सासूका लागि प्रधानमन्त्रीसँग सम्झौता गर्ने ?

– विनोद कायस्थ, कांग्रेस युवा नेता/ पूर्वअध्यक्ष, तरुण दल

इतिहास, योग्यता र भूमिका हेर्दा विनोद कायस्थ कम्तीमा दुई–चारपटक मन्त्री हुनुपर्ने । तर, निरन्तर अन्यायमा पर्दै आए । अबका युवाले कांग्रेस पार्टीमै रहने हो भने नेताको पछि लाग्ने हैन, विधि स्थापित गर्न संघर्ष गर्नुपर्ने उनको सन्देश छ । अन्याय पनि कतिसम्म भने, महाधिवेशनमा हराइयो । संसदीय चुनावमा पाएको टिकट खोसियो । भक्तपुरको मान्छे । जहिल्यै सर्लाहीको भनेर नेवार समुदायको युवालाई मधेसी बनाउन खोजियो । अहिले उनीसहितका युवा कांग्रेस सक्रियतासाथ पार्टी शुद्धिकरण अभियानमा जुटेका छन् :

० तपाईंहरु के अभियानमा हुनुहुन्छ ?
– विधि र पद्धतिअनुसार पार्टी अघि बढ्न सकेन । यही नेतृत्वका कारण पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्रो पराजय भोग्यो । विधानमा व्यवस्था गरिएका विभाग, पार्टीलाई राम्ररी परिचालन गरिएन । पार्टी जनतासँग अलग भयो । यसलाई चिरेर पहिलेकै अवस्थामा यो फर्काउन अहिले कुनै भूमिकामा नरहेका केन्द्रीय सदस्य, जिल्ला सभापति, युवा, विद्यार्थी आन्दोलनका नेताहरुसँग संवाद गराउन खोजेका छौं ।
० नेतृत्व–नेतृत्वबीच टुटेको मन जोड्ने अभियान पनि हो ?
– नेतृत्वको कारणले गर्दा पार्टीभित्र अपनत्व महसुस गर्ने अवस्था रहेन । जिल्ला–जिल्लामा कसको अवस्था के छ भन्ने, तिनीहरु कसरी बाँचिरहेका छन् भन्ने चासो नेतृत्वले लिएको देखिन्न । यसर्थ पुराना र दुःख गरेका साथीहरुलाई पनि जोड्दै जाऔँ भन्ने अभियान हो ।
० नेपाली कांग्रेसको लोकतान्त्रीकरणमा गिरिजाभन्दा शेरबहादुर बढी अनुदार भए भन्ने यहाँहरुको ठहर हो ?
– त्यो त छर्लङ्गै देखिन्छ नि † केन्द्रीय समितिको बैठक चलिरहेको छ । लोकतान्त्रिक पार्टीमा नियमावलीको माध्यमबाट अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने तयारी हुँदैछ । पार्टी नेतृत्वको आलोचना गर्न नपाइने, प्रेस र पार्टीभित्रै बोल्न नपाइने व्यवस्था ल्याइँदैछ । नेतृत्वले गल्ती गर्ने, सच्याउन नपर्ने, आलोचना गर्न पनि नपाइने भएपछि नाममात्रको पार्टी हुन्छ । ‘नेपाली लोकतन्त्रको जननी’ भनिएको पार्टीमा यस्तो तानाशाही, निरंकुश व्यवस्था लागू भयो भने देश कहाँ पुग्ला ? हामीले कम्युनिष्ट पार्टीभित्र धेरै छलफल, बहस भएको देखेका छौं । एकातिर देशमा स्वतन्त्रताको वकालत गर्ने, अर्कातिर पार्टीभित्र निरकुंशता लाद्ने ? सोभियत संघलगायतका मुलकमा कम्युनिष्टहरुको शासन थियो । उनीहरु एकैपटक किन धराशायी भए ? लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता थिएन, यसकारण सकिए । नेतृत्वले अधिनायकवादी शैली देखायो भने यहाँ पनि नोक्सान त पुग्छ नै †
० तपाईंहरुको विरोधका बाबजुद पनि यस्ता प्रावधान आयो भने ?
