३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहिन

३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि स्थानीय तह रिक्त बनेका छन् ।
गाउँपालिका र नगरपालिकाको सचिव सरहका प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाह कमजोर बनेको छ। विकास निर्माणसमेत सुस्त छ। नगरपालिकामा उपसचिव तहका प्रमुख प्रशासक हुने व्यवस्था छ।

तहमा ६८ हजार कर्मचारी दरबन्दी भए पनि २९ हजार मात्रै कार्यरत छन्। गत वर्ष खुल्ला विज्ञापन नभएको र आन्तरिक प्रतिस्पर्धाबाट बढुवा गरी पदपूर्ति नहुँदा पनि रिक्त स्थानमा पदपूर्तिमा समस्या देखिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३४ स्थानीय तहमा प्रशासकीय अधिकृत र १८ जिल्लामा प्रमुख जिल्ला समन्वय अधिकारी रिक्त छन्।

प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि सर्लाहीको पर्सा गाउँपालिका प्रमुख किसनदेव रायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ताकेता गरे। दुई वर्षयता लगातारको ताकेता पछि उनले गत असार मसान्तमा बल्ल कर्मचारी पाए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गत आवमा ७० लाख बजेट फ्रिज भएको रायले बताए। निमित्तको भरमा चलेको गाउँपालिकालाई बजेट खर्च तथा कानुन निर्माणमा समस्या पर्ने गरेको छ। गाउँपालिकाले हालसम्म कानुन निर्माण गर्न सकेको छैन। ‘प्रमुख प्रशासकीय अधिकृत पद निमित्तको भरमा चलेपछि काम गर्न कठिनाइ हुँदो रहेछ’, उनको अनुभव छ।

जुम्लाको तिला गाउँपालिकाका प्रमुख रतननाथ योगीले निर्वाचित भएको दुई वर्षयता तीनवटा प्रमुख प्रशासकीय अधिकृत पाए। दुई महिना त निमित्तकै भरमा चलाउनुपर्‍यो।

प्रमुख प्रशासकीय अधिकृतहरू घरपायक खोज्ने कारण दुर्गम क्षेत्र छाड्ने गरेको उनले बताए। अन्य क्षेत्रमा जनप्रतिनिधिसँगको द्वन्द्वले प्रमुख प्रशासकीय प्रमुख फेरिने गरेपनि दुर्गम क्षेत्रमा कर्मचारीको रूचि नै नदेखिएका कारण रिक्त हुने गरेको उनको भनाइ छ।

LEAVE A REPLY