भन्ने हुन्छ । कोही बुवाआमा हुँदाहुँदै के मर्नु भन्ने हुन्छ । मर्न त मर्ने तर कहिले मर्ने भन्ने हुन्छ ।
० कस्ता स्वभावका मान्छेले आफूलाई सिध्याउने सम्भावना प्रवल हुन्छ ?
– आत्महत्या गर्नुको पछि स्वभावै मुख्य हुन्छ । आफ्नै तरिकाले मात्र व्याख्या गर्न खोज्ने, अरुले भनेको नसुन्ने, आफ्नै बढी तर्क लगाउने, आफैं योजना बनाउने, अलिकति जिद्दी, एकोहोरो स्वभावको छ भने त्यस्ता मान्छेले सुसाइड गर्ने सम्भावना प्रवल हुन्छ । सुसाइड गर्नेहरुको केश हेर्दा उनीहरुले भोगिरहेको पीडा खासै ठूलो देखिँदैन । त्यही पीडा अरुले पनि भोगिरहेका हुन्छन् । अरुले पीडा सहिरहेका वा सल्टाइरहेका हुन्छन् । तपाईं हामीलाई कहिलेकाहीँ पीडा हुन्छ, तर मानसिक रोगीहरु हामीले भोगेको पीडाभन्दा ३० गुणा बढी तर सदाबहार पीडाको भारी बोकेर हिँडिरहनुभएको हुन्छ । कस्तो हालत होला ? म मर्नुबाहेक कुनै उपाय हुँदैन भन्ने दिमागमा आइरहन्छ ।

– बासु आचार्य, मनोचिकित्सक (साइको थेरापिष्ट)

