ससुराली आएर ज्वाइँले श्रीमती, सासू र सालोमाथि खुकुरी प्रहार गरेपछि….

Sharing is caring!

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ। लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि चितवन लगिएको प्रहरी निरीक्षक खत्रीले बताए।

खत्रीका अनुसार सोमबार राति सवा आठ बजे कालो लुगा र नकावसमेत लगाएर घर्ती ससुराली घर पुगेका थिए। घरमा अन्य कोही नभएकाले घर्तीले लगालग खुकुरी प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक खत्रीले बताए। घटना गराएपछि घर्ती फरार भएका छन्। उनले घटनापछि फेसबुकमा स्टाटस राख्दै सासुआमाका कारण आफ्नो घरबार बिग्रेको आरोप लगाएका छन्। ‘श्रीमान र श्रीमतीबीच झगडा भइरहने गरेको र श्रीमती केही दिनबाट माइत बस्दै आएको बुझिएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने, ‘झगडाको दोष सासुआमालाई लगाएर उनले त्यसैको रिसमा घटना गराएको देखिन्छ।’

२, ३ वर्ष पहिलेदेखि श्रीमान श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Sharing is caring!

LEAVE A REPLY