– केन्द्रीय समितिमा रहेकाहरुले धेरै सुख–सुविधा पाउनुभयो होला । लाखौं कार्यकर्ता तल्ला तहमा छन् । तिनैले हो पार्टी बचाएको । जुन पार्टीले जनभावना बुझ्न सक्दैन, त्यो जीवन्त रहनै सक्दैन । डार्बिनले भनेझैं जो योग्य छ उही मात्र सर्भाइभ हुन्छ ।
० सुस्ताएर बसेको पार्टीले एकाएक केन्द्रीय समितिको बैठक राख्यो । यो चेत नेताहरुमा कहाँबाट पलायो ?
– हरेक पाँच वर्षमा महाधिवेशन हुनुपर्ने । १३ औं महाधिवेशन सम्पन्न भएको साढे तीन वर्ष हुन लाग्यो । विधानअनुसार चार वर्षे कार्यकाल हो । अब सात महिनामात्र बाँकी छ । पार्टीले वैधानिकता प्राप्त गर्नका लागि समयमै अधिवेशन गर्नुप¥यो । एकै महिनामा घोषणा गरेर महाधिवेशन हुने होइन । सदस्यता वितरण हुँदै टोल समिति, वडा, नगर, प्रदेश, संसदीय, जिल्ला, केन्द्रीय समिति गठन गर्नुपर्छ । यो बीचमा नेतृत्वले के–कति राम्रा काम ग¥यो, के–कति नराम्रा काम भयो ? समीक्षा हुनुपर्छ ।
० प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसले खेलिरहेको भूमिकाको कसरी मूल्याकंन गर्नुहुन्छ ?
– संसदभित्र होस् वा सडकमा नै, कांग्रेस कांग्रेसजस्तो देखिएन । जनतालाई सचेत बनाउने, सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्नेजस्ता काम हुन सकेन । पार्टीको नर्सरी मानिने नेविसंघ नेतृत्वविहीन भएको ६ महिना भइसक्यो । तरुण दलमा साढे दुई वर्ष भयो । चारबाट केन्द्रीय समिति पाँच बन्न सकेको छैन । प्रायः सबै संगठनको हालत उस्तै छ । पार्टीको विभाग भद्रगोल ढंगले चलिरहेको छ । जिल्लाको हालत उस्तै । प्रतिपक्ष कमजोर भएकै कारण सरकारलाई गलत काम गर्न मनोबल बढिरहेको छ । सत्तापक्षीय स्वेच्छाचारिताको मुकाविला गर्नुको सट्टा कहिले सासूका लागि, कहिले भाइ, भतिजाका लागि प्रधानमन्त्रीसँग सम्झौता गरिएका खबर सुनिएका छन् । कार्यकर्ता के गर्दैछन् ? मतलब भएन । सासूलाई जापानको राजदूतबाट फर्काउने भयो भनेर बालुवाटारमा लम्पसार हुने नेतृत्वले पार्टी कहाँ पु¥याउँछ ? यो सासूहरुको होइन, कार्यकर्ताको पार्टी हो । पार्टी जोगाउनका निम्ति जस्तोसुकै विद्रोहमा उत्रिनु परे पनि हाम्रा साथीहरु तयार हुनुभएको छ ।
० सासूकै कारण सरकारको विरोधमा पार्टी उत्रिएन भन्ने ठम्याई हो ?
– कुरा धेरै छन् । व्यक्तिगत रुपमा कसैले केही पाउनु, नपाउनु बेग्लै कुरा । पार्टीलाई जीवन्त तुल्याउने हो भने आफ्नो स्वार्थमात्र हेरेर हुन्न ।
० यही नेतृत्व, नेतृत्वको यही कार्यशैली करेक्सन नहुने हो भने नेपाली कांग्रेस कहाँ पुग्ला ?
