प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार

हङकङमा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रेल सेवाहरु स्थगित गरिएका छन्।

सरकार विरोधी प्रदर्शनकारीले विमानस्थलसम्म पुग्ने रेल सेवा तथा अन्य सवारीको आवत्– जावतमा अवरोध गर्ने योजना बनाएपछि त्यहाँका अधिकारीहरुले रेल सेवालाई स्थगित गरेका हुन्।

प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् ।

सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीहरुमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ । प्रदर्शनकाक्रममा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् । हङकङमा पछिल्लो समय भइरहेको प्रदर्शन स्वतन्त्रता र स्वायतत्ताको मागतर्फ अघि बढिरहेको छ ।

कुनैबेला बेलायतको उपनिवेशकारुपमा रहेको हङकङ हाल एक राष्ट्र दुई प्रणालीअन्तर्गत् चीनको एक महत्वपूर्ण अंगकारुपमा रहेको छ । सरकारले चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा सुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ । विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित रहेको भन्दै उनीहरुले विधेयक खारेजीको माग यथावत् राखेका छन् ।

माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको चेतावनी छ । (एजेन्सी)

LEAVE A REPLY