मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सत्ता पक्षका नेताहरुले प्रजातान्त्रिक आन्दोलनको अपमान गरिरहेको आरोप लगाएकी छन् ।
मुलुकको परिवर्तनका लागि नेपाली जनताले पटकपटक आन्दोलन गरेको स्मरण गराउँदै उनले परिवर्तनका लागि बगाएको रगतको सत्ता पक्षीय नेताहरुले अपमान गरिरहेको टिप्पणी गरिन् ।
“नेपालमा ठूल्ठूला आन्दोलनहरु भए । २००७ सालको आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो । २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो । ०६२–०६३ सालको आन्दोलनले राजालाई विदा गरी सिंहदरबारको अधिकार गाउँमा पुर्यायो,” सांसद संग्रौलाले भनिन्, “यो जनआन्दोलनमा धेरै जनताले देशको समृद्धि र विकासका लागि रगत बगाए । तर, आज जनताको रगतको बदला भ्रष्टाचार, दलाली, विषादी र घमण्डले विगतमा बगेको रगतको अपमान गरिरहेको छ ।”