खरदारको जागिर छाडेपछि यसरी उद्योगपति बने निरञ्जन

Sharing is caring!


भनिन्छ तिनै मान्छे सफल हुन्छन् । जस्ले जोखिम मोल्ने हिम्मत गर्दछन् । ३५ बर्ष अगाडि यस्तै हिम्मत नगरेको भए आज जन्मदैनथ्यो त्रिपुरा इन्टरप्राइजेज ।
सरकारी जागिर खान मान्छे बहुत मेहनत गर्दछन् । तर निरञ्जन कुमार श्रेष्ठ यस्ता पात्र हुन् जस्ले खाइरहेको खरिदारको सरकारी जागिर राजीनामा बुझाएर हिडे ।
त्यही आँट र हिम्मतले हो आज उनी आधा दर्जन उद्योगका मालिक । हिजो त्यो हिम्मत नगरेको भए आज उनी रिटायर्ड लाइफ बिताइरहेका हुन्थे । उपसचिव,सह सचिव यस्तै पदबाट अवकाश पाएर । सरकारले दिने मामुली पेन्सन रकमले घिसारिरहेका हुन्थे जिन्दगी ।
हिजोको त्यही साहसले आज उनको पहिचान र परिचय फेरिएको छ । आज उनी झण्डै एक दर्जन उद्योगका लगानीकर्ता । सफल व्यवसायी । साथै सफल नेतृत्वकर्ता बन्न पुगेका छन् ।
आदरणीय पाठक महानुभाव तपाईहरुलाई पक्कै खुल्दुली लाग्यो होला । को हुन त यस्ता सफल व्यवसायी निरञ्जन कुमार श्रेष्ठ ?
पृष्ठभूमि
आजभन्दा ५५ बर्ष अघि पिता प्रेमदास र माता चमेली श्रेष्ठको कोखबाट जन्मिएका हुन उनी । आसाममा जन्मिए,चितवनमा हुर्किए,किशोरवय सिन्धुपाल्चोकमा बिताए र जवानी र बूढेसकाल काठमाडौंमा बिताउदैछन् । यसरी बाल्यकाल डेरा सारिरहनुपर्ने कारण थियो पिताको सरकारी जागिर । शिक्षकको जागिर । कहिले हिमालतिर लखेटिन्थे कहिले पठाइन्थ्यो बेसितिर । यही कारण उनकै पढाई स्थिर रहेन प्रारभ्भिक शिक्षा चितवनबाट । सिन्धुपाल्चोकको लामुसाघुँमा रहेको शारदा मावि बाह्रबिसेबाट ०३७ सालमा एस.एल.सी तह उत्र्तीण गरे ।
खरिदारको जागिर
मनभरी सपना र झोलाभरी भविष्य बोकेर भित्रिए उनी राजधानी । कलेज पढ्दै थिए । त्यही समयमा खुल्यो लोकसेवा । भिडे । नाम निस्कियो खरदार पदमा । यो ०३८ सालको कुरा । पोष्टिङ भयो कोशी अञ्चल । २७ महिना जागिर खाए । त्यहाँबाट उनी दाङ जिल्लातिर हुत्ताइयो । यस अगाडि अगालेका हुन केही समय शिक्षण पेशा पनि । ००८ सालमै स्थापित त्रिपुरा सुन्दरी निमावी । सात महिना । तर रमेन सरकारी जागिरमा दिल ।