० सुसाइड गर्ने तयारी गरेका मान्छेको पहिचान गर्न र यिनलाई बचाउन पनि सकिन्छ ?
– सुसाइड गर्ने तयारी गरिरहेको मान्छेले त भनेको भन्यै हुन्छ । उसले आफ्नो नजिकको, आफूले विश्वास गर्ने मान्छेको अघि म आत्महत्या गर्छु भनेको हुन्छ । शुरुमा भन्दा ‘हावा कुरा गर्छस्, बहुलाइस्’ भनिन्छ । हकारेर पठायो भने उसले दोस्रो पटकदेखि भन्दैन । मेरो कुरा कसैले बुझ्दैन भन्ने हुन्छ । झनक्क रिसाउने, चिडचिडाहट हुने, जात्रा निकाल्न खोज्छ । फेरि एकैछिनमा ‘सरी’ पनि भन्छ । त्यसलाई सिरियस्ली लिने चेतना छैन हामीमा । तर, हैन के भयो ? भनेर सोधखोज गर्ने । सहयोग गर्ने ढंगले उसका कुरा सुन्ने प्रयास गरेको खण्डमा विश्वास गर्छ । भनेको पनि मान्छ । परिवारले उसको कुरालाई सिरियस्ली लिने, अस्पताल पु¥याइदिने, काउन्सिलिङ गर्ने, जीवन जिउने तरिकाहरु सिकाइदिनेतर्फ ध्यान दिनुपर्छ । परिवारकै अघि ‘मरिदिन्छु’ भनेको हुन्छ । तर परिवारका सदस्यले ‘ह्या यत्तिकै भनेको होला’ भनेर हल्का रुपमा लिइदिन्छन् । त्यसैले समस्या निम्त्याउँछ ।
० यो अवधिमा कस्ता कस्ता मनोरोगीहरु भेट्नुभयो ?
– सबैभन्दा बढी डिप्रेसन र एन्जायटी । मर्छु कि बौलाउँछु कि भन्ने खालको सोच आउने, चिडचिडाहट हुने, जतिखेर पनि डराइरहने । डिप्रेसन र यी छुट्टाछुट्टै विरामी हुन् । एन्जाइटी खराब चिन्ता गर्नेलाई भनिन्छ । भूकम्पपछि एन्जाइटीका रोगी अत्यधिक बढेका छन् । डिप्रेसन केही कुरामा खुशी नहुनेलाई भनिन्छ । सामान्य, मध्यम, जटिल र अत्यधिक जटिल डिप्रेसनमा बर्गीकरण गरिएको छ । अत्यधिक जटिल डिप्रेसनका बिरामीले सुसाइड गर्ने सम्भावना प्रवल हुन्छ । अरुलाई शारीरिक सम्पर्क गर्दा मजा आउँछ । तर, सामान्य डिप्रेसनका बिरामी यसमा ‘ह्या, नाथे’ भन्छन् । उनीहरुलाई कहीँ, केही गर्दा पनि मजा आउँदैन ।
० यस्ताको उपचार के त ?
– पाँचवटा आधार छन् । औषधी सेवन, साइकोलोजी ट्रिटमेन्ट, पारिवारिक साथ, बुद्धि परिवर्तन, उसका आफन्त, परिवार र समाजको दायित्व । हेय दृष्टिले हेरिदिनुभएन । ‘तँ त मान्छे होइनस्’ भनेझैं व्यवहार गरिदिनुभएन । कसैले पहिलो नम्बर औषधि सेवन गर्दछन् भने केहीले मनोपरामर्श पहिला गर्दछन् । जटिल डिप्रेसन भएका लागि औषधि र मनोपरामर्श सँगसँगै गर्नुपर्छ । मान्छेलाई मर्न मन हुँदैन । तर, यति धेरै पीडा खेप्नुभन्दा मृत्युवरण सहज लाग्छ । उसलाई यति धेरै बाँच्न मन छैन कि बाँच्ने आधार देख्दैन । जताततै अन्धकार देख्छ । उसको मानसिकमात्र होइन, व्यवहारिक पीडा, फिजिकल चिन्तन, थटका समस्या, वातावरणसँग घुलमिल हुन नसक्ने स्थिति– यी यावत समस्याका कारण ऊ आफैँलाई सिध्याउन उद्यत हुन्छ ।
० यस्ता समस्या बोकेर हाइप्रोफाइलवालाहरु कत्तिको आँउछन् ?
– हाइप्रोफाइलवालाको त झन् पीडा छ । धरानतिरका एक जना उपसचिव आए, छोराको समस्या लिएर । आमा प्राइभेट बैंकको जागिरे । छोरा एकोहोरो भएको र विद्यालय जानै नमान्ने । गयो कि आधा वा एक घण्टामा दिसा लाग्ने । तर, विद्यालय गएन र घरमै मोबाइल खेलेर बस्यो भने सबै ठीक हुने । समस्या बढ्दै गएपछि परिवारले राम्रो अस्पतालहरुमा लगेर जँचाए । तर, डाक्टरले केही रोग नभएको भन्दै फिर्ता पठाइदिए । हैरान भएपछि ती अभिभावक मसम्म आइपुगे । अर्काे एक सरकारी कर्मचारी । एउटा प्याजको डल्लो बोकी मेरो क्लिनिकमा आएर प्रश्न गरे, ‘म यो प्याज कहाँ राखौं ? आफ्नो भान्सा कोठामा खसिरहेको एक डल्लो प्याजले उनलाई यति तनाव दिएछ कि यता राख्दा चित्त नबुझ्ने, उता राख्दा पनि मन नमान्ने । त्यही प्याज यति समस्या भयो कि कार्यालय जाँदा पनि प्याज गोजीमै । दिमागमा एउटै चिन्ताले सताइरहने ‘प्याज कहाँ राख्ने ?’ यही समस्याले तड्पिएका उनी मनोपरामर्शका लागि मकहाँ आए । अहिले ठीकठाक छन् । अर्काे एक बैंकरलाई आफू मरिसकेको भ्रम परेको रहेछ । यस्ता समस्याहरु हाइप्रोफाइलवालामा धेरै हुन्छन् ।
० तपाईंले हेरेका त्यस्ता अचम्मलाग्दा केही केस बताइदिनु न !
– इटहरिमा एउटा भाइ छ, इन्स्योरेन्स कम्पनीमा काम गर्ने । उसले आफ्नो बोसलाई दुई पटक नमस्कार ग¥यो । त्यहीँबाट पीडा शुरु भयो । मनमा दिनरात एउटै कुरा खेलाउन थाल्यो कि, ‘म के भएँ ? मैले दुईचोटी हाकिमलाई किन नमस्कार गरेँ ?’ यही कारण ऊ छट्पटाइरहेको छ । गोर्खाको अर्काे भाइ छ । म त्यहाँ छु कि छैन भनेर बारम्बार हेर्न गइरहन्छ । त्यहाँ पुग्छ । आफूलाई देख्दैन । लाष्ट पटक हेर्न जान्छु भन्छ, त्यो लाष्ट दोहोरिएको दोहरियै हुन्छ । यस्तो जटिल समस्याले सताएको छ । अर्काे छ, श्रीमतीलाई कुटौँ, कु्टौँ लाग्ने । हङकङको केश हो । कमाएको सारा सम्पत्ति श्रीमतीको नाममा पठाए । श्रीमती अर्कैसँग लागेपछि ती मंगोलियन जहाँ श्रीमती भेट्यो, त्यहीं सिध्याइदिन्छु भन्नेमा पुगे । पछि मनोपरामर्श भयो । अनि, उनमा स्वीकार गर्ने क्षमता विकास भयो । त्यसले मलाई मन पराइन, अरुलाई मन पराई त्यही कारण अरुसँग गई भन्ने निश्कर्षमा पुगे । मलाई मन पराउनै पर्छ भन्ने छैन भनेर सल्लाह दिएपछि अहिले ठीक छन् ।
० कति किसिमका मनोरोगी हुन्छन् ?
– दुई सय थरिका । नेपालमा भएका ४० लाख मानसिक रोगीमध्ये २२ लाख जतिलाई राम्रो काउन्सिलिङ भएको खण्डमा बदलिने सम्भावना प्रवल छ । मुख्य कुरा रोग पहिचान गर्न सक्नुपर्छ । यहाँ त मानसिक समस्या हो कि होइन भन्ने थाहै नपाई, पत्तो नै नपाई मानिसको ज्यान गएका छन् । ज्यान गएपछि ऊ यस्तो थियो, उस्तो थियो भन्नुको के मतलब हुन्छ र ? त्यसैले मानिसका हरेक स्वभावको अध्ययन गरिरहनुपर्छ ।

LEAVE A REPLY