यस्ता छन् काठमाडौंमा पहिलोपटक चल्ने विजुली बस

सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म विजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो ।

सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका विद्युतीय बसहरु भित्र्याउँदै छ । हालै चीन पुगेर कम्पनीको टोलीले थप ११ वटा विद्युतीय बस भित्र्याउने गरी समझदारी गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

सुन्दरले सुरुवाती चरणमा ४० सिट र ३० जान उभिएर यात्रा गर्न मिल्ने ४ ओटा तथा ३५ सिट र २५ जाना उभिएर यात्रा गर्न मिल्ने ३ ओटा बस संचालनमा ल्याउने छ। यी बसको भाडा अरु सार्वजनिक गाडीका भन्दा ५ रुपैयाँ कम हुने थापाले जानकारी दिए। ‘यो गाडीको खर्च निकै न्यून छ। त्यसकारण अरुले २० रुपैयाँ लिएको ठाउँमा हामी १५ रुपैयामा यात्रा गराउछौ। विद्यार्थी लाई पनि त्यही अनुसार छुट छ,’ थापाले भने।

त्यसैगरी अशक्त, अपांगलाई निशुल्क यात्रा गराउने उनले जानकारी दिए। यात्रा क्यास लेस बनाउन सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ जारी गर्दै छ जो २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैया व्यालेन्स हुने थापाले जानकारी दिए। त्यस्तै प्रभु पे बाट भाडा तिर्न सकिने र भाडा तिर्न सहजताको लागि अरु तरिका प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी दिए। गाडीमा ७ ओटा सिसि क्यामरा, जिपिएस, ह्याङ्गर लगाएतको विशेषताहरु रहेका छन्।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आईसकेको छ ।

‘काठमाडौंमा चार्जिङ स्टेशनका लागि धेरै जग्गा उपलब्ध हुन सक्दैन, त्यसैले जतिसक्दो छिटो चार्ज हुने र एउटै मेसिनबाट फरक(फरक गाडीमा पनि चार्ज गर्न सकिने प्रविधि चिनियाँ कम्पनीले नेपालकै लागि विकास गर्दैछन्,’ उनले भने, ‘त्यसमा हाम्रा प्राविधिहरुले पनि सघाइरहनुभएको  छ । यस्तो आधुनिक मेसिन ल्याएपछि बीएकेका बसहरु काठमाडौंमा चलाउन अझ बढी प्रभावकारी हुन्छ ।’

सरकार आफैंले उद्घाटन गरेका बिजुली बस थन्किए

गत वर्ष सरकार आफैँले सञ्चालन गर्ने भनेको पाँचवटा विद्युतीय बस हाल थन्किएका छन् । लुम्बिनी क्षेत्र विकास कोषको रकमले किनेर ल्याएका ती बस लुम्बिनी क्षेत्रमै सञ्चालन गर्नुपर्ने माग आएपछि सरकारको उक्त कदम विवादित बन्न पुगेको थियो । निजी प्रयोजनका लागि नेपालमा विभिन्न कम्पनीका विद्युतीय कार र जिप सञ्चालनमा आइसकेका छन् । तर सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन सञ्चालन भएको छैन ।

पुलचोकमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी ओलीले ती ‘बिजुली बस’ उद्घाटन गर्दै, “अब बिजुली बसले अण्डा पार्न सुरु गरेको,” बताएका थिए । तर आन्तरिक समस्याका कारण ती विद्युतीय बस हाल सञ्चालन हुन सकेका छैनन् ।

LEAVE A REPLY