उनलाई यस्तो लाग्थ्यो सरकारी जागिर कैदीको जस्तो । त्यही कारण हो उनी यूटर्न भए । छँदा खाँदाको सरकारी जागिरबाट राजीनामा दिएर हिडे ।
समाज,गाउँ ठाउँ यही हो । सरकारी जागिर छाडेर हिडेपछि उनलाई कतिले बहुलायो भने,कतिले पागल भयो भने ।
तर सुनेनन् उनले कसैको आवाज । सुने आफ्नै भित्रि मनको आवाज ।
संसारमा अक्सर सफल मान्छेहरुले बहुला र पागलको उपनाम पाएका छन् ।
उनी आफ्नै मनको आवाजलाई सुनेर होमिए व्यवसायमा ।
उखानै छ,उत्तम व्यापार,मध्यम कृषि निघृणी नोकरी । आजभन्दा २६ बर्ष अगाडि हाल हाले ग्रील व्यबसायमा । त्यो समय ग्रील व्यवसायलाई हेयका दृष्ट्रिले हेरिथ्यो ।
यूटर्न
हो त्यही व्यवसायले आज फेरियो उनको जीवनको नक्सा । फेरियो पहिचान ।
०४६ सालको जनआन्दोलपछि पेशाकर्मी र व्यबसायीहरु संगठित हुँदैथें । आ आफ्नो हक हितको लागि । र, यस्तैमा जन्मियो ग्रिल तथा स्टिल व्यबसायी संघ । त्यो समयमा औंलामा गन्न मिल्ने संख्यामा थिए ग्रील व्यबसायी । आज धेरै फड्को मारेको छ यो व्यवसायले ।
उनी संघ (हाल महासंघ) को संस्थापक सचिव । हाल बरिष्ठ उपाध्यक्ष । यी २६ बर्ष निरन्तर खटिए व्यवसायीहरुको भलाई र हितमा केन्द्रित रहेर । समस्याहरुप्रती सरोकारवालाहरुको ढोका ढकढकाउन तल्लिन रहे निरन्तर । व्यबसायी साथीहरुलाई उनको आग्रह छ एकजुट हुनका लागि । आफ्नो आवाज बुलन्द पार्नका लागि । आफ्नो समस्या सरकारले बुझिदिने होइन,आँफ्नो समस्याको पहिचान आफैले गर्नुपर्दछ । मुख खोल्नुपर्दछ । तब मात्र सुन्छ सरकारले ।
सफल व्यवसायी बन्नका लागि गुणस्तरीयतामा ध्यान दिन सुझाँउछन् साथीहरुलाई । गुणस्तरीय सामान उत्पादन गर्ने, सामानको उचित मुल्य लिने, सरकारी नीति नियम पालन गर्ने । मेहनत,लगावका साथमा थोरै इमान्दारिता मिसाइदिने हो भने सफलता आफैं निहुरिमुन्टी लगाएर आउने यी व्यवसायीको जीवनलाई अध्ययन गर्दा अनुुभुति हुन्छ ।


