सुनको भाउमा नयाँ रेकर्ड

सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ। गत २३ साउनमा स्थिर रहेको सुनको मूल्य चार दिनपछि मंगलबार फेरि तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जुन हालसम्मकै बढी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । नेपाली हिन्दू नारीको महान् चाड तीज नजिकिँदै छ । तीजमा ७५ हजारको हाराहारीमा पुग्ने महसंघको आँकलन छ । महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ‘सुनको भाउ यसरी नै बढ्ने हो भने तीजमा ७५ हजार पुग्छ होला ।’

सामान्यतया बजारमा दैनिक ३५ देखि ४० केजीको हाराहारीमा नयाँ सुनको खपत हुने गथ्र्यो । तर, अहिले त्यो खपत घटेर ५/६ केजीको हाराहारीमा पुगेको छ । सुनको भाउ बढेसँगै पुराना गरगहना बेचेर नयाँ बनाउने गरेकाले पनि नयाँ सुनको माग घटेको पूर्वअध्यक्ष शाक्यले बताए ।

त्यसैगरी, सुनको मूल्य सँगसँगै चाँदीको मूल्य पनि निरन्तर वृद्धि भइरहेको छ । मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । गत बिहीबारदेखि स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले बढेर ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । सुनको मूल्य बढ्दै जानुको मुख्य कारणमा अमेरिका चीन व्यापार युद्ध मुख्य हो । सुनको मूल्य बढ्दै जाँदा कारोबारमा पनि कमी आएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढेसँगै सुन खरिद गर्नेभन्दा बिक्री गर्नेको संख्या बढ्दै गएकाले सुनको कारोबार शून्य भएको व्यवसायीको भनाइ छ ।

LEAVE A REPLY