– समयअनुकूल चल्न नसक्ने हो भने समाप्त भएर जान्छ । डाइनोसर भन्ने अजंगको जन्तुले प्रकृतिको परिवर्तनलाई आत्मसात गर्न सकेन । लोप भयो । कांग्रेस पनि ०७, ०१७, ०४६ को क्रान्ति गर्ने पार्टी । वीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाहरुको नाममात्र जपेर नयाँ पिँढीलाई आकर्षित गर्न सकिन्न । हेर्नुस् न, कुनै बेलाको जल्दोबल्दो प्रजा परिषद आज कहाँ छ ? इण्डियामा कंग्रेस आईको हालत के छ ? धुपौरेहरु भेला पारेर पार्टी चलाउँदा कंग्रेस आई सकिँदै–सकिँदै गएको होइन ? नेपालको श्रम बजारमा प्रत्येक आउने पाँचदेखि सात लाख युवालाई कांग्रेसको नीति तथा कार्यक्रमले संबोधन गर्न सक्छ ? त्यसका लागि के कार्यक्रम ल्याउने ? यता ध्यान छैन । खालि सत्ता र कुर्सीमा मात्र आँखा लगाएर कांग्रेस जीवन्त हुन सक्दैन । बैठक बस्नका लागि केन्द्रीय समितिले आवाज उठाउनुपर्ने, बल्लतल्ल बैठक बसे पनि केही निश्कर्ष ननिस्किने †
० सशांक कोइरालाले हिन्दूराज्यको एजेण्डासहित पार्टी सभापतिमा दाबी गर्दैछन् । कत्तिको प्राकृतिक दावी हो यो ?
– महाधिवेशनमा उम्मेद्वार हुने अधिकार विधानले सबैलाई दिएको छ । धर्म निरपेक्षताको विषयमा पार्टीभित्र धेरै बहस भएको छ । यो कुरा कहाँबाट कसरी घुस्यो ? पत्तो पाउन सकिएको छैन । शेरबहादुर देउवालाई फेरि निरन्तरता दिऔँ भन्ने होला, रामचन्द्र पौडेललाई सभापतिको आकांक्षा होला । प्रकाशमान सिंह, शेखर, सशांक, सुजाता कोइरालासहित धेरैको रहर होला । इच्छा भएकाहरुले स्वाभाविक रुपमा आफ्ना एजेण्डालाई कार्यकर्ता र जनताबीच लैजानु होला । लोकतान्त्रिक पार्टीमा एजेण्डा उठाउने स्वतन्त्रता सबैमा हुन्छ । सही हुन् या गलत, एजेण्डाहरु आउनुपर्छ । त्यसो भयो भने कार्यकर्तामा यो सही र यो गलत हो भन्ने चेतनाको विकास हुन्छ । बहसको संस्कृति निर्माण हुन्छ । एजेण्डा अनुमोदन गर्ने त कार्यकर्ताले हो नि † नेताले यसो गरौँ भन्दैमा ‘हस् हजुर’ भन्ने हामी कांग्रेसका कार्यकर्ता भेडा–बाख्रा हौँ र ? नेतृत्व जस्तो भए पनि कांग्रेसको कार्यकर्तापंक्ति विवेकशील छ, सचेत छ, भविष्यप्रति चिन्तित छ ।
० तपाईं पुरानो नेता । छिमलका साथी राजकीय ओहदामा छन् । किन पछाडि पर्नुभयो ?
– १३ वर्षको उमेरबाट राजनीति शुरु गरियो । ०३८ र ०४२ सालमा जेल परेँ । पार्टीका धेरै निर्णयको पक्षमा उभिएँ । घर–परिवार, आफन्तभन्दा नेताको वचन शीरोधार्य गरें । पार्टीभित्र अन्यायको शिकार भएको ममात्र होइन, सयौं साथी, नेता–कार्यकर्ता हुनुहुन्छ । नीतिशास्त्रमा भनाइ छ, ‘त्यस्तो कुनै अक्षर हुँदैन, जो मन्त्र नहोस्, त्यस्तो कुनै वनस्पति छैन जो ओखति नहोस् र त्यस्तो कुनै व्यक्ति हुँदैन जो अयोग्य होस् ।’ बरु व्यक्तिसँग अलग क्षमता छ, त्यसलाई पार्टीको संगठन, लोकतन्त्रको पक्षमा कसरी प्रयोग गर्ने भन्ने जान्नुपथ्र्यो । गिरिजाप्रसाद कोइराला प्रत्येक कार्यकर्ताको क्षमतासँग परिचित हुनुहुन्थ्यो । सोहीअनुसार जिम्मेवारी दिनुहुन्थ्यो । अहिले नेतृत्वमा गुटगत अवधारणाले बास गरेको छ । क्षमता नभएका, पैसा भएकाले अवसर पाइरहेका छन् । हामी त सिद्धान्त, आदर्शले प्रेरित भएर राजनीतिमा लाग्यौं । इमान्दारितापूर्वक राजनीति गर्नेहरुको बिचल्ली भएको नेपाली कांग्रेसमा मात्र होइन, कम्युनिष्ट पार्टी र अन्य पार्टीमा पनि छ । ममात्र होइन, सयौं साथीहरुको हालत यस्तै छ ।
० फ्रस्टेशन हुँदैन ?