निरन्जन कुमार श्रेष्ठ
प्रवन्ध निर्देशक,त्रिपुरा इन्टरप्राइजेज प्रा लि




त्रिपुरा सम्म्राज्य
उनको त्यही इमान्दारिता र मेहनतका कारण हो आज त्रिपुरा हार्डवेयरको सम्राज्य विस्तार भएर सुकेधारा,लोकन्थली भक्तपुर,नारायणटार,जोरपाटी,नैकाप,गोकर्ण हुँदै खाँडिचौर,सिन्धुपाल्चोक,सिलढुंगा, सिन्धुपाल्चोकसम्म फैलिएको छ ।
हाल उनी त्रिपरुा हार्डवेयर प्रा.लि,त्रिपुरा इन्टरप्राइजेज,त्रिपुरा मेगा इन्टरप्राइजेज,त्रिपुरा मेघा हार्डवेयर,त्रिपुरा हार्डवेयर एण्ड सप्लायर्स,महाजन इण्डष्ट्रिजसम्म विस्तार भएको छ ।यस्का अलवा उनी केही सहकारीका लगानीकर्ता समेत हुन् । यी सबै संस्थामा गरी प्रत्यक्ष वा अप्रत्यक्ष ३ सयभन्दा बढीले रोजगारी पाएका छन् ।
मनकारी निरञ्जन
उनी नाफा कमाउदैनन् मात्र कमाएको नाफा सामाजिक कर्ममा पनि मन खोलेर खर्च गर्दछन् । त्यही कारण तौथली समाज सेवा समिति स्थापना गरेका छन् । यो संस्था आजभन्दा २७ बर्ष अगाडि नै खोलिएको । दखित पीडितहरुको घाउमा मल्हम लगाउने हेतुले खोलिएको संस्था हो यो जस्का अध्यक्ष उनी आफैं । संस्थाले बाटोघाटो,विद्यालय लगायतका गाउँमा आवश्यक सेवा सुविधाहरु दिलाउदै आएको छ । यो सामाजिक संस्थालाई दौडाउने काम उनकै भाईहरुको माइला भाई नविन र कान्छो भाई अनिल कुमारको योगदान बिर्सनु हुँदैन ।
जस्ले देखाए उनलाई यो धर्ती । प्रात स्मरणीय बुवा आमा । जो अहिले हुनुहुन्छ यो संसारमा । उहाँहरुकै स्मरणमा (बुबा प्रेमदास श्रेष्ठ र माता चमेली श्रेष्ठको नाममा जन्मियो सि पि फाउन्डेसन)
उनले संस्था खोलेका छन् सिपी फाउन्डेसन । ६२ सालमै दर्ता भएको यो संस्थाले अहिले विभिन्न समुदायका २२ जना बच्चाहरुलाई बार्षिक छात्रावृती दिएर अध्ययनक लागि आर्थिक एंव शैक्षिक सहयोग गर्दै आएको छ । ती विद्यार्थीलाई आवश्यक कपी,कलम,पोशाक सहित दैनिक २० रुपैया खाजा खर्च समेत संस्थाले दिँदै आएको उनले सुनाए । एस.एल.सीसम्म वार्षिक २२ जनालाई यसरी छात्रावृत्ति प्रदान गरी तिनका शिक्षा दिक्षामा सहयात्री बन्ने संस्थाको उदेश्य हो । यसरी अध्ययन गरेका गरीब र जेहन्दार छात्र तथा छात्राहरुका लागि संस्थाले रोजगारीको समेत व्यवस्था गर्दै आइरहेको छ । शिक्षा र स्वास्थको क्षेत्रमा सामाजिक कर्म गर्दै आइरहेको सि.पि फाउन्डेसन ०७२ सालको प्रलयकारी महाभुकम्पमा खाद्यान्न, लत्ताकपडा लगायतका राहतका सामाग्रीहरु लिएर बस्ति बस्तिमा पुगेको थियो । यस्का लागि तिन जनाको विशेष पहलमा लाखौको राहात सामाग्री वितरण गरेको थियो । अहिले पनि संस्थाले समय समयमा शिविर सञ्चालन गर्दै आएको छ । गाँउगाँउमा । हालैमात्र तौथलीको दुईवटा गाँउमा महिलाको पाठेघर क्यान्सर सम्बन्धि शिविर चलायो । जस्का लागि काठमाडौंबाट डाक्टरको टोली लिएर त्यता पुग्यो । संस्थाले मानिसका लागि मात्र नभएर पशुहरुका लागि समेत जाँचको लागी काम गर्दै आएको छ । अहिले देखिन्छ समाजसेवाका नाममा चन्दा आतंक । विदेशमा श्रम पसिना बगाएकाहरुसँग रकम उठाएर आफूलाई महान समाजसेवी भन्नेहरु नभएका होइनन् हामीकहाँ तर न त उनी समाजसेवाका लागि कसैसँग चन्दा माग्छन् । उनका तीन दाजुभाई जति कमाउँछन् त्यसको दश प्रतिशत रकम सामाजिक कर्मका लागि छुट्याउन । र बाबा आमाको चल सम्पतिको व्याजलेनै सि.पि फाउन्डेसन चलिरहेको छ । त्यही आर्जित रकम थप्छन् र आफू मात्र होइन अरुका मुहारमा खुसी भर्न भरमग्दुर प्रयास गर्दछन् ।
अन्त्यमा
एक दिन जानु नै छ छाडेर यो धर्ती । थाहा छैन कस्को मृत्युको एम्बुस कहाँ बिच्छाइएको छ । र कुन दिन पड्कन्छ मृत्युरुपी एम्बुस । कुन दिन समाप्त हुन्छ एहलिला । आखिर मान्छेले छोडेर जाने र रोप्ने भनेकै असल कर्म हो । जस्लाई सम्झनेछन् दुनिँयाले यूग यूगसम्म ।
श्रेष्ठ परिवारको मनकारी यो योजनालाई हाम्रो स्यालुट ।
प्रस्तुति :-अञ्जना सुबेदी

Sharing is caring!

LEAVE A REPLY