यस्तो छ लोकसेवा आयोगको बार्षिक कार्यतालिका,कुन तहको विज्ञापन कहिले खुल्छ ?(सूचनासहित)

Sharing is caring!

लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आर्थिक वर्ष २०७६–०७७ मा निजामती सेवा, सुरक्षा निकाय र सरकारी स्वामित्वका संगठित संस्थाहरुमा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले निजामती सेवातर्फ खरिदारदेखि सचिवसम्म, सुरक्षा निकाय र सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व भएका संगठित संस्थामा पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले प्रकाशन गरेको कार्यतालिकाअनुसार राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्राविधिक र अप्राविधिकको भदौ–असोजमा प्रतिशत निर्धारण, असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस–माघमा परीक्षा सञ्चालन र वैशाखसम्ममा अन्तरवार्ता र सिफारिस गरिने उल्लेख छ ।यस्तै राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) को हकमा पनि भदौ–असोजमा प्रतिशत निर्धारण गरी असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन हुने र पुस–माघमा परीक्षा सञ्चालन गरी चैत वैशाखसम्म अन्तरवार्ता र सिफारिस गरिने उल्लेख छ ।

राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) प्राविधिकतर्फ कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन, माघ–फागुनमा लिखित परीक्षा सञ्चालन गर्ने र अन्तरवार्तापछि जेठ–असारसम्म नियुक्तिका लागि सिफारिस गर्ने कार्यतालिका छ ।यस्तै अप्राविधिकतर्फ माघमा पहिलो चरण र फागुनमा दोस्रो चरणको परीक्षा सञ्चालन गरी साउन–भदौसम्म लिखित अन्तरवार्ता र उम्मेद्वार छनोट गर्ने कार्यक्रम छ । स्वास्थ्य सेवाको एघारौं र नवौं तहमा असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस–माघमा लिखित परीक्षा, चैत–वैशाखसम्ममा अन्तरवार्ता र नियुक्तिका लागि सिफारिस हुने तालिकामा उल्लेख छ ।

स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहका पदहरुमा भने कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन भएपछि माघ–फागुनमा लिखित परीक्षा सञ्चालन गरेर जेठ–असारसम्ममा अन्तरवार्ता र नियुक्तिका लागि सिफारिस हुने तालिका छ ।

नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी)तर्फ अप्राविधिकको पुस अन्तिम बुधबार विज्ञापन हुने र प्राविधिकको माघ अन्तिम बुधबार विज्ञापन हुनेछ । यस्तै लिखित परीक्षा वैशाखमा र भदौसम्ममा अन्तर्वार्तापछि नियुक्तिका लागि सिफारिस हुनेछ ।

स्वास्थ्य सेवा पाँचौं तहका पदहरुमा माघ अन्तिम बुधबार विज्ञापन, वैशाखमा परीक्षा सञ्चालन र साउन–भदौसम्ममा अन्तर्वार्तापछि उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस हुनेछ । राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) प्राविधिकतर्फ चैत अन्तिम बुधबार र अप्राविधिकतर्फ फागुन अन्तिम बुधबार विज्ञापन हुने उल्लेख छ ।

त्यसैगरी स्वास्थ्य सेवाका चौंथो तहका पदमा चैत अन्तिम बुधबार विज्ञापन हुनेछ । अप्राविधिकको पहिलो चरणको वैशाख र दोस्रो चरणको असारमा परीक्षा हुनेछ । प्राविधिक र स्वास्थ्य सेवाका पदमा जेठमा लिखित परीक्ष, साउनसम्ममा अन्तर्वार्ता र उम्मेद्वार सिफारिस गर्ने आयोगको कार्यक्रम छ ।त्यस्तै सरकार मातहतका संगठित संस्थाहरुको हकमा कात्तिकदेखि फागुनसम्म विभिन्न संस्थाको विज्ञापन प्रकाशन र असारसम्ममा उम्मेदवार सिफारिस गर्ने आयोगको कार्यक्रम छ ।

Sharing is caring!

LEAVE A REPLY