– राजनीतिमा लागेको ४० वर्ष भन्दा बढी भयो । पञ्चायतकाविरुद्ध लाग्नु साधरण कुरा थिएन । हाम्रै उमेरका साथीहरु मारिनुभयो । पार्टी बलियो भयो भने न नेताहरुको इज्जत हुने हो । इतिहासमा यति कमजोर कांग्रेस पार्टी कहिल्यै थिएन । कमजोर पार्टीको सभापति भएर बस्नभन्दा बलियो पार्टीको सभापति हुँदा इज्जत हुन्छ । गल्ती र कमजोरी सच्याउँदै गएको खण्डमा पार्टी भोलि पहिलो हुन सक्छ । गल्ती दोहो¥याइरहने, सुध्रिन नखोज्ने हो भने डाइनोसरजस्तै इतिहास बन्न पनि सक्छ ।
० पौडेललाई नेता मान्नुहुन्छ । उहाँसँग कत्तिको सरसल्लाह हुन्छ ?
– १३ औं महाअधिवेशनमा रामचन्द्र दाइलाई सभापति बनाउन लागिपरेका हौं । १३ औं महाधिवेशनमा जस्तै रामचन्द्र पौडेल, सिटौला अलग–अलग उम्मेद्वार हुने कि नहुने ? अर्जुननरसिंह केसी कता जाने ?
० तर, जसलाई महासचिव (भूपेन्द्रजंग शाही) बनाइयो । उनी तरुण दल इतर खेमाको । तपाई रामचन्द्र खेमाको । महासचिव छानिँदा तपाईंसँग खासै सल्लाह भएको देखिएन नि !
– रामचन्द्र दाइलाई मात्र होइन, शेरबहादुर दाइलाई पनि भनेका हौं । प्रजातान्त्रिक लेख्दैमा पार्टी प्रजातान्त्रिक हुँदैन । तरुण दलको विधानमा केन्द्रीय समिति सदस्य बन्नका लागि केन्द्रीय पार्षद वा तरुण दलको महाधिवेशन प्रतिनिधि हुनुपर्छ भनिएको छ । त्यसैमा अध्यक्ष उदयसमशेर राणाले ३० जना मनोनित गर्न पाउने व्यवस्था छ । जितजंग, भूपेन्द्रसँग मेरो केही दुश्मनी होइन । विधानअनुसार उहाँहरुलाई मनोनित गरेर महासचिवलाई अध्यक्ष बनाएको भए हुन्थ्यो नि † बाबुराजा जोशीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ । कार्यतालिका प्रस्तुत गरेको छ । नेताहरु मिले भन्दैमा जे पायो त्यही गर्न त पाइएन नि † अहिले त्यही कुरा उहाँहरुलाई घाँडो भइरहेको छ । टीका लगाएर ल्याइएपछि ०५४ सालदेखि तरुण दलमै कार्यरत, ग्रास रुटमा काम गरिरहेका साथीहरुले कुन मनोबलले काम गर्नुहोला ? बाँझो खेत जोत्ने, अन्न–अनाज लगाउने, गेडमेल सबै गरेर धान पाक्ने बेलामा माओवादीले काटेर लाने, लुटेराहरुले लुटेर लाने भएपछि अरु त हेरेका हे¥यै हुने भए । यस्तै रवैयाका कारण पार्टी, संगठन बिग्रिएको हो । यस्तै चलन रहे, अझै धेरै कुरा देख्नुपर्नेछ ।

LEAVE A